सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा कोरोना विरुद्धको लडाईमा होमिएका ६३ स्वास्थ्यकर्मी

२०७६ चैत्र २४, ०४:२३ जनक विष्ट

राष्ट्र संघले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठुलो चुनौतीको संज्ञा दिईसकेको छ। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरेका समाचार हामी सबैले पढिसकेका छौँ।

सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्व युद्धलाई फर्केर हेर्दा, लगभग ६ करोड मानिसको ज्यान गयो जसलाई मानव इतिहासको सबभन्दा घातक युद्धका रुपमा चित्रण गरिएको छ। ६ वर्ष सम्म चलेको युद्धमा लगभग ७० देशका जल–थल–वायु सेनाहरु सम्मलित भएको इतिहास छ। नेपाल प्रत्यक्ष सामेल नभएको भनिएको उक्त युद्धमा आफ्ना नागरिक बेलायत पठाएर अप्रत्यक्ष रुपमा सामेल भएको बताईदै आएको छ।

यद्यपी दोस्रो विश्व युद्धमा नेपाली हताहाती भएको तथ्य स्पष्ट रुपमा अहिले सम्म सार्वजनिक भएको छैन्। तर त्यो भन्दा ठुलो चुनौती भनिएको विश्व व्यापी स्वास्थ्य महामारीका रुपमा देखिएको कोरोना भाईरससँगको लडाईमा नचाहेर पनि नेपाल सामेल हुनुपरेको छ। विश्वका दुई सय ८ मुलुकमा फैलिएको कोरोनाले अहिले सम्म साढे ६९ हजारको ज्यान लिईसकेको छ भने १२ लाख ७६ हजार मानिस कोरोनासँग लडिरहेका छन्।

नेपालमा कोरोनाका ९ जना संक्रमित भेटिदा सुदूरपश्चिमले ओगटेको हिस्सा झण्डै आधा छ। अहिले सम्म कैलाली र कञ्चनपुरका चार जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ। उनीहरु उपचाररत छन्। उसै पनि स्वास्थ्य सेवाको  पहुँचमा निकै पछी परेको सुदूरपश्चिम विश्वका शक्ति राष्ट्रहरुलाई चुनौती दिईरहेको कोरोनासँगको लडाईमा सफल होला ? समयले यसको जवाफ दिदै जानेछ। कोरोनाले यतिबेला उपचार गर्ने अस्पतालहरुलाई युद्ध स्थलमा परिणत गरिदिएको छ।

लाग्छ अस्पताल साच्चै युद्ध स्थल नै हुन्। जहाँ कोरोनासँगको प्रत्यक्ष लडाईमा खटिएका सैनिक हुन्, चिकित्सक र अन्य स्वास्थ्यकर्मी। दैनिक हजारौँ उपचारका लागि आईपुग्ने बिरामी धनगढी नीजि अस्पतालमा अचेल भेटिन छाडेका छन्। लाग्छ की कोरोनाकै त्रासले घरमै रोग दबाएर बसेका छन् होलान् उनीहरु। २८ लाख सुदूरपश्चिमेलीहरुको उपचारको केन्द्र सेती अस्पतालको अवस्था पनि उस्तै।

वषौँदेखि विशेषज्ञ सेवाको पर्खाइमा रहेको सेतीलाई कोरोना विशेष अस्पताल तोकिएकै कारण हुनसक्छ, मानिसहरुमा त्रास बढेको। विशेषज्ञ सेवा विस्तार नभएपनि कोरोनाले छोटो समयमै अस्पतालको मुहार फेरिदिएको छ। कोरोना भाईरस विरुद्धको लडाईमा सेती अस्पातल अहिले अस्पताल मात्र हैन युद्ध स्थलमा परिणत भएको छ भन्दा फरक नपर्ला।

त्यही युद्ध स्थलमा कोरोनालाई परास्त गर्न दिनरात खटिएका छन्, हतियार बिनाका सेतो बस्त्रधारी सेनाहरु। सेतो बस्त्रधारी सेना, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी ज्यानको प्रवाहै नगरी काममा अहोरात्र खटिएका छन्। उनीहरुलाई यसअघि अस्पतालमा उपचारका लागि दैनिक पुग्ने सयौँ बिरामीको अवस्था के होला भन्ने पिर पनि अर्कोतीर छ।

मनभरी घर परिवारको सम्झना पनि नभएको कहाँ हो र ? ‘कोरोना पोजेटिभ बिरामीहरु अस्पतालमा राखिसकेपछि दीर्घ रोग लागेका बिरामीहरु डराएर आउन पाउनुभएको छैन्। कति दुःख पाउनुभएको छ त्यो छुट्टै कुरा भयो।’ कोरोना विरुद्धको लडाईको अग्र मोर्चामा रहेका अस्पतालका फिजिसियन डाक्टर शेबहादुर कमर भन्छन्, ‘अहिले अस्पतालमा कार्यरत तीन जना फिजिसियनले रुटिन बनाई कोरोनाका बिरामीहरुको सक्दो उपचार गरिरहेका छौँ।’

डाक्टर कमरका परिवारका अन्य सदस्य काठमाडौँमा बस्दै आएका छन्। यस्तो बेला श्रीमती र छोराछोरीको सम्झना पनि नआउने कहाँ हो र। कमरले घर परिवारका सदस्यलाई सम्झीदै भने, ‘घरबाट म टाढा छु, अरु पनि धेरैजसो डाक्टर सापहरु टाढै हुनुहुन्छ। घरपरिवारको धेरै सम्झना आउने, तत्काल चाहेर पनि घर जान नमिल्ने, त्यो समस्या छदैछ तर बेला–बेला टेलिफोनबाटै कुरा गर्छु।’  

विश्व समुदाय नै कोरोना भाईरसको महामारीसँग लडिरहेका बेला २८ लाख सुदूरपश्चिमबासीको भरोसा सेती प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि छ।  प्रदेशबासीको आशालाई केन्द्रमा राखेर कोरोनासँग लड्ने पर्याप्त हतियार नभएपनि लडाई जारी राखेका छन्। कोरोना विरुद्धको लडाईको अग्र मोर्चामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीकै सुरक्षार्थ चाहिने स्वास्थ्य समाग्रीको पर्याप्तता अहिले पनि छैन्। तरपनि उनीहरु अहोरात्र काममा खटिएका छन्।

६३ जना चिकित्सक, स्वास्थ्यकर्मी, ल्याबतर्फका चिकित्सक, असिन्टेन्ट तथा सहयोगी स्वास्थ्यकर्मी गरी कोरोना परास्त गर्न सेती प्रादेशिक अस्पतालमा खटिएका सेतो बस्त्रधारी सेनाहरुको कमाण्ड डाक्टर जगदिशप्रसाद जोशीले सम्हालेका छन्। उनी  अस्पतालको ईमरजेन्सी विभाग प्रमुख पनि हुन्।

व्यक्तिगत सुरक्षाका समाग्री पीपीई, एन–९५ मास्क लगायतका समाग्रीको अभावका बिच पनि महामारीसँग जुधिरहेका उनीहरु त्यति बेला खिन्न हुन्छन्, जब सरकारी पक्षबाटै मनोबल गिराउने खालका गतिविधी हुन्छन्। ‘हामीसँग यथेष्ट मात्रामा व्यक्तिगत सुरक्षाका समाग्री अहिले पनि नभएको अवस्था हो।’ डाक्टर जोशीले भने, ‘विभिन्न माध्यमहरुबाट प्राप्त गरिरहेकाले पहिलेको भन्दा केही सहज भएपनि पर्याप्त भने होईन् तरपनि अपुग नै रहेको अवस्था हो। हामीले जोखिम मोलेर पनि काम गर्नुपरेको छ। त्यसमा पनि सरकारी र विभिन्न अन्य पक्षबाट स्वास्थ्यकर्मीहरुले काम नगरेको अथवा नगर्नेलाई कारवाही गर्ने, लाईसेन्स खारेज गर्ने, भन्ने जस्ता मनोबल गिराउने कामहरु भएको छ।’

यस्तो परस्थितीमा पनि सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको प्रती उनीहरु चिन्तीत देखिन्छन्। पर्याप्त बिना औषधी र पर्याप्त स्वास्थ्य समाग्री अभावका बिच पनि कोरोना भाईरस विरुद्धको लडाईमा रहेका छन्। उनीहरुले यस्तो बेला मनोबल गिराउने खाल गतिविधी नहोस् भन्ने चाहान्छन्। सरकारसँग मनोबल बढाउने खालका कार्यक्रमहरु ल्याउन पनि माग गरिएको छ।

 ‘सरकारी पक्षबाट स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यक्रम आउँन भन्ने हामी चाहान्छौँ।’ डाक्टर जोशीले भन्छन्, ‘जस्तै जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीको भत्ता बढाउने, कुनै जोखिममा पर्यो भने परिवारको बिमा गरिदिने, कुनै सहुलियत दिने खालका कार्यक्रम ल्याएर काम गरायो भने प्रभावकारी हुन्थ्यो। त्यसो भए, जोखिममा  काम गर्न नचाहनेहरुलाई पनि समेटन सहज हुन्छ।’

गजबको कुरा त के छ भने राज्य स्तरबाटै मनोबल गिराउने खालका गतिविधी भईरहेको गुनासो गरिरहेका बेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले परिवार, आफन्तजन, शुभेच्छुक र समुदायका अन्य नागरिकबाट समेत हौसला पाएको अनुभुती गरेका छन्। डाक्टर जोशीलाई पनि यो विपत्तीको समयमा हौसला दिने, आफ्नो बारे चिन्ता लिनेहरु, व्यक्तिगत सल्लाह दिनेहरु धेरै छन्।

डाक्टरहरु, स्वास्थ्यकर्मीहरु जोसुकै भएपनि सबैभन्दा पहिले हामी एउटा नागरिक हो। परिवारको सदस्य हो। ‘कोही कसैको छोरा होलान्, कसैको घरमा श्रीमती छोराछोरी, आमाबुबा, दाजुभाई,  होलान् उहाँहरुले त्यही हिसाबले हेरिरहनुभएको हुन्छ।’ डाक्टर जोशीले भने, ‘उहाँहरु डराईरहनु पनि भएको छ। साथीभाई, कलास म्याटहरु, जुनियर पनि बेला बेला सम्पर्क गर्छन्, उहाँहरुको प्रतिक्रिया बचेर काम गर भन्ने नै छ। यस्तो अवस्थामा विदा लेउ पनि भन्छन्। कतिपयबाट काममा सहयोग पुग्ने कुराहरु, सुझाव पनि आएका छन्।’

परिवारका सदस्यले पनि मिश्रित खालका प्रतिक्रिया दिने गरेको उनी बताउँछन्। ‘मेरो पहिलो डिउटी भनेको सर्भिस हो।’ जोशीले भने, ‘विपदको बेलामा हामी सबै स्वास्थ्यकर्मीहरुले साथ दिनुपर्छ तर हाम्रो व्यक्तिगत सुरक्षा सबैभन्दा ठुलो कुरा हो। त्यसका लागि स्वास्थ्य सुरक्षाका समाग्री यथेष्ट मात्रामा हुनुपर्यो।’

प्रदेश सरकारले सेतीलाई कोरोना विशेष अस्पताल घोषणा गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मी, प्रयोगशाला विज्ञ तथा प्राविधिक, नर्सिङ कर्मचारी, सहयोगी लगायत गरी ६३ जनाको समूह कोरोना विरुद्धको लडाईमा होमिएका छन्। ईमरजेन्सी विभाग प्रमुख डाक्टर जोशीले नेतृत्व गरिरहेको उक्त समूहमा फिजिसियन उनी सहित चिकित्सकद्धय शेरबहादुर कमर, निराजनदत्त शर्मा लगायतका १० चिकित्सक छन्।

प्रयोगशालातर्फ डाक्टर श्रवण कुमार मिश्र लगायतका ४ जनाको समूहले छुट्टाछुट्टै तालिका अनुसार काम गरिरहेका छन्। नर्सिङ ईन्चार्ज सीमा शर्मा सहितका ३१ जना नर्सिङ स्टाफ, पारामेडिक्सतर्फ गौरीदत्त जोशी सहितका ८ जना  र १० जना सहयोगी कर्मचारी समेत गरी ६३ जनाको समूह कोरोना विरुद्धको लडाईमा निरन्तर खटिएको छ।

यो सेती प्रादेशिक अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीको समूह भएपनि प्रदेशका अन्य अस्पतालहरुमा पनि यसैगरी सयौँ स्वास्थ्यकर्मी निरन्तर महामारीसँग जुधिरहेका छन्। पर्याप्त हतियार बिना पनि कोरोना युद्ध लडिरहेका यी स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा र आवश्यक उपकरण भए मात्र केही हद सम्म लडाई सफल होला भन्ने आशा राख्न सकिन्छ।

होईन भने स्वास्थ्य सेवाको दृष्टिकोणले अन्य प्रदेशको तुलनामा पुछारमा रहेको सुदूरपश्चिमको अवस्था के हुन्छ त्यो कल्पना सम्म गर्न सकिदैन्। तरपनि यसरी घर परिवार, आफन्त, साथीभाई नै नभनीकन  कोरोना विरुद्धको लडाईमा खटिएका  चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हाम्रो पनि उच्च सम्मान छ।  

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस