वनविनाश र वन्यजन्तुको शिकारले कोरोना भाइरस जस्ता महामारी
परासर थापा
वनजंगल हाम्रो जीवनको आधार हो। वनजंगलले हामीलाई विभिन्न किसिमका पर्यावरणीय सेवा दिन्छ। वनले जैविक विविधताको संरक्षण गरेको हुन्छ। यस लेजमिनमा पाइने करिब ८० प्रतिशत जीवजन्तुलाई आश्रय दिएको हुन्छ। वनले प्रदूषण नियन्त्रण गर्न र पर्यावरण स्वच्छ राख्न मद्दत गरेको हुन्छ।
यसले पानीका मुहान संरक्षण मात्रै होइन हामीलाई जडिबुटी, काठ दाउरा, घाँसपात लगायत थुप्रै आवश्यक सेवा र वस्तुहरु उत्पादन गर्छ। कृषिको आधार पनिवनजंगल नै हो। जलवायु सन्तुलन राख्न र वर्षाका लागि पनि वनजंगल उत्तिकै आवश्यक छ। यसका अलावा धार्मिक, सांस्कृतिक, आध्यात्मिक र मनोरञ्जनका हिसाबले पनि वनजंगल एकदमै महत्वपूर्ण छ।
आज विश्वमा करिब ३० प्रतिशतको हाराहारीमा वन क्षेत्र रहेको छ। वनमा लगभग एक अर्ब मानिस प्रत्यक्ष रुपमा खाना, बास, ऊर्जा र आम्दानीका लागि निर्भर छन्। दुःखको कुरा के छ भने यही वनजंगल मान्छेले आफ्नो स्वार्थ पूर्तिका लागि बिना सोचीसम्झी फँडानी गरिरहेका छन्।
वार्षिक १ करोड ३० लाख हेक्टरका दरले वन विनाश भइरहेको छ। वातावरणविद् र वैज्ञानिकहरुले विश्वको वातावरण सन्तुलन गर्न कम्तीमा ३० प्रतिशत वन क्षेत्र राख्नुपर्छ भनेका छन् तर विनाशको दर हेर्दा स्थिति भयावह छ।
वन विनाशले एकातिर वातावरण असन्तुलन त गर्छ नै अर्कोतिर विभिन्न जीवजन्तुको वासस्थान पनि नष्ट गर्छ। वनमा रहेका जीवाणु वन पैदावारका माध्यमबाट गाउँ शहरसम्म आइपुग्छन्। वन विनाशका कारणले जलवायु परिवर्तन हुन्छ। जलवायु परिवर्तनले हिमनदीहरु र बर्फिलो सतह पग्लँदा त्यहाँ दबिएर निष्क्रिय भएर बसेका भाइरसहरु वायुमण्डलमा फर्कन्छन् भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाएका छन्।
चाहे एचआईभी होस् वा इबोला, जिका, सार्स, मर्स, बर्डफ्लु, स्वाइनफ्लु होस् वा अहिलेको कोरोना (कोभिड–१९)। यी सबैको स्रोत वन्यजन्तु नै हुन्। वन फँडानी गर्दा वन पैदावारसँगै यस्ता भाइरसहरु मानव सम्पर्कमा आउँछन्। त्यस्तै वन विनाशका कारणले यीनीहरुको वासस्थान खल्बलिन्छ र चमेरा, बाँदर लगायतका जनावरहरु मानवबस्ती र खेतबारीसम्म आइपुग्छन्। अनि घरपालु वा पशुपंक्षी र मान्छेमा यसका भाइरस सर्ने गरेको उदाहरणहरु छन्।
त्यसैगरी वन्यजन्तुको शिकार गर्ने, व्यापार गर्ने, वन्यजन्तु जिउँदै वा काँचै र लापरबाही तरिकाले खानाले वनजंगल र वन्यजन्तुमा रहेका भाइरसहरु मानिसमा सर्ने गर्छन्। यसरी मानव बस्तीसम्म आइपुगेको भाइरसलाई बढ्दो जनसंख्या र शहरीकरण, मान्छेको घुमफिर, विश्वव्यापीकरण यातायात र ढुवानीका कारण विश्वभरि फैलन पुग्छ।
कोरोनापनि चमेरोबाट मान्छेमा सरेको अनुमान गरिएको छ। यसले वातावरणमा कीराको प्रकोपलाई नियन्त्रण गर्न सहयोग गरेको हुन्छ। यस अर्थमा चमेरो प्रकृतिको साथी पनि हो। तर जब मान्छेको लोभ र स्वार्थले चमेरोको बासस्थान नष्टगर्ने वा यसलाई नै शिकार गर्ने गर्छन् तबमात्र यो हाम्रा लागि खतरा बन्न पुग्छ। यसकारण वनविनाश र वन्यजन्तुको शिकार गर्नु आफ्नै खुट्टामा आफैँ बञ्चरो हान्नु सरह हो।
मानव प्रजातिलाई बचाउने हो भने वनविनाश र वन्यजन्तुको शिकार रोक्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु पुनरावलोकन गर्नुपर्छ। हालसम्म भएका राम्रा सन्धि सम्झौताहरु कार्यान्वयन गर्नुपर्छ। सबै देशले यस सम्बन्धी निति नियमहरु बनाउने र कडाइका साथ लागू गर्नुपर्छ। जलवायु परिवर्तन रोक्न यथाशीघ्र पहल गर्न पनि जरुरी छ। साथै मानिसले आफैंपनि जिम्मेवार बनेर आफ्नो जीवनशैली र व्यवहार परिवर्तन गर्न अत्यन्त जरुरी भइसकेको छ।
वनविनाश रोक्न कृषि वन तथा पारिवारिक निजी वन उपयुक्त
नियन्त्रणमूखी नीति नियमका अलावा वनविनाश रोक्नका लागि कृषि वन र पारिवारिक तथा निजी वनको विकास गर्न पनि आवश्यक रहेको छ। निजी जग्गामा रुखबिरुवा लगाउनाले प्राकृतिक वनमा चाप कम पर्न जान्छ, वन पैदावारको सहज आपूर्ति बढ्छ अनि वातावरण पनि जोगिन्छ।
तर नेपालको सन्दर्भमा निजी जग्गामा वन हुर्काउन राज्यको निति नियम त्यति सहज छैन। निजी जग्गामा रुखबिरुवा सरकारी तर्फबाट लगाउन आर्थिक, प्राविधिक, बोटबिरुवा र नर्सरीको सहयोग उपलब्धता त परै जाओस् आफैँले हुर्काएका रुख विरुवा काट्न, उपभोग गर्न र बेचबिखन गर्न समेत सास्ती छ। लामो र झन्झटिलो प्रक्रिया पार गनुपर्ने हुन्छ।
त्यसकारण पारिवारिक तथा निजी वन आवश्यक मात्रामा विकास हुनसकेको छैन। राज्यले पारिवारिक निजी वनमैत्री कानून निर्माण गरेर निजी जग्गामा हुर्काइएका कृषि वन उत्पादनको निर्वाध रुपमा उपभोग र बिक्री वितरण गर्न पाउनुपर्ने व्यवस्था गरिदिए पारिवारिक निजी वनबाटै देशलाई आवश्यक काठ उत्पादन गर्ने र विदेश पनि निर्यात गर्न सकिने दावी गर्छन पारिवारिक निजीवन संघ, नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरी।
पारिवारिक निजीवन विकासले प्राकृतिक वन तथा जैविक विविधता संरक्षणमा उल्लेख्य भूमिका खेल्ने वन विज्ञ श्याम भण्डारीको भनाइ छ। उनी भन्छन, ‘वनविनाश र वन्यजन्तुको व्यापार रोकिने हो भने जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग पुग्ने र भाइरस महामारीबाट पनिबच्न सकिन्छ।’
तसर्थ हामीले वनविनाश र वन्यजन्तुको व्यापार त रोक्नुपर्छ नै साथै प्रोत्साहनमूखी निति तथा कार्यक्रम पनि प्रबद्र्धन गर्न आवश्यक छ।
(लेखक थापा वन वातावरण क्षेत्रमा कार्यरत अभियानकर्मी हुन)