गाउँघरको कोराना भ्रम र हटाउने तरिका
गाउँघरतिर कोरोना भाइरसले होइन। कोरोना भाइसरको अपवाहले त्रास अनि आतंक नै फैलाएको छ। कहिले कोरोना आउन नदिन आकासबाट बिषादी छर्किदै छ भन्ने भ्रमपूर्ण हल्ला। कहिले आँगन, दैलो खन्दा कोइला निस्कन्छ, त्यस कोइलाको टीका लगाएपछि कोरोना आउदैन भन्ने गलत प्रचार। दैनिक जसो कोरोना यसरी आउदैन, कोरोना त्यसरी आउदैन भन्ने प्रमाणहिन र तथ्यहिन झुटहरुका हल्लाहरु। हल्लैहल्लाले सर्वसाधारणहरु के होला, कसो होला भन्ने चिन्ताले दोधारमा परेका छन्। दैनिकी उकुसमुकुस बनिरहेको छ। कोरोना नआओस् भनेर देवी देवताहरुलाई राङ्गा, बोका समेत भाकल गरिरहेका छन्। संकटपूर्ण भबिष्यको अनुमान गर्न थालेका छन्। सर्वसाधारणहरु। यतिसम्मकी ‘निको निको खाइहाल कोर्ना आछ। आज हो कि भोलि?’ भन्ने कथन समेत जनजिब्रोबाट अभिब्यक्त हुन थालेका छन्।
परिचितसँग ठट्टा गर्दा अभिब्यक्त हुने यस्ता खालका अभिब्यक्तिहरु वास्तविक जनजीवनसँग जोडिदा गाउँसमाजमा कोरोना भाइरसप्रति कति आतंक फैलाइएको छ भन्ने कुरा प्रष्ट हुन्छ। तथापी यस उक्तिले कोरोना भाइरसप्रति सर्वसाधारणको दृष्टीकोण तथा धारणा झल्काउछ। कोरोना सजिलै आउछ। सबैलाई लाग्छ। सबैको मृत्यु हुन्छ भन्ने गलत धारणा कतिपय जनमानसमा बसेको छ। अर्को भ्रम भारतबाट आउने परदेशीहरुसँग जोडेर फैलाइएको छ। ‘इन्डियाबाट लाहुरे कोर्ना ल्याएर आछन् रे। पुलिसले पक्रेर थुन्याछन् रे। घर आएर कोर्ना फैलाउछन् रे’ आदि इत्यादि। यी र यस्तै गलत तमाम भ्रमहरुको बीउ गाउँघरमा छरिएको छ। कतिपयले अझै पनि कोरोना के हो? यो कसरी सर्छ? यसका लक्षणहरु के हुन्? बुझ्न सकेका छैनन्।
सर्वसाधारणहरु आफूले सुनेका छिटपुट तथा अपुरा सुचनाहरुबाट कोरोना भाइरस सम्बन्धि आफूमा गलत धारणाहरु निर्माण गरिरहेका छन्। रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा आम संचारका साधनहरुमा अझै पनि कतिपय सर्वसाधारणको पहुँच छैन। जसले गर्दा ग्रामिण समाजका सर्वसाधारणहरु कोरोना भाइरसको भ्रममा परी चिन्तित छन्। यस स्वास्थ्य संकटको घडिमा नोवेल कोरोना भाइरस सम्बन्धि फैलाइएका यस्ता गलत भ्रमहरु चिर्नुपर्ने देखिन्छ। यस रोगप्रतिको धारणा वा दृष्टिकोणमा परिवर्तन ल्याउन सचेतना फैलाउनु आबश्यक छ।
यस रोगबाट आफू कसरी बच्ने र समाजलाई कसरी बचाउने वा सजग गराउने भन्ने विषयमा सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु पनि जुटिरहेका छन्। सक्दो राहत वितरण कार्य गरिरहेका छन्। चिकित्सक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनीधि जनताको सेवामा रातदिन जुटिरहेका छन्। तर उहाँहरुको जुटाइले मात्र यत्रो समाज सजग गर्न कठिन मात्र हैन असम्भव छ। तसर्थ हरेक ब्यक्तिहरुले थोरै भएपनि आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी छ। समाजका सबै तह र तप्का मिलेर कोरोनाको यथार्थ स्थिति, सर्ने तरिका, देखिने लक्षण, बच्ने उपाय तथा रोग बारे फैलिएका गलत भ्रमहरु चिर्दै सचेत गराउनु पर्नेबेला आएको छ।
हाम्रो गाउँघरमा फैलिएको नोवेल कोरोनाको भ्रम चिर्न निम्न पक्षहरुमा जोड दिदै सचेतना फैलाउन जरुरी छ।
१) नोवेल कोरोना भाइरस विश्वमा तिब्रगतिमा फैलिरहेको महामारी हो। २०७६ चैत १४ गते साँझसम्म विश्वका १९९ राष्ट्रहरु यस रोगबाट ग्रसित भएका छन्। यस अबधिसम्म विश्वमा झण्डै ५ लाख ५० हजार भन्दा बढि सक्रमित भएका छन्। झण्डै २४ हजार ८७१ जनाको मृत्यु भएको छ। तर विश्वमा सक्रमित मध्ये १ लाख २३ हजार भन्दा बढि रोग निको भएर घर फर्किसकेका छन्। ३ लाख ४७ हजार भन्दा बढिको उपचार भइरहेको छ। हाम्रो देशमा मात्र ४ जना सक्रमित भएका थिए। जस मध्ये १ जनलाई निको भएर घर फर्किसकेका छन्।
३ जनाको उपचार हुँदै गरेको र स्वास्थ्यमा सुधार आइरहेको समाचार आएको छ। यसबाट आति हाल्नु पर्ने अबस्था छैन। यो रोग उपचार पछि निको पनि हुन्छ। प्रचार प्रसार गरिए जस्तो भयानक छैन। यो रोगबाट ६० वर्ष नाघेका दीर्घ रोगवालाहरुको मृत्युदर लगभग ६ प्रतिशत र २० वर्ष भन्दा कम उमेरका ब्यक्तिहरुको मृत्युदर लगभग ०.२ प्रतिशत रहेको तथ्य सार्वजनिक गरिएको छ। विश्वमा कुनै बेला बिफर र दादुराको प्रकोप आएको थियो। त्यस प्रकोपबाट विश्वमा अधिक मानिस मरेका थिए। नेपालमा पनि बिफर र दादुराको प्रकोप आएको थियो।
तर नेपालमा सिमित मानिस मात्र मरेका थिए। चीन र भारतमा पनि प्लेग रोगको महामारी आएको थियो तर नेपालमा त्यस रोगले मानिस मरेका थिएनन्। यसको कारण नेपालीहरुको बसोबास प्रणाली र खानपान शैलीलाई मान्न सकिन्छ न कि देशको आर्थिक सम्पन्नता। यो कुरा आज विश्वको उत्कृष्ट अर्थ ब्याबस्था रहेको अमेरिकाको कोरोना माहामारीबाट प्रष्ट भएको छ। चैत १४ गतेसम्म अमेरिकामा यस रोगबाट सक्रमितको संख्या ८५ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या १ हजार २९५ जना छन्।
तर त्यहाँको मानिस जोगाउने स्वास्थ्य ब्यबस्था किन असफल? सुनिन्छ अमेरिकामा भेन्टिलेटर छैन। कारण त्यो भेन्टिलेटर सबै उद्योगीले बाह्य देशलाई बेचिसकेका रहेछन्। जसका सामान बिदेश जान्छन्, देशलाई काम लाग्दैनन्। यिनै देशप्रती गैरजिम्मेवार उधोगीसङ्ग देशको अर्थतन्त्र छ।
त्यो अर्थतन्त्रको पुँजी अमेरिका जस्तो देशका गरिबलाई पनि काम नलाग्ने रहेछ। यसबाट रोगलाग्ने कुरा ब्यक्तिगत र राष्ट्रीय सम्पन्नताले होइन, स्वसाबधानी र आत्मसंयमितताले नियन्त्रण गर्न मद्दत गर्छ भन्ने प्रष्ट हुन्छ। अतः रोगको त्रास मनबाटै भगाउन सबैलाई प्रेरित गरौं।
२) ब्यक्तिहरु परदेशबाट आउदैमा यो रोग उनीहरुसँग आउछ भन्ने होइन। उनीहरुमा रोग छ भन्ने कुरा हामीले आँखाले हेरेर वा मुखले भनिदिदैमा प्रमाणित हुने पनि होइन। स्वास्थ्य विज्ञान प्रयोगशालाले चेकजाँच गरि कोरोना पोजेटिभ छ भनेपछि मात्र प्रमाणित हुने हो। खालि भ्रममा पारेर मानिसलाई हेर्ने दृष्टिकोण गलत बनाउनु अपराध हो। यस्ता प्रकारका क्रियाकलाप दण्डनीय छन्। उनीहरु आफ्नो घर गाउँ नफर्केर जाने कहाँ? आफ्नो घर जान नपाउने कुनै कानुनमा छैन। फेरि परदेशबाट आउनेलाई प्रहरीले थुनेको छ, जेल हालेको छ भन्ने कुरा गलत भ्रम हो।
के अपराध गरेर जेल हाल्ने? तर अहिले विश्वमा स्वास्थ्य संकटकाल छ। नेपालमा पनि। कुरा यति हो कि उनीहरु जहाँ छन् त्यही सुरक्षित बसेमा रोगको संक्रमण फैलिनबाट बच्न सकिन्छ र गाउँ समाजलाई रोगको महामारीबाट बचाउन सकिन्छ। हाललाई २ हप्ता सम्मका लागि उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको हो। क्वारेन्टाइन जेल होइन। क्वारेन्टाइन कोरोना भाइरसबाट परिवार र समाजलाई सुरक्षित राख्न बनाइएको सुरक्षा कवज हो।
क्वारेनटाइनमा राखिनुको कारण भारतमा कोरोना भाइरसले नराम्रोसँग गाजिसकेको वर्तमान अवस्थामा उहाँहरु पनि भारतमा कार्यरत रही नेपाल फर्किनु भएका तथा नचाहेर पनि उहाँहरुमा समेत कोरोनाको संक्रमण सरेर आउने सक्ने सम्भावना रहने हुदाँ स्वयम उहाँहरुको जीवन रक्षा, उहाँहरुका परिवारको जीवन रक्षा र सिङ्गो समाजको सुरक्षाको लागि क्वारेन्टाइनको ब्याबस्था गरिएको हो।
उहाँहरुले क्वारेन्टाइनमा बसेर सहयोग गर्नु उहाँहरुको सामाजिक दायित्व र देशप्रतिको कर्तब्य हो। क्वारेन्टानलाई सुरक्षित र ब्यबस्थित छ भन्ने जानकारी सम्बन्धित परिवारलाई गराऔं।
३) नोवेल कोरोना भाइरस सर्ने २ तरिका छन्। या त कोरोना लागेको ब्यक्तिको सम्पर्कमा कोरोना नलागेका ब्यक्ति जानू पर्छ या त कोरोना लागेको ब्यक्ति कोरोना नलागेका ब्यक्तिको सम्पर्कमा आउनु पर्छ। यी दुई कुराबाट साबधानी अपनाइयो भने कोरोनाबाट जोग्न सकिन्छ। यो स्वासप्रश्वाससँग जोडिएको रोग भएकाले यो रोगी ब्यक्तिको स्वासप्रश्वासको सम्पर्कबाट सजिलै सर्छ।
तसर्थ ब्यक्तिहरुको नजिक भएर कुराकानी नगर्ने, अंगालो नमार्ने, हात नमिलाउने, हातले पटकपटक नाक, मुख र आँखा नछुने, छुनै परेमा छोइसकेपछि साबुन पानीले सफासँग हात धुने, जमघट नगर्ने, भिडभाडमा नजाने, बाहिर निस्कनु परेमा मास्क लगाएर निस्कने गर्नु पर्छ।
फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने, जंगली तथा घरपालुवा पशुपंक्षिको असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने, हाछ्यु गर्दा तथा खोक्दा रुमालले नाकमुख छोप्ने गर्नुपर्छ। नियमित रुपमा साबुन पानीले हात धुने गर्नुपर्छ भन्ने सचेतना फैलाऔं। आफू बचौं। अरुलाई बचाऔं भनौं।
४) रुघासँगै सुक्खा खोकी लाग्ने, उच्च ज्वरो आउने, घाँटी दुख्ने , सास फेर्न गाह्रो हुने, नाकबाट सिंगान बगिरहने लक्षणहरु कोरोना भाइरसका लक्षण हुन सक्दछन्। यस्तो अवस्थामा समयमै स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउने र रोगको पहिचान गर्न सम्बन्धित निकायमा जानकारी पठाउने गर्नुपर्छ। यस्तो लक्षण देखिएको ब्यक्तिलाई तुरुन्त आइसोलेसन कक्षमा राखि उपचार गर्नु जरुरी छ। समयमै उपचार हुन नसके रोगिको मृत्यु हुन सक्ने सम्भावना रहन्छ भन्नेकुराको जानकारी गराऔं।
५) नोवेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो। जुन पहिला पहिचान भएको थिएन। यस भाइरसले मानिसमा साधारण रुघाखोकी देखि गम्भीर प्रकारको स्वासप्रस्वास समस्या निम्त्याउछ। यो भाइरस जनावरबाट मानिसमा सरेको कुनै बैज्ञानिक आधार छैन र मानिस कसरी यो भाइरसबाट संक्रमित भएका छन्। आजसम्म बैज्ञानिक तरबले पुष्टि भएको छैन।
हाल यस बिषयमा अनुसन्धान भइरहेको छ। यस भाइरसले लगाउने रोगका लागि कुनै खास उपचार छैन। यधपी यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार हुन्छ। त्यसैले बिरामीको उपचार लक्षणका आधारमा गरिन्छ। यस भाइरसका बिरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन। तर बैज्ञानिकहरु यस बिषयमा गहन अनुसन्धान गरिरहेका छन्। त्यसैले हामीले जोकेहीले फैलाउने गलत भ्रम र रुढिबाद पछि नलागी सतर्क र सचेत भई यस रोगबाट बच्ने उपायहरु अबलम्बन गर्नु आबश्यक छ भन्ने चेतना फैलाऔं।
६) डब्ल्यु एच ओ ले नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको क्षेत्र घोषणा गरेको छ। नेपाल सरकारले चैत्र १८ गतेसम्म नेपाल लकडाउन घोषणा गरेको छ। सीमा नाका बन्द गरिएका छन। आन्तरिक तथा बाह्य उडान र यातायात बन्द छन्। अति आबश्यक सेवा बाहेक अन्य सेवाहरु ठप्प छन्। यस अबस्थामा ब्यक्तिले डब्ल्यु एच ओ ले ब्यक्तिगत स्वास्थ्य र सरसफाइका लागि सुझाएका सुझावहरु ब्यबहारमा ल्याउनु जरुरी छ।
सरकारले घोषणा गरेको लकडाउनको नियम पालना गरी रोग लाग्नबाट जोगिनु जरुरी छ। यस अबस्थामा ब्यक्तिगत स्वास्थ्यप्रति सचेत हुँदै ब्यक्तिगत जीवन रक्षाका लागि सचेत र सत्रक हुनु जरुरी छ। जन स्वास्थ्यको रक्षाको लागि ३ वटै तहको सरकार क्रियाशील छ। हामी सुरक्षित छौं घरमै बसेर रहौं भनौं।
यधपि यस अबस्थामा सरकारले अझै सक्रियता देखाइ नाङ्गा भोकाहरुका लागि गाँस, बाँस र कपासको प्रबन्ध मिलाउनमा आफ्नो ध्यान केन्द्रत गर्नु जरुरी छ। कालो बजारी नियन्त्रणका लागि बलियो अनुगमन संयन्त्रको निर्माण र कार्यन्वयनमा जोड दिनु आबश्यक छ। अनि हामीले पनि यस राष्ट्रिय स्वास्थ्य संकटको अबस्थामा स्यम् आफू, आफ्नो परिवार, समुदाय, समाज र राष्ट्रकै स्वास्थ्य रक्षाका लागि आआफ्नो गाउँठाँउबाट सक्दो सचेतना फैलाउन भूमिका निर्वाह गरी हाम्रो सामाजिक दायित्व र नागरिक कर्तब्य पूरा गरौं। सचेतना फैलाइ सक्दो सहयोग गरौं। सहयोग गर्न नसके गलत भ्रम फैलाएर असहयोग पनि नगरौं।
धन्यबाद।