सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट २७ जनाको नमूना संकलन, १४ को नेगेटिभ १३ को रिर्पोट आउन बाँकी

२०७६ चैत्र १४, ०८:१० खबर संवाददाता

धनगढी : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको शंकामा सुदूरपश्चिमबाट पनि अहिले सम्म २७ जनाको नमूना संकलन गरिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले सम्म सुदूरपश्चिमका विभिन्न अस्पतालहरुबाट २७ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको जनाएको छ।

२७ जना मध्ये १४ जनाको रिर्पोट नेगेटिभ आईसकेको बताउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले भनिन्, ‘१३ जनाको बुधवार मात्रै नमूना पठाएको छौँ। रिर्पोट आउन केही दिन लाग्छ।’ १४ जनाको हवाई सेवा मार्फत स्वाव पठाईएकोमा लकडाउनपछि हवाई सेवा बन्द हुँदा बाँकी १३ जनाको भने महाकाली अस्पतालको गाडीमा स्वाव पठाईएको समेत उनले दिनेश खवरलाई जानकारी दिईन्। 

कोरोना संक्रमित नेपाली युवतीसंगै आएका धनगढीका एक युवक आफ्ना भाई सहित अहिले सेती अस्पतालको आईसोलेसनमा छन्। ति युवकको भने अहिले सम्म स्वाव पठाउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका ईमर्जेन्सि विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

‘बिहिवार सुदूरपश्चिमबाट परीक्षणका लागि पठाउन पर्ने ति एक जना युवकको मात्रै नमूना थियो,’ उनले भने, ‘आज विभिन्न पहाडी जिल्लाबाट पनि स्वाव धनगढी पुग्छ र संगै पठाउने तयारी छ।’ अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा नौँ जनालाई राखिएको छ। 

सुदूरपश्चिमबाट नमूना संकलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाउने गरिएको छ। सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कसैमा पनि कोरोना भेटिएको छैन्। चीनको उहानमा कोरोना संक्रमण सुरु भएलगत्तै त्यहाँबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पाइएको थियो।

त्यसयता दोस्रोपटक एक नेपाली छात्रामा कोरोना देखियो भने पछिल्लो समय केही दिनअघि मात्र अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा अहिलेसम्म संक्रमितको संख्या तीन पुगेको छ।
 

कमेन्ट लोड गर्नुस