Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

विपदमा मात्रै गाउँ-घर छिर्ने, माटोको ऋण कहिले तिर्ने ?

२०७६ चैत्र १३, ०७:१२
अ+

विष्णु प्रसाद जोशी

धुलो, धुवाँ, कमिसन र कालो बजारिले नेपाल आमाको सुन्दर मुहार धमिलाइ दिएको छ । जनता मास्क लगाउन बाध्य छन्, नेता आँखामा पट्टि बाँधी, कानमा तेल हाली बसेका छन् ! सबैतिर सुधारको आवश्यकता छ तर सुरु पो कहाँ गर्ने ? 

नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई  बिदेसिन थालेका छन्।  छोरा-छोरी र आफन्त  विदेश जाँदा माला, खादा लगाई विजय जुलुस निकाली, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्स्टाटस रंग्याउनु हामीलाई सामान्य झैँ लाग्न थालेको छ। आज वैदेशिक रोजगारको लागि जान्छु भने जसले पनि ऋण दिन्छन् तर आफ्नै गाउँ–ठाउँमा केही उद्यम फर्म खोल्छु भन्दा लगानीकर्ता भेट्न ग्राहक पर्छ। त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी-बहिनी दिन तैयार हुन्छन् तर आफ्नै गाउँघरमा गरी खान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छ।त्यसैले, आज नेपालको लाखौँको सङ्ख्यामा दक्ष जनशक्ति विदेशमा छ। पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्। यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ

 अहिले एकातिर विश्व बजार आर्थिक मन्दी तर्फ उन्मुख हुँदै गर्दा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने दलहरूले चुनाव जिती उग्र राष्ट्रवादी नेताहरूलाई सत्तासीन बनाई रहेको अवस्थामा अर्कोतिर कोरोना जस्तो महा-व्याधिको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ।  हामी जस्तो पराश्रित र युवाको श्रम बेची चलेको देशका लागी यो खतराको घण्टी हो।  

आज नेपाल  भारत लक डाउन छ भनी थाहा हुँदा-हुँदै पनि दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थल देखि पश्चिम नेपाल जाने आनन्द विहार बस अड्डामा र गौरिफंटा र गड्डाचौकी जस्ता नाकामा विदेशबाट नेपाल फर्किन चाहनेको भीड छ।  आपतमा आखिरमा सबैको मुखमा आउँछ आमाकै नाउँ , आश्रय बन्छ आफ्नै गाउँ-ठाउँ। हाम्रा गाउँ-घर फर्किएका दाजुभाइ हरूले गाउँमा कोरोना भित्र्याए हामीसँग न नियन्त्रण पूर्वाधार नै छ न त सही सूचनाको प्रवाह! अल्पकालीन रूपमा हामीलाई चाहिने आपत्कालीन स्वास्थ्य उपचार उपकरण, औषधि,  खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको समेत कमी पर्न सक्छ र मध्य र दीर्घकालीन रूपमा हाम्रा युवा जनशक्ति स्वदेश फर्किए पछि उनीहरूलाई रोजगारी सिर्जना गर्ने चुनौती आउन सक्छ जसको व्यवस्थापन गर्न  हामीसँग न कुनै तयारी छ, न योजना नै।  

हाम्रै छिमेकमा चीन सरकारले १९९० र २००० का दशकमा " ब्रेन सर्कुलेशन " कार्यक्रम अन्तर्गत प्रवासी चाइनिज मूलका विज्ञहरूलाई चीनको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने प्याकेजहरू ल्यायो।  भारतको विज्ञान और प्रौद्योगिकी विभाग (DST) ले विदेशका प्रतिष्ठित प्रयोगशाला बाट भारत फर्की त्यस्तै अनुसन्धान अघि बढाए महिना को $१०,००० सम्मको सहयोग गर्ने घोषणा गरेको थियो। यस्ता दूरदर्शी योजना समयमै ल्याउनुको फल स्वरूप आज कोरोनाको महा-व्याधिको प्रकोप परीक्षण र नियन्त्रण गर्न चाहिने  परीक्षण सामग्री, आवश्यक प्रविधि जनशक्ति  र व्यक्तिगत सुरक्षा उपकरण बनाउन भारत र चीन सक्षम छन्। आज विपद्को घडीमा कुनै पनि देशको प्राथमिकता आफ्ना जनतालाई बचाउने हुनु स्वाभाविक नै हो। नेपालले पनि समयमै कमसेकम सबै प्रदेशको राजधानीमा यस्तै आवश्यक परीक्षण प्रविधि र  यन्त्रहरू - आरएनए सिक्युन्सर  र आरटि पीसीआर  (RNA sequencer  and  RT-PCR ) इत्यादि राखी  दिएको भए म जस्ता कैयौँ जीव-रसायनशास्त्रीले स्वदेशमै रोजगार पाई आफ्नो गाउँ ठाउँकोको सेवा गर्ने अवसर पाउनुका साथै जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सेवामूलक कार्य गर्न पाउने थिए। 

 छिमेकमा यो सब भई सक्दा पनि नेपाल सरकारको तर्फबाट निकट भविष्यमा यस्तो पूर्वाधार निर्माण गरी देश-विदेशका दक्ष जनशक्ति भित्र्याउन ठोस योजना देखिँदैन। प्राविधिक कौशल भएका प्रवासी नेपालीलाई स्वदेश फर्किन केही ठोस कार्यनीति देखिँदैन। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले यसै आर्थिक बर्षभित्रजनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न सकिने अवस्था नरहेको बताएको सुन्दा दुख लाग्यो  । हुनत यो सब सुरु गर्ने सर्वोत्तम समय २  वर्ष अघि थियो। त्यसो गरेका भए आज  पर्दैन थियो होला। तर २  वर्ष नेताले प्रदेशको राजधानी तोक्न  र आफ्नै सेवा सुविधा र अधिकार वृद्धिका प्रयासमा र युवाले कंसल्टेंसी धाउनमै बिताए ! याद राख्नुहोस् यी फलफूल लाउने सर्वोत्तम समय २ वर्ष अघि भएपनि दोस्रो उत्तम समय आज, हो अहिले हो!

 देशको झन्डै एक तिहाइ जनसङ्ख्या र दक्ष युवा शक्ति आज विदेशमा छ।यदि हाम्रो एक तिहाइ अर्थतन्त्र विदेशबाट विप्रेषित पुँजीबाट चल्छ भने अब हामीले यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नै पर्छ। परदेशमा भएका धेरै युवा मित्रहरू नेपालमै केही तालिम केन्द्र, उद्योग–व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन्। यदि आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुनसक्छ।अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ–आफ्नै गाउँ ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सृजना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आज सामाजिक सञ्जालको जमाना छ। विदेश बस्ने आफन्त साथीभाइलाई आईफोन, प्ले स्टेसन, डीएसएलआर क्यामरा मात्रै नमागौँ। चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौँ। ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ।

अब हरेक प्रदेशमा कम्तीमा एउटा वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्धन केन्द्र खोल्न सङ्घीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनु पर्छ। त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यक पर्ने नेपाली मूलका दक्ष जनशक्ति लाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धा बाट चयन गर्नु पर्छ। यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ। त्यस्तो संरचना बनाउन चाहिने प्राविधिक जनशक्ति जुटाउन स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको सहयोग र संरक्षण चाहिन्छ नै। 

हाम्रा पाठ्यक्रम समयानुसार परिमार्जित पनि छैनन्। जीव विज्ञानमा विश्वमा आज नवीनतम क्रिस्पर क्यासजस्ता वंशाणुगत गुण निर्धारक सम्पादन  प्रविधि (Gene Editing Tools) र आरएनए अनुक्रमण (Sequencing) को प्रयोगात्मक पठन-पाठन हुँदै गर्दा हामी गँड्यौला चिर्न र भ्यागुतो र खरायोका हड्डी गन्नै व्यस्त छौँ। कम्प्युटर शिक्षामा आर र पाइथन प्रोग्रामिंग सिकाइ रहेको बेलामा हामी आफ्ना विद्यार्थीहरूलाई चार्लस् ब्याबेजको जीवनी घोकाइरहेका छौँ। हाम्रा स्कूल, कलेजमा विज्ञान हैन विज्ञानको इतिहास पढाइन्छ।

यस्तै असान्दर्भिक र असीपमूलक शिक्षा हुनाले एक दशक अघि केही समूहले आफ्नो सत्ता साध्ने महत्त्वाकाङ्क्षा पूरा गर्न १ पुस्ता गाउँ–घरका युवालाई किताब फाल्न लगाई आफ्ना साम्यवादी झोला भिडाउन सफल भए होलान्, तर संरचना भत्काउन जान्नेहरूलाई सत्तामा पुगेपछि आफ्ना आफन्तहरुको भविष्य बनाउने बाहेक अरूको बारेमा चासो नै भएन। यो शिक्षा “बुर्जुवा“ भन्नेले लाखौँ युवाहरूको भविष्यसँग जुवा खेले।

देशमा गुणस्तरीय शिक्षा प्रणालीको विकास, उद्यमशीलता प्रवर्धन, रोजगारी सृजना गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ। दिल्लीका सामुदायिक विद्यालयहरूमा वैकल्पिक राजनीति मार्फत सत्तामा पुगेको आम आदमी पार्टीको सबल शिक्षा नीतिको कारण ५ वर्षमै उल्लेखनीय सुधार भएको छ र विद्यार्थीहरू निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउन थालेका छन्। शिक्षा मन्त्री सहितको टोली विश्वको सर्वोत्तम गुणस्तरीय शिक्षा भएको फिनल्यान्ड गएर प्रशिक्षण लिई, त्यहाँका शिक्षाका सृजनशील पक्षहरूलाई दिल्लीका सामुदायिक विद्यालयहरूमा लागु गरेका छन्।

के हाम्रो आफ्नो गाउँ ठाउँ र देशप्रति दायित्व छैन? के हाम्रो विज्ञता, साधन स्रोत र विदेशको बसाई दुई चार पैसा कमाई महँगा गाडी र फोनहरू किनी, देश विदेश घुमेका सेल्फी र लाइभ भिडीयोहरु सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमेन्ट्स गन्दै बस्नका लागि मात्रै हो?

होइन भने आफ्ना गाउँ ठाउँका दाजुभाइहरूलाई मद्दत गर्न अघि सर्ने बेला हो यो। हामी सबै युवा मिलेर नेपालमा विज्ञान तथा प्रविधिको आधारभूत शिक्षा प्रदान गर्ने एउटा संस्थाको खाका कोर्न अबेला भईसक्यो।प्रवासका नेपाली मूलका सबै वैज्ञानिक हरू एकजुट हुने बेला भो।

विदेशमा बसेर पनि आफ्नो विज्ञता र प्राविधिक ज्ञान प्रयोग गरी नेपालका युवालाई उच्च–शिक्षा र सिप प्रदान गर्न, साधन–श्रोत जुटाउन र प्रशिक्षण दिन यूनिवर्सिटी अफ क्यालिफोर्नियाको शल्यक्रिया विभागका प्राध्यापक तथा गैर–आवासीय नेपाली सङ्घ अमेरिका अन्तर्गत साइ–टेक एनोभेशन एन्ड नलेज ट्रान्स्फर कमिटीका अदक्ष डा.तारा सिग्देलका प्रयासहरू सह्राहनीय छन्। सिग्देल भन्छन्, “मूलतः हामीले विदेशबाट आर्जन गरेको सीप र ज्ञान आफ्नो जन्मेको भूमिलाई सहयोग गर्ने भनेको पश्चिममा उपलब्ध ज्ञान र सिप नेपालका केन्द्रीय तथा प्रादेशिक सरकारहरू सँगको सहकार्यमा नेपालकाका विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसम्म र्पुयाउनु हो।”

उनको बुझाइमा हामीले अहिलेसम्म आर्जेको ज्ञान हाम्रै खर–खाँचा हरूलाई पूर्ति गर्ने्तिर लगाउनु पर्छ। जस्तै, आधुनिक कृषिको ज्ञान हाम्रो स्थानीय बालीहरूको प्रवर्धनमा उपयोग गर्न सके हामी आफ्नै मौलिक कृषिजन्य उत्पादनहरु विश्व बजार सम्म र्पुयाउन सक्छौ। यो सबैको जरो भनेको अहिले उपलब्ध ज्ञानलाई कसरी इन्टरनेट मार्फत उपयोग गर्ने हो र यसको लागि कम्प्युटरको आधारभूत ज्ञान हुनु आवश्यक हुन्छ।“सिग्देल कमिटी यो कुरामा सहयोग गर्ने कार्यक्रमहरूको तर्जुमामा जुटिसकेको छ।

शिक्षामा ठोस सुधारका कुरा गर्दा ग्रामीण भेगका विद्यालयहरूमा पुस्तक, पाठ्यसामग्री, सेतो पाटीका साथै प्रोजेक्ट र कम्पूटर जस्ता आधुनिक उपकरणहरूका साथै इन्टरनेट र्पुयाउनु एउटा मुख्य आधारभूत र व्यवहारिक कदम हो। क्यालिफोर्नियास्थित गैर-लाभकारी सङ्गठन लुमाद्वारा सञ्चालित एउटा परियोजनामा बिना इन्टरनेट र बिजुली (सोलारबाट) खुला स्रोत सफ्टवेयर र प्रोजेक्टरको माध्यमले अन्तरक्रियात्मक तरिकाले पाठ्यक्रम र शिक्षण सामग्री प्रदान गर्न सक्ने प्रविधि विकसित हुँदै छ। डा. तारा सिग्देल गण्डकी प्रदेशसँग सहकार्य गरी यस्ता उपकरण गाउँका विद्यालयहरूमा स्थापित गर्न पहल गर्नका साथै सम्बन्धित निकायलाई यसमा पहल गर्न आग्रह गर्दछन्। डा. महावीर पुनको नेशनल एनोभेशन सेन्टरले पनि यस्ता उपकरणहरूको थोक उत्पादन गर्ने सोच बनाएको छ।

हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौँ हामीले आफैँ त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला हो यो। आज बीउ रोप्ने पुस्तालाई भोलि फल खाने पुस्ताले धन्यवाद दिनेछ। आज हामीले आफ्नो गाउँ ठाउँमा गरेको योगदानले विज्ञान प्रविधि विकास र नवेनतम उद्योगहरुको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्‍यो भने भोलि हाम्रा भाइबहिनी, छोरानातीले आफ्नो गाउँ ठाउँ छोडी बिदेशिनु पर्ने बाध्यता कम हुनेछ। देश बनाउन एक पुस्ताले त्याग र मेहनत गर्नैपर्छ।

गाउँ ठाउँमा स्थानीय युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्नु सबै नेपाली मूलका वैज्ञानिक हरू एकजुट बनौँ । सरकारलाई सुझाव दिऊँ। दातृ संस्थाहरूमाझ प्रस्तावहरू लेखौँ, दक्ष जनशक्ति सँगै पुजी र प्रविधि भित्र्याऔँ। यो वैस्विक आर्थिक मन्दी र कोरोनाको महामारीले हामी सबैको आँखा उघारोस्!! 

विपदमा सबले सम्झन्छन् आफ्नै आमाको नाउँ,

आखिर आपतमा आश्रय बन्छ आफ्नै गाउँ ठाउँ !

आऊ नेपाली आऊ, एकजुट भएर नेपाल बनाउन आऊ, 

खुकुरी, बन्दुक धेरै भिर्‍यौ अब कलम औजार समाऊ!

नेपालको जय होस!!

(लेखक विष्णु प्रसाद जोशी खप्तडछान्ना ५ ९पिठेतोला०, बझाङका वासिन्दा हुन्। हाल उनी विद्यावारिधि ९रसायन शास्त्र० युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिका)

Twitter: @BishnuJoshi999

(आलेख लेखनमा सहयोग: डा. तारा सिग्देल)

Skip Ad