गौरीफन्टा नाकामा पुगे मुख्यमन्त्री भट्ट, हेल्थ डेस्कको अनुगमन
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेका छन्। मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था समेत बुझेका हुन्।
आज भारतका विभिन्न सहरमा मजदूरी गरी घर फर्किरहेका नेपालीसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगर्न आग्रह गरे। उनले कोरोनाको संवेदनशीलता बुझेर त्यसअनुरुपको सतर्कता अपनाउन आग्रह गरे।
मुख्यमन्त्री भट्टले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरे। उनले आइसोलेसन कक्ष कम भएको खण्डमा सो कक्ष स्थापनाका लागि गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरेको जनाइएको छ। मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि निरीक्षणमा सहभागिता रहेको थियो। रासस