कैलालीको चुरेमा भईरहेको अवैध दोहन रोक्न अनेरास्ववीयुको माग
कैलालीको चुरमा भईरहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न नेकपा सम्बद्ध अनेरास्ववीयुले माग गरेको छ। चुरे क्षेत्रका नदी तथा खोलाहरुबाट अवैध रुपमा व्यापारिक प्रयोजनका लागि मिलेमतोमा ढुङ्गा, गिट्टी तथा वालुवा उत्खन्न गर्ने काम भईरहेको भन्दै तत्काल रोक्न माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई शुक्रबार ज्ञापन पत्र बुझाईएको छ।
अनेरास्ववीयू कैलालीका संयोजक कुमार बडैला र सह–संयोजक समिर जोशी सहितका विद्यार्थी नेताहरुले प्रजिअ बोहरालाई ज्ञापन पत्र बुझाउदै चुरे क्षेत्रमा निर्माण व्यवसायीले मनोमानी ढंगले प्राकृतिक स्रोत उत्खनन गर्दा समेत सरोकारवाला निकाय मौन बसेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
अनेरास्ववीयुका संयोजक बडैलाले नदीजन्य वस्तुको उत्खनन्, संकलन तथा बिक्रि वितरणका लागि कार्यविधी बनेपनि त्यस विपरीत चुरे दोहन भईरहेको बताए। उनले चुरे क्षेत्रमा स्थानीय तहले अवैध रुपमा ठेक्का लगाई जथाभावी उत्खनन् गरी कारोवार भईरहेकाले भविष्यमा प्राकृतिक विपत्ती निम्तिने खतरा रहेको भन्दै त्यसतर्फ सम्बद्ध निकायलाई गम्भीर बन्ने आग्रह गरे।
चुरे जोगाउन मनपरी रुपमा हुने उत्खनन्मा सधैका लागि रोक लगाउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको संयोजक बडैलाले जानकारी दिए।