गौरीफन्टामा संयुक्त बैठकः कोरोनाको संक्रमण रोक्न समन्वय गर्ने सहमती
कोरोनाको संक्रमण रोक्न गौरीफन्टा नाकामा नेपाल र भारतका दुई अधिकारी बिच सहमती भएको छ। सोमबार नेपालका तर्फ बाट कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र भारतका तर्फबाट लखिमपुरका जिल्ला अधिकारी शैलेन्द्र कुमार सिंहबिचको संयुक्त बैठक बाट कोरोनाको संक्रमण रोक्न समन्वय गर्ने सहमति भएको हो।
बैठकमा कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि दुबैतर्फका सीमा नाकामा स्थापना भएका हेल्थ डेस्कहरुलाई थप सुबिधा सम्पन्न बनाउने, खुला सीमानाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गरी त्रिनगर र खक्रौला नाकाबाट मात्र आवतजावत गर्न दिने, बाँकी सीमावर्ति ईलाकाहरुबाट हुने आवतजावतलाई सीमानामा खटिएका दुबै देशका सुरक्षा अधिकारीहरुबाट कडाईका साथ नियन्त्रण गर्ने, दुबै पक्षबाट सीमा नाकामा थप प्रभावकारी रुपमा चेकजाँचको ब्यवस्था गर्ने लगायतका सहमती भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
कोरोनाको संक्रमण फैलिन नदिन भारतिय पक्षले थर्मल स्क्यानर मेसिन राख्ने तयारी समेत गरेको छ। जसका लागि नेपालका तर्फ बाट समेत सम्बन्धित निकायमा पहल गर्ने छलफल भएको छ।