सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब देउवालाई सहयोग नगर भन्दै माओवादीले कन्चटमा बन्दुक तेर्साए...

२०७६ चैत्र ३, ११:४६ आशिष मल्ल

धनगढी: २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन। डडेल्धुराको चिपुर, जुन तत्कालिन माओवादी नेता खगराज भट्टको गढको रुपमा रहेको थियो। चुनावमा नेपाली कांग्रेस पार्टी सभापती शेरबहादुर देउवा र खगराज भट्ट आमुन्नेसामने थिए। चुनावी माहोल तातेको थियो। त्यसबेला चिपुर गाविसको बुथमा शेरबहादुर देउवाको ऐजेन्ट बस्ने मान्छे एक मात्रै थिए, राम विष्ट। ऐजेन्ट बस्ने परिस्थिती नभएको बेला पार्टी तथा आफ्नो नेताको लागि उनले जोखिम उठाएका थिए। 

डडेल्धुराको अजयमेरु गाउँपालिका– ४ चिपुरमा २०४५ सालमा जन्मेका उनी २०६७ सालमा पार्टीको पाचौं जिल्ला अधिवेशनबाट जिल्ला प्रतिनिधीका रुपमा चयन भएका थिए। सोही साल राम विष्टलाई कार्यालय सचिवको जिम्मेवारी समेत दिइएको थियो। 

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनको अतुलनिय योगदान रहेको छ। ‘त्यो समयमा पनि उनी माओवादीको गढ मानिने चिपुर बुथमै ऐजेन्ट बसेका थिए’ पार्टी उपसभापति करुणाकर भट्ट भन्छन, ‘मंसीर २ गते शेरबहादुर देउवालाई निर्वाचनको रिपोर्टिङ गरेर फर्किने क्रममा राम विष्टमाथी सदरमुकामको रानीधारानिर माओवादी कार्यकर्ताले बन्दुक नै तेर्साएका थिए, मलाई समेत त्योदिन आक्रमण भएको थियो।’ 

‘म सभापतिलाई निर्वाचनको सम्पूर्ण जानकारी दिएर फर्किरहेको थिए, डडेल्धुरा सदरमकामको रानीधारानिर केहि माओवादी कार्यकर्ताले मलाई रोके’ डडेल्धुरा कांग्रेसका कार्यालय सचिव राम विष्टले भने ‘त्यसबेला देउवालाई सहयोग नगर, त खुबै कांग्रेसको पछि लागेको छस् भन्दै माओवादीले कन्चटमा बन्दुक नै तेर्साएका थिए, तर म डगमगाइन।’

२०७१ सालमा कांग्रेसको केन्दिय कार्यालयले देशभरीकै कार्यालय सचिवलाई प्रशिक्षण दिएकाे थियाे। २२ सालको उमेरदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका उनी सोही प्रशिक्षणबाट देशरभरी मै उत्कृष्ट कार्यालय सचिव बनेका थिए। र उनीलाई नगद २० हजार र एउटा कम्प्युटर प्रदान गरिएको थियो। 

पार्टीको मात्रै नभएर सम्पूर्ण भातृ संगठन तथा तरुण दलको चिपुर इकाइ अध्यक्ष र नेविसंघको जिल्ला कार्य समितिको निर्वाचित सदस्य भइ काम गरेका उनले २०७४ सालको स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका बेला प्रचारप्रसार समिति र व्यवस्थापन समितिको जिम्मेवारी समेत पाएका थिए। 

गत साउन ७ गते महिला संघको विवादलाई लिएर राम विष्टविरुद्ध महिला संघ डडेल्धुराका उपाध्यक्ष कलावति बोहरा, बसन्ती भण्डारी, सरस्वती खड्का लगायतका महिलाले मुद्धा दर्ता गरेका थिए। तर प्रशासन र जिल्ला प्रहरी कार्यालयले झुटा आरोप लगाएको भन्दै राम विष्टलाई सफाइ दिएको थियो। उनी दोषी नभएको कुरा प्रहरीको मुचुल्कामा समेत उल्लेख छ।  

‘उक्त घटनापछि भदौमा केन्द्रिय अनुशासन समितिले घटनाबारे मलाई स्पष्टिकरण सोधेको थियो र त्यसको जवाफ मैले पठाएको थिए’  कार्यालय सचिव राम विष्ट भन्छन, ‘त्यसपछि पनि पहिले पठाएको स्पष्टिकरण चित्त नबुझेको भन्दै पुनः फागुन २८ स्पष्टिकरण सोधिएको थियो, र मैलै ३० गते नै जवाफ फर्काएको थिए। 

यसरी प्रशासनले समेत महिला संघको विवादमा सफाइ दिइसकेको विवादलाई लिएर राम विष्टलाई कारवाही गरिने कुरा सुन्नु दुखद रहेको डडेल्धुराका पत्रकार राम धामीको ठम्याइ छ। ‘पार्टीका कर्मचारीलाई पार्टीका नेतासँग दाँजेर कारवाही गरिनु दुखद हो’ उनले भने। 

‘पार्टीले दिएको जिम्मेवारी पुरा गर्दागर्दै पनि इमान्दार कार्यकर्तालाई पाखा लगाउने तयारी भएको सुन्दा सम्पूर्ण कार्यकर्ता निराश जस्तै भएका छन’ नेपाली कांग्रेसका कार्यकर्ता केशव महताले भने, ‘यसरी निर्दोषलाई कारवारी गरिँदा पार्टीकै हित हुन्न होला।’

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस