सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस : गौरीफन्टा नाकाबारे के भन्छ प्रशासन ?

२०७६ चैत्र १, ०६:५२ खबर संवाददाता

धनगढी : कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले विभिन्न नाकाहरु बन्द गर्ने भनेपनि कैलालीसंग जोडिएका कुनै पनि नाका बन्द नहुने स्थानीय प्रशासनले जनाएको छ। भारतले नेपालसँग सीमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकामा आवागमन बन्द हुने जनाएपनि कैलालीका नाका बन्द बारे कुनै जानकारी प्राप्त नभको स्थानीय प्रशासनले जनाएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नाका बन्द बारे संघीय सरकार र भारत सरकारबाट कुनै आधिकारीक जानकारी प्राप्त नभएकोले नाका सञ्चालन नै रहने बताए। ‘नाका नै बन्द हुने बारे परराष्ट्र मन्त्रालयबाट पनि कुनै जानकारी प्राप्त भएको छैन्,’ प्रमुख जिल्ला अधिकारी बोहराले दिनेश खबरलाई भने, ‘कोरोनाको संक्रमण रोकथामका लागि भने हामीले चेकजाँचमा निकै कडाई गरेका छौँ। आवागमन नै बन्द भएको छैन्।’

कैलालीमा खक्रौला र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरिएको बताउँदै उनले विभिन्न ८ देशका नागरिकको आवागमन भने बन्द रहेको बताए। भारतले भने आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवतजावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउने उल्लेख गरको छ।

तर नेपाल, भारत र भुटान बाहेकका मुलुकका नागरिकहरु भने आवतजावत गर्न नपाउने उल्लेख गरिएको छ। प्रवेश अनुमति पाएका देशका नागरिकहरुले पनि अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ। कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको हो।

कमेन्ट लोड गर्नुस