सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटामा कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालन

फाइल फोटो
फाइल फोटो
२०७६ चैत्र १, ०३:४४

कञ्चनपुर: किसानले उत्पादन गरेका कृषि उपज बिक्रीवितरणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ। नवीकरण बचत तथा ऋण सहकारी संस्थाले शनिबारदेखि सञ्चालनमा ल्याएको केन्द्रको नगरप्रमुख दिलबहादुर ऐरले उद्घाटन गरेका छन्। उनले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका तरकारी, दलहन, तेलहन र अन्य उत्पादन बिक्री गर्न सहज हुने बताए। 

किसानका हितलाई ध्यानमा राख्दै नगरपालिकाले किसानका लागि कृषि औजार, उन्नत बीउबिजन र व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको उनले थपे।

सो अवसरमा सहकारीका अध्यक्ष धनबहादुर चौधरीले सहकारीमा आबद्ध भई आधुनिक र व्यावसायिकरुपमा खेती गर्दै आएका ६२ समूहका एक हजार बढी किसान केन्द्रबाट लाभान्वित हुने बताए। उनले भने, “कृषि उत्पादन हुने, बिक्री नहुने र सस्तोमै बजारमा बिक्री गर्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ।”

केन्द्र सञ्चालनका लागि आधा दर्जन बढी दातृ संस्थाले सहकारीलाई सहयोग गरेका छन्। सञ्चालनमा ल्याइएको केन्द्रले तरकारीको बजारीकरणमा बढी जोड दिने बताइएको छ। -रासस

कमेन्ट लोड गर्नुस