सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बुढीतोलामा भ्यू टावर निर्माणको कार्य ८ महिनादेखि ठप्प

२०७६ फाल्गुन ३०, ०७:१३ नवराज पनेरु

कैलालीको बुढीतोलामा भ्यू टावर निर्माणको कार्य ८ महिनादेखि ठप्प रहेको छ। नयाँ आर्थिक बर्ष सुरु भएसंगै भ्यू टावरको निर्माण कार्य ठप्प भएको हो। पर्यटन विभाग अन्तरगत पर्यटन कार्यालय कोहलपुरले गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर राख्नका लागि बातावरणीय प्रभाव मुल्याङकन गरेर प्रदेश सरकारलाई योजना हस्तान्तरण गरेपछि गत आर्थिक बर्षदेखि निर्माण सुरु गरिएको थियो। 

तर चालु आर्थिक बर्ष सुरु भएपछि नयाँ सम्झौता गर्नुपर्ने भएपनि अहिले सम्म सम्झौता हुन नसक्दा भ्यू टावर निर्माणको कार्य रोकिएको हो। भ्यू टावर निर्माणका लागि २०७६ साल जेठ ३ गते उपभोक्ता समितिसंग सम्झौता भएकोमा दुई महिना सम्म निर्माण कार्य भएपनि पछिल्लो ८ महिनादेखि भने काम रोकिएको हो। भ्यू टावर निर्माण उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर खत्रीले अहिले उपभोक्ता समितिले काम गर्न नसकेको बताए। 

‘प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई मार्फत भ्यू टावर निर्माणको कार्य सुरु गरिएको थियो। गत आर्थिक बर्षमा भ्यू टावरका लागि ९ लाख बजेट विनियोजन भएकोमा आर्थिक बर्षको अन्त्यमा मात्रै सम्झौता भएपछि एक लाख ७३ हजार ५ सयको मात्रै काम हुन सकेको थियो। अहिले काम ठप्प छ।’ उनले दिनेश खवरलाई भने।

खत्रीले चुरे गाउँपालिकाको कम्पासे धुरामा भ्यू टावर हुनुपर्ने भन्दै केही नेताले अवरोध गरेपछि अहिले काम गर्न नसकिएको बताए। उनले भने, ‘बुढितोलामा भ्यू टावर निर्माणको भएको अवरोध हटाउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई आग्रह गरेका छौ। तर अहिले सम्म अवरोध नहट्दा काम अलपत्र छ। झण्डै दुई लाखको काम बुढितोलामा गरेर अहिले फेरी कम्पासे धुरामा योजना सार्ने चलखेल भईरहेको छ।’ 

झण्डै ४ बर्ष अगाडी सो स्थानमा भ्यू टावर निर्माण गर्दा एक करोड ७० लाख लागत लाग्ने अनुमाग गरिएको थियो। अव सोही भ्यू टावर निर्माण गर्दा लागत झण्डै २० प्रतिशत बढेको छ। चालु आर्थिक बर्षमा उक्त भ्यू टावर निर्माणका लागि २५ लाख बजेट विनियोजन भएको छ। भ्यू टावर निर्माणको एकै पटक सम्झौता नभएर टुक्रा–टुक्रामा सम्झौता गरिने भएकाले उक्त बजेट कार्यान्वयनका लागि नयाँ सम्झौता गर्नुपर्ने भएको हो।

प्रदेश सरकारले चुरे गाउँपालिकाको कम्पासे धुरामा भ्यू टावर निर्माणका लागि बजेट विनियोजन गरेको तर भ्यू टावर गोदावरी नगरपालिका वडा नम्वर ४ बुढितोलामा निर्माण भईरहेकोले अन्योलता बढेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईका प्रुमख किशोर अर्यालले बताए। 

‘कम्पासे धुरामा भ्यू टावर निर्माणका लागि बजेट विनियोजन गरेर बुढितोलामा निर्माण थालिएको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हामीलाई पत्र पठाएको छ,’ उनले भने, ‘अहिले अन्योलता हटाउनका लागि हामीले प्राविधिक खटाएको छौ। छिट्टै टुङगो लाग्छ।’

पर्यटन कार्यालय कोहलपुरको पहलमा संघीय सरकारको सस्कृती, पर्यटन तथा नागरीक उड्यान मन्त्रालयको पर्यटन विभागले २०७४ असार २० गते गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोलामा भ्यू टावर निर्माण गर्न बातावरणीय प्रभाव मूल्याङकन स्वीकृत गरेको थियो। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस