सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी बच्नुस् डरलाग्दा सपनाबाट

२०७६ फाल्गुन २९, ०६:०२ खबर संवाददाता

निदाएका वेला सपना देख्नु अर्धचेतनको अवस्था हो। निदाएको समयमा पनि मस्तिष्क क्रियाशील रहने भएकाले कतिपय अवस्थामा सपना याद पनि हुने गर्छ। सामान्यतया अनेक विषयमा सपना देखिने गर्छ। प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिने गर्छ। सपनामा देखिएका घटनाले डराउने, आत्तिने र कतिपय अवस्थामा उठेर हिँड्नेजस्ता गतिविधिसमेत देखिन्छ। कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो। तर, लगातार डरलाग्दो सपना आउन थाल्यो भने मनोवैज्ञानिक समस्या हो। यसको समयमै उपचार गर्नु आवश्यक हुन्छ। 

किन लाग्छ डर ?

सपना देख्ने कुरा व्यक्तिको मनोविज्ञानसँग समेत प्रत्यक्ष जोडिएको हुन्छ। निदाएका वेला पनि अंगहरूले काम गरिहने भएकाले शरीरका रसायनमा परिवर्तन आउँछ। धेरैजसो सपना याद रहँदैन। तर, देखेका वेला निद्रा खल्बलियो भने त्यो सपना सम्झिइरहन्छ। अनि, त्यहाँ देखिएका डरलाग्दा दृश्यले आत्तिने र डराउने हुन्छ। यसलाई मनोवैज्ञानिक प्रतिक्रिया भनिन्छ। यद्यपि, यो बिस्तारै आफैँ ठीक भएर जान्छ। 

प्रकार

बच्चाहरू सपनामा डराउने अवस्थालाई अनुसन्धानकर्ताहरूले दुई भागमा बाँडेका छन्। ती हुन्, नाइटमेयर डिसअर्डर र नाइट ट्रेटर।

कारण

-अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ। 
-त्यस्तै, कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन्। दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ। 
-लगातार तनाव, डिप्रेसन, जीवनमा घटेका डरलाग्दा घटना र नशालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ।
-बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ। बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ। 

नाइटमेयर डिसअर्डर

विशेषगरी, बच्चाको कलिलो दिमागमा बसेका नराम्रा छापका कारण नाइटमेयर डिसअर्डर हुने गर्छ। यसमा राति बर्बराउने, आत्तिने, तर्सिने आदि हुन्छ।

समाधान

यो कमजोेर मनोविज्ञानबाट हुने समस्या भएकाले यसले दीर्घकालीन असर गर्दैन। उमेर बढ्दै गएपछि आफैँ ठीक भएर जान्छ। 

नाइट ट्रेटर

नाइट ट्रेटर हुँदा आत्तिने, कराउने, उठेर हिँड्नेजस्ता समस्या देखा पर्छन्  यस्ता गतिविधि लगातार भइरहन्छ । यो भने जटिल खालको समस्या हो।

समाधान

बच्चामा यस्तो समस्या देखिन थालेमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ। नियमित नाइट ट्रेटरको समस्या भएमा त्यो कालान्तरमा मानसिक रोगको कारणसमेत बन्न सक्छ। तसर्थ, समयमै मनोसामाजिक काउन्सिलिङ गर्न आवश्यक छ।  एजेन्सी
 

कमेन्ट लोड गर्नुस