सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका चलचित्र निर्देशक कार्कीलाई ६ प्रश्न

२०७६ फाल्गुन २६, ०२:५५

कैलाली: कैलालीको टिकापुरमा जन्मिएका विधान कार्की स्कुल पढ्दा नै नाटक मञ्चन गर्न र गराउन रुचि राख्थे। एसएलसीपछि २०६३ मा काठमाडौंको यात्रा तय गरेका कार्कीले एक दशकको निर्देशकको यात्रा पूरा गरे। र सोही विषयमा थप अध्यन गर्नको लागि अमेरिका पसे। अमेरिकाको यात्रालाई दुई वर्षमा टुङ्गाएका कार्की अहिले म्युजिक भिडियो र चलचित्र निर्देशनमै व्यस्त छन्। प्रस्तुत छ दिनेश खबरकर्मी रोशन भट्टले कार्कीसँग गरेको कुराकानी।

तपाईको चलचित्र निर्देशनको यात्रा कसरी तय भयो ?
२०६३ सालमा काठमाडौँ आएपछि २०६४ सालबाट मिडियामा सक्रिय छु। त्यसपछाडि रेडियोमा बोल्ने, स्थानीय टेलिभिजनमा जिम्मेवार पदमा बसेर काम गरे। राष्ट्रिय टेलिभिजन माउन्टेन टेलिभिजनमा काम गरे, संगसंगै मैले म्युजिक भिडियो निर्देशन, डकुमेन्ट्री निर्देशन, विज्ञापनको निर्देशनसंगै चलचित्र निर्देशनको यात्रा तय गरेको हुँ।

र २०१६ मा अमेरिका जानुभन्दा अगाडी २०१४ र २०१५ मा नेपाल टेलिभिजनमा काम गर्थे कार्यक्रम प्रस्तोता र निर्माताको रुपमा। त्योसँगै मैले मिडिया करियर र फिल्म मेकिङ करियरलाई अगाडी बढाएको हुँ।

चलचित्र, म्युजिक भिडियो निर्देशनसंगै टेलिभिजनमा पनि लामो समय काम गर्नुभयो अहिले तपाईको व्यस्तता कतातिर छ?
अहिले मेरो एउटा कम्पनी छ, नेप्सिने भन्ने। जुन कम्पनी चाही अमेरिकाको औपचारिक कम्पनी पनि हो। नेपालमा स्थापना भएको लगभग डेढवर्ष भयो। म अमेरिकाबाट फर्के तगत्तै नेप्सिने नामक कम्पनीको सुरुवात गरे। जसमाचाही सहकर्मीमा रायन रेज र दिपेन्द्र कार्की छन्। यो कम्पनीले अहिले तत्काल सेन्टी भाईरस जुन चाही धुर्मुस–सुन्तलीले खेल्नु भएको फिल्म हो। यो चलचित्रको नेपालभन्दा बाहिरको सम्पूर्ण अन्र्तराष्ट्रिय चलचित्र वितरण अधिकार हाम्रो कम्पनी नेप्सिनेले लिएको छ। जसको रकम चाही एक करोड १५ लाख छ सम्भव त नेपाली चलचित्रहरु मध्ये सबैभन्दा बढी मुल्यमा खरिद गरिएको यो पहिलो फिल्म हो।

अन्तराष्ट्रिय बजारमा अन्य चलचित्रहरुपनि विक्रि गर्नुभएको छ?
चलचित्रको हिसाबमा सर्टफिल्महरु धेरै बनाए तर फिचर फिल्मको कथानक चलचित्रको हिसाबले चाही अहिले हाम्रो कम्पनी निप्सिनेले ‘गुर्खाज : द स्टोरी अफ अ ब्रेभ्ररी’ अर्थात बहादुरीको कथा समेटिएको चलचित्रको सुटिङ अबको तीन महिनापछि सुरु गर्छ। त्यसको लेखन म र रायन रेजले गरेका हौँ भने निर्देशन म आफैले गर्दै छु। योसंगै अन्तराष्ट्रिय बजारमा चलचित्र वितरण गर्नेकाम पनि जारी रहन्छ। 

धेरै नेपाली कलाकारहरु अमेरिका पुगेपछि उतै हराउने गरेका छन्। तर तपाइलाई दुई वर्षमै नेपाल फर्किनु भयो, केहि विशेष कारण? 
म अमेरिका गएको एउटा मात्र कारण के थियो भने चलचित्रसँग सम्बन्धित विविध कुराहरुको अध्ययन गर्न र शैक्षिक योग्यातापनि बढाउनु। योसँगै चलचित्र निर्देशन र लेखन सम्बन्धी पढ्नुपर्छ अध्ययन गरेर आयो भने अझ बढी सजिलो हुन्छ भनेर मैले अध्ययनकै लागि दुई वर्ष अमेरिकामा बिताए।

त्यसपछि म नेपाल फर्किएको हुँ। मेरो अन्तिम लक्ष भनेकै नेपाली चलचित्र क्षेत्रमा एउटा राम्रो खालको काम गर्ने निर्देशक हुने हो। कुनैपनि विधामा आफुलाई अगाडी बढाउने भन्ने हो। त्यही हिसाबले म चाही अहिले नेपालमा चलचित्र क्षेत्रका लागि काम गरिरहेको छु। 

अहिलेसम्म तपाईले काम गरेका चलचित्रहरु केके हुन्?
अहिलेसम्म चलचित्र नै निर्देशन मैले गरेको छैन्। मैले चाही सर्टमुभीहरु, डकुमेन्ट्रीहरुसँगै ७०/८० भन्दा बढी म्युजिक भिडियोहरुको निर्देशन गरेको छु। यी सबै कुराहरुलाई अनुभवको रुपमा लिएर पढाइलाई निरन्तरता दिँदै चलचित्र निर्देशनको थालनी गर्दैछु छिट्टै। 

तपाई त चलचित्र निर्देशनको क्षेत्रमा सक्रिय रुपमा लाग्ने तयारीमा हुनुहुन्छ। नेपाली चलचित्रमा नअटाएको सुदूरपश्चिमको लागि तपाईको योगदान के रहन्छ?
मेरो पहिलो चलचित्रमा चाही पहिलेको ग्रामिण परिवेशलाई समावेश गर्ने प्रयास गरिरहेको छु। र मेरो आगामी चलचित्रहरुमा चाही अवश्यपनि आफू सुदूरपश्चिमको छोरा भएको नाताले यी कुरालाई पनि मध्येनजर गरेर अगाडी बढ्छु। 

कमेन्ट लोड गर्नुस