नयाँ दिल्लीमा सुदूरपश्चिमाञ्चल क्याम्पसका प्राध्यापक डा. देवेन्द्रप्रसाद भट्टलाई अन्तर्राष्ट्रिय साहित्य सम्मान
धनगढी: सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीका प्राध्यापक तथा साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टलाई भारतको राजधानी नयाँ दिल्लीमा अन्तर्राष्ट्रियस्तरको साहित्य सम्मान प्रदान गरिने भएको छ।
नेपाल–भारतबीचको भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले मासिक साहित्यिक संगोष्ठी, दिल्लीले आयोजना गर्न लागेको विशेष साहित्यिक समारोहमा डा. भट्टलाई सम्मान गर्न लागिएको हो। यही सेप्टेम्बर १२, २०२६ मा नयाँ अशोक नगरस्थित डी.पी.एम.आई. सभागारमा हुने समारोहमा उनलाई साहित्य, शिक्षा तथा समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गरिने आयोजकले जनाएको छ।
आयोजक जगमोहन सिंह रावत ‘जगमेरा’ले डा. भट्टलाई पठाएको औपचारिक निमन्त्रणापत्रमा उनलाई नेपालको प्रतिष्ठित शिक्षाविद्का रूपमा उल्लेख गर्दै साहित्य, शिक्षा र समाजसेवामा पुर्याएको योगदानको प्रशंसा गरिएको छ।
मूलतः अछाम निवासी डा. भट्ट हाल सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीमा प्राध्यापनरत छन्। नेपाली भाषा तथा साहित्यको अध्यापनसँगै उनी सिर्जना, समालोचना, साहित्यिक अनुसन्धान, सांस्कृतिक गतिविधि तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सुदूरपश्चिममा साहित्यिक चेतनाको विकास र नेपाली भाषाको उन्नयनमा उनको योगदानलाई पनि सम्मानको महत्वपूर्ण आधारका रूपमा लिइएको छ।
सम्मान समारोहसँगै विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने भएका छन्। कार्यक्रममा गढवाली, कुमाउनी, जौनसारी र नेपाली भाषाका गीत तथा कविता, वक्तव्य, लोकपरम्परासम्बन्धी प्रस्तुति र बहुभाषिक कवि सम्मेलनलगायतका कार्यक्रम समावेश गरिएका छन्।
आयोजकका अनुसार कार्यक्रममा डा. भट्टको साहित्यिक योगदानमाथि विशेष चर्चा गरिनुका साथै उनलाई सम्मान प्रदान गरिनेछ। बहुभाषिक तथा बहुसांस्कृतिक प्रस्तुति समेटिएको समारोहले नेपाल र भारतका विभिन्न भाषिक तथा सांस्कृतिक समुदायबीच साहित्यिक सम्बन्ध विस्तार गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डा. भट्टलाई प्राप्त हुन लागेको यो सम्मानले सुदूरपश्चिमको साहित्यिक प्रतिभालाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय साहित्यिक मञ्चमा परिचित गराउने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। नेपाली भाषा, साहित्य र शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय प्राध्यापक साहित्यकारलाई भारतको राजधानीमा सम्मान गरिनुले नेपाल–भारतबीचको पुरानो भाषिक, साहित्यिक तथा सांस्कृतिक आत्मीयतालाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।
सुदूरपश्चिमाञ्चल क्याम्पस परिवार तथा नेपाली साहित्य क्षेत्रले डा. भट्टलाई प्राप्त हुन लागेको सम्मानलाई गौरवपूर्ण उपलब्धिका रूपमा लिएको छ।