Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

धनी धनगढी

२०७६ फाल्गुन २६, ११:१७
अ+

गत साता सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल हेर्ने अवसर जुट्यो र फेरिए केही नेपाली खेलकुदसम्बन्धी धारणाहरू । त्यसअगाडिसम्म यसका आयोजकलाई लिएर किञ्चित राम्रो धारणा थिएन । घोषणा थियो, पहिलो हुने टिमले २० लाख रुपैयाँभन्दा बढी पुरस्कार पाउनेछ । वास्तविकता के थियो भने गत वर्ष पहिलो हुने टिमले त्यो पुरस्कार समयमै पाएन । यस्तोमा भर्खरै लिग जितेको मछिन्द्रले भनाइ थियो, घोषित पुरस्कारको रकम नै नदिने ठाउँमा किन जाने ? स्वाभाविक पनि थियो, यो धारणा ।

आयोजक सुदूरपश्चिम फुटबल ११ फुटबल क्लबका अध्यक्ष सुरेश हमालबारे पनि उडन्ते गफ सुन्न पाइन्थे र प्रायः ती नराम्रा हुन्थे । फाइनल मंगलबार थियो, त्यसको अघिल्लो दिन उनलाई पहिलोपल्ट भेट्ने अवसर जुट्यो, धनगढी रंगशालामा । त्यो पनि बेलुका अबेर । उनी फाइनलको तयारीमा व्यस्त थिए । अँध्यारो थियो, उनको राम्रोसँग अनुहार पनि देख्न पाइएन । त्यहीं कम्तीमा थाहा भयो, पोहोरको विजेताले बल्लतल्ल पुरस्कार राशि पायो ।

यिनै अध्यक्ष सुरेशलाई पछि सीधै धनगढी छोड्ने बेला भेट भयो । काठमाडौं फर्कन लागेका केही पत्रकारलाई बिदाइ गर्न उनी पुगेका थिए । पहिलोपल्ट सीधासीधा कुरा गर्ने अवसर मिलेको थियो । उनीमाथि एउटा प्रश्न थियो, मेरो । तर त्यो प्रश्नका लागि मनमा दुविधा थियो । मेरो मनको प्रश्न सोध्ने काम गरे, साथी पत्रकार देवेन्द्र सुवेदीले । उनले हाकाहाकी सोधिहाले, ‘गत वर्षको पुरस्कार राशिका लागि तपाईंले घर बेच्नुपर्‍यो रे, होइन त ?’

सुरेशको एउटा बानी रहेछ, नजर माथिमाथि अर्कैतिर उडाएर उत्तर दिने । त्यसको उत्तरका लागि पनि उनले सबैभन्दा माथि भित्तातिर हेरे र भने, ‘घर त होइन, एक टुक्रा जग्गा बेच्नुपर्‍यो ।’ फुटबल गर्न जग्गा बेच्नुपर्ने स्थिति ? उनी भनिरहेका थिए, ‘पोहोर अलि व्यवस्था मिलेन, प्रतियोगिताका बेला म आफैं बिरामी परें । तर केही छैन, यसपल्ट अलि राम्रो भयो नि ।’ उनी के गर्छन् र के गर्दैनन्, त्यो फरक विषय भयो, तर खेल प्रेमीका लागि त उनीजस्ता व्यक्ति दुर्लभ पो हुन्छ, खोज्दा कतै नभेटिने ।

धन्न, सबैलाई सजिलो हुने गरेर यसपल्टको उपाधि नै सुदूरपश्चिम ११ ले जित्यो । नेपाली घरेलु फुटबलमा सुदूरपश्चिमले पाएको यो दोस्रो ठूलो सफलता थियो । यसअघि सुदूरपश्चिमले ०६८ को राष्ट्रिय खेलकुदमा पुरुष फुटबलतर्फ पनि स्वर्ण जितेको थियो । यसपल्टको जित क्लब फुटबलमा रह्यो र यसले अबका दिनमा धेरै अर्थ राख्नेछ । नेपाली फुटबलमा सधैं पूर्वको जगजगी छ, मैदानभित्र र बाहिर दुवैतर्फ । अब पूर्वलाई टक्कर दिन पश्चिम पनि तयार भएको सन्देश हो, यो ।

जम्माजम्मी दुई दिन धनगढी बसेको थिएँ, उनीबारे धेरै राम्रा राम्रा पो सुन्न पाइयो । त्यो विजेता सुदूरपश्चिम टिमका सबै खेलाडीलाई उनले आफ्नै घरमा राखेका रहेछन्, आफ्नै परिवारका सदस्यले जस्तै । खेलाडीलाई खान र बस्ने मात्र उनको व्यक्तिगत जिम्मेवारी थिएन, बरु उनी खेलाडीलाई तलब पनि दिन्थे । त्यसमध्ये एक खेलाडीले बडो उत्साहित भएर भने पनि, ‘सातामा दुई दिन मासु पनि खान पाइन्छ ।’ फुटबलप्रति समर्पणको यो हद हो, पागलपन भन्दा हुन्छ ।

ललितकृष्णका साथी प्रशिक्षक

जुन फाइनलमा सुदूरपश्चिम जितेको थियो, त्यसमा हार्ने टिम थियो, थ्रीस्टार । थ्रीस्टारबारे आयोजक सुदूरपश्चिमसँग निकै राम्राराम्रा धारणा थियो । गज्जब त्यति पनि लाग्यो, जतिबेला यस्तै उत्तिकै राम्रा धारणा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीबाट सुनिए, आयोजक क्लब र अध्यक्ष सुरेशबारे । उनी भन्दै थिए, ‘हाम्रोमा पनि यसपल्ट खप्तड गोल्डकप खेल्न कि नखेल्ने भनेर सल्लाह भएको थियो । सबैले एकमतले खेल्ने निर्णय भयो, किनभने यस्ता मान्छे र क्लबलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो ।’

अझ उनले सुनाए, ‘जतिबेला राम्रो नियतले फुटबल गरिन्छ नि, पोहोरको जस्तो समस्या हुन सक्छ । फुटबलमा यस्तो हुन्छ पनि, तर नेपाली फुटबललाई माया छ भने यस्ता आयोजक र व्यक्तिलाई सहयोग गर्न छाड्नुहुन्न ।’ फाइनलपछि सुदूरपश्चिमका प्रशिक्षक रोहितकुमार भण्डारीसँग भेट्ने औपचारिकता पनि पूरा गरियो ।

नेपाली घरेलु फुटबलमा प्रायः सुनिने नाम होइन, यो । उनी मान्छे खासमा पूर्वका रहेछन्, तर आफ्नो कर्मथलो भने सुदूरपश्चिमलाई बनाएका रहेछन्, चार दशकभन्दा बढी समययता । उनी कुनै समय थ्रीस्टारका खेलाडी रहेछन्, ०४० सालतिर । जतिबेला थ्रीस्टारका पूर्वअध्यक्ष ललितकृष्ण श्रेष्ठ थ्रीस्टारका लागि फुटबल खेल्थे, उनी पनि त्यसै टिमबाट खेल्थे । अब ललितकृष्ण रहेनन्, तर उनको सम्झना यी प्रशिक्षकको मनमा पर्याप्त रहेछ । उनको एउटा बानी भने खराब रहेछ, पत्रकारसँग दोहोरो बोल्ने बानी नरहेर हो कि के हो, जत्ति प्रश्न सोधे पनि खालि ‘एस एस’ मात्र भन्ने । उत्तर नै नदिने । अरू प्रशिक्षक भए, एक प्रश्नको दुई तीन उत्तर दिन्थे ।

प्रश्न सोध्नमा माहिर अर्का साथी पत्रकार प्रकाश तिमिल्सिना त हायलकालय नै भए । यी रोहितकुमारले भने चार पाँच प्रश्नको एउटा मात्र उत्तर थिए । तर जति भने उनले सटीक भने । उनको भनाइ थियो, ‘हाम्रो सुदूरपश्चिमको फुटबल अझै धेरै पछाडि छ । फाइनलमा हामी जित्न त जित्यौं, तर राम्रो खेल्ने काम थ्रीस्टारले गर्‍यो । हाम्रो फुटबल अझै प्राविधिक रूपमा खेलिने खालको छैन । आज हामी जित्यौं, किनभने हामीलाई भाग्यले साथ दियो ।हामीले गर्नुपर्ने काम धेरै छ । हामीले अझै लामो यात्रा गर्नु छ ।’
खेलकुदको सहर

प्रतियोगिताका क्रममा कम्तीमा फाइनलमादर्शकको उपस्थिति मनग्गे थियो । चौथोपल्ट खप्तड गोल्डकप भइरहेको थियो, भनियो, धनगढीमा दर्शकको कमी हुन्न । यसैपल्ट केही दर्शक कम थिए, यसअघिका तीन संस्करणमा त धेरै दर्शक भएर समस्या भएको थियो । तिनै अध्यक्ष सुरेशले फाइनलपछि भाषणमा भनी पनि हाले, ‘अबको वर्षमा हाम्रो व्यवस्थापन अझ राम्रो हुनेछ ।’ सबैभन्दा पहिले खेलकुदमा भाषण हटाएकै राम्रो, जहाँसम्म उनको दाबी छ, विश्वास गरौं, अबका प्रतियोगिता अझ काइदाको हुनेछ ।

फाइनलमा भाषणा दिने राजनीतिक व्यक्तित्व गगन थापा पनि थिए । उनले सायद स्थिति बुझेर होला, धेरै लामो समय बोलेनन् । उनले भनेजस्तै धनगढी नेपाली खेलकुदको सहर हुन सक्छ । सुन्नमा रमाइलो छ नि, ‘खेलकुदको सहर, धनगढी ।’ धनगढीमा फुटबल हुँदा मात्र दर्शक हुने होइन, क्रिकेट हुँदा पनि उत्तिकै हुन्छ । आखिरमा धनगढी त्यही सहर हो, जहाँबाट फ्रेन्चाइज क्रिकेटको सोच जन्मेन मात्र, हुर्किने र बढ्ने अवसर पनि पायो ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका आयोजक हुन्, सुवास शाही । यी पनि कम्तीका छैनन् । उनले पनि खुबै मज्जा लिएर फुटबलको फाइनल हेरे । दुई वर्षअगाडि पनि त्यही (डीपीएल) को फाइनल हेर्ने अवसर जुरेको थियो । त्यसको ठीकअगाडि उनी खेलकै क्रममा एकाएक हराए । कहाँ हराए, कहाँ । पछि टुपलुक्क देखा परे । ध्यान दिएर हेरेको त, उनको दुवै बुढीऔंलामा भर्खरै ल्याप्चे हालेको मसी रहेछ । अझ भन्दा त्यो मसीसुकेकै थिएन, तर उनी खुसीखुसी हाँसेर गफ लडाइरहेका थिए ।

पछि भनियो, त्यति बेला पनि पुरस्कार राशिको जोडजाड गर्न सुवासले एक टुक्रा जग्गा बेचेका रहेछन् । अहिले यस्तै काम सुरेशले गरे । दुवै धनगढीका । धनी रहेछ, धनगढी, आखिरमा यो सहरसँग सुरेश पनि छ, अनि सुवास पनि । यिनको मनै ठूलो । नेपाली खेलकुदमा यति धेरै खराब नियत भएका र भ्रष्टहरूको जगजगी छ कि, लाग्छ, नेपाली खेलकुदमा फर्केर नआऔं । तर होइन, नेपाली खेलकुदमा सुरेश पनि छ, सुवास पनि छ । अनि पो माया लाग्छ, नेपाली खेलकुदको पनि । हिमेश/कान्तिपुरबाट साभार

Skip Ad