सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ विमानस्थल कालोपत्र बनाउने काम अन्तिम चरणमा

फाईल फोटो
फाईल फोटो
२०७६ फाल्गुन २५, ०८:५४

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र गर्ने काम चैतको अन्तिम साताभित्र सकेर वैशाखमा परीक्षण उडान गरिने भएको छ।

अहिले विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माणको काम पनि सकिएको छ। विमानस्थलको सम्पूर्ण काम सकिएपछि वैशाखमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन कार्यालयका इन्जिनीयर किरण थापाले बताए। विसं २०७५ असारबाट सम्झौता भई कालोपत्र निर्माणको कामको जिम्मा अमर कन्सट्रक्शनले लिएको छ।

पटकपटक विमानस्थल कालोपत्र गर्नुपर्ने र जहाज नियमित उडान गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा बोल्दै आउनुभएकी सांसद आशाकुमारी विकले आज विमानस्थलको कामको निरीक्षण गरेका छन्। विकसहित प्रजिअ उमेश पाण्डेले विमानस्थलमा भएको कामको अनुगमन गरी निर्माण कम्पनीका प्रतिनिधिहरुलाई छिटोछरितो र गुणस्तर काम गर्न जोड दिए। विमानस्थल सञ्चालन नहुँदा बझाङवासीले दुःख पाएको स्मरण गर्ने सांसद विकले यसका लागि आफूले पटकपटक प्रतिनिधिसभामा बोलेको बताउँदै छिटो निर्माण गर्ने आग्रह गरे।  

छ सय ३० मिटर लम्बाइ रहेको विमानस्थलको र चौडाइ २० मिटर रहेको छ। विसं २०३५ मा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट उडान बन्द  भएको हो। विमानस्थल बन्द हँुदा बिरामी र सुत्केरी महिलाले लामो दूरीको यात्रा गर्दा बीचबाटो मै ज्यान गुमाउनु परेको थियो। विमानस्थल कालोपत्र भई काम सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशको धनगढीदेखि बझाङ र बझाङदेखि धनगढी उडानका लागि नेपाल वायुसेवा, तारा, समिटलगायत एयरलाइन्ससँग समन्वय भइरहेको पनि सांसद विकले बताए। रासस

कमेन्ट लोड गर्नुस