सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा डेढ वर्षदेखि दन्त उपचार सेवा बन्द

२०७६ फाल्गुन २५, ०८:४७

बाजुराको बडीमालिका नगरपालिका वडा ८ स्थित जिल्ला अस्पतालमा सञ्चालनमा आएको दन्त उपचार सेवा लामो समयदेखि बन्द भएको छ। अस्पतालले सञ्चालन गरेको उक्त उपचार सेवा विगत डेढ वर्षदेखि बन्द भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

दाँतका रोगीलाई सस्तो सुलभरूपमा सेवा दिनका लागि सञ्चालनमा ल्याइएको भए पनि सो सम्बन्धीका विशेषज्ञ नभएका कारण बन्द गर्नुपरेको अस्पताल बाजुराका प्रमुख चिकित्सक रूपचन्द्र विश्वकर्माले  बताए। सेवा सञ्चालनका बेलामा दाँत रोग विशेषज्ञ चिकित्सक बुद्धि खडायतले सेवा दिए पनि उनको दुईवर्षे करार सेवा अवधि सकिएकाले सो उपचार सेवा बन्द भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चूडामणि पन्तले जानकारी दिए। पन्तले दन्त विशेषज्ञ खडायतको करार सेवा अवधि सकिएपछि थप पढाइका लागि गएका कारण बन्द भएको बताए।

दन्त विशेषज्ञ चिकित्सक ल्याउनका लागि पहल भइरहेको सूचना अधिकारी पन्तको भनाइ छ। दन्त उपचार सेवा अस्पतालमै दिँदा दाँतका बिरामी खुशी भएकाले प्रभावकारी बन्दै गएको थियो। पछिल्लो डेढ वर्षयता उक्त सेवा बन्द भएकाले दन्त उपचार क्लिनिकहरुमा महँगो रकम तिरेर उपचार गराउने गरेको दाँतका रोगीको गुनासो छ।

कम रकम लाग्ने र दाँत उपचारपछि औषधि निःशुल्क पाइने ठाउँमा उक्त सेवा नहुँदा सर्वसाधारणले महँगो रकम तिर्नु परेको नगरपालिका–३ रजालीकी तुला खड्काको भनाइ छ। आर्थिक अवस्था कमजोर, अपाङ्गता, ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार सेवा दिने गरी पुनः दन्त उपचार सेवालाई अस्पतालले सञ्चालन गर्नुपर्ने खड्काले बताए। स्थानीयवासीलाई सहज दाँतको उपचारको सेवा सञ्चालनका लागि पहल गर्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापाले प्रतिबद्धता जनाए। रासस 
 

कमेन्ट लोड गर्नुस