सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासन कार्यालय कैलालीले भन्यो, होलीमा पनि भीडभाडमा सामेल नहुनुस्

२०७६ फाल्गुन २५, ०७:४१ खबर संवाददाता

जिल्ला प्रशासन कार्यालय कैलालीले विश्वलाई नै जोखिममा पारेको कोरोना भाईरस(कोभिट–१९) बाट बच्न सर्तकता अपनाउन अपिल गरेको छ। प्रशासनले सूचना जारी गर्दै कोरोनाको संक्रमणबाट बच्न होली पर्वमा समेत भीडभाड तथा भेलामा सहभागी नहुन आग्रह गरेको छ।

सभा सम्मेलन, भेला, कार्यक्रमबाट भीभाड भएर जोखिम बढ्ने सम्भावना रहेकाले होलीमा पनि भीडभाड नगर्न तथा सामेल नहुन आग्रह गरेको हो। कोरोनाबारे सर्तकता अपनाउन अनुरोध गर्दै अतिआवश्यक काम बाहेक सकभर घरबाट बाहिर ननिस्कन पनि प्रशासनले भनेको छ।

यस्तै, जिल्ला विपद व्यवस्थापन समितिको बैठकले शंकास्पद व्यक्तिहरुलाई राख्न छुट्टै क्वारेन्टाईन स्थापनाका लागि प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले क्वारेन्टाईन र शंकास्पद व्यक्तिलाई छुट्टै राखेर उपचारको व्यवस्था मिलाउन , आवश्यक औषधी, उपकरण र स्वास्थ्यकर्मी सहित छुट्टाछुट्टै स्थानको व्यवस्थाका लागि संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि अनुरोध गर्ने निर्णय गरेको हो।

यस्तै सीमा क्षेत्रमा  पनि उच्च सर्तकता अपनाउने, जिल्लाका कुनै पनि स्थानमा ठुला भेला, समारोह, महोत्सव नगर्न सम्बन्धीत स्थानीय तह र सरोकारवालालाई आग्रह गर्ने र जिल्लामा सचेतना मुलक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। 

 

 

 

कमेन्ट लोड गर्नुस