सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीको कमाइमा निर्भर हुनुपर्दा अत्याधिक दुखी हुछन् पुरुष!

। फोटो स्रोत ।
२०७६ फाल्गुन २०, ०६:२७ खबर संवाददाता

वैज्ञानिकहरुले गरेको एक अध्ययनले पुरुषहरु कुन समयमा खुसी हुन्छन् र के कुराले उनीहरुलाई सबैभन्दा धेरै दुःखी बनाउँदछ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको छ। १४ वर्षसम्म अमेरिकाका ६ हजार परिवारमा गरिएको यस अध्ययनले दुःखपूर्ण भावनालाई चिन्ता, पीडा, निराशावादी, अस्तित्वहीन लगायतका नकारात्मक भावनाका आधारमा मापन गरेको हो।

यसबीच पुरुषहरु आफ्नो पत्नीको कमाइमा निर्भर हुनुपर्दा सबैभन्दा धेरै दुःखी र असन्तुष्ट हुने गरेको तथ्य पत्ता लागेको हो। अर्कोतर्फ पत्नीले घरको ४० प्रतिशत आर्थिक भार सम्हाल्दा र बाँकी ६० प्रतिशत कमाइका लागि परिवार आफूमा निर्भर रहँदा चाहिँ सबैभन्दा खुसी हुने गरेको अनुसन्धानले देखाएको छ।

अध्ययनका अनुसार पुरुषहरु पूर्ण रुपमा पत्नीको कमाइमा निर्भर रहन चाँहदैनन्। तर आफू एक्लैले सम्पूर्ण आर्थिक जिम्मेवारी उठाउनाले पनि उनीहरुलाई खुसी बनाउँदैन। निश्चित तथ्याङ्कमा भन्नुपर्दा पत्नीको ४० प्रतिशतसम्मको आर्थिक योगदान पुरुषहरुका लागि सबैभन्दा खुसीको क्षण हुने गरेको पाइएको हो। तर यसक्रममा पत्नीले कमाइमा आफूलाई जित्दै गएमा चाहिँ पुरुषहरुमा मानसिक तनाव बढ्दै जाने गरेको पत्ता लागेको डाक्टर जोआना सिड्राले बताएका छन्। उनी युनिभर्सिटी अफ बाथ्स स्कुल अफ म्यानेजमेन्टमा अर्थशास्त्री हुन्।

यसरी १९८० को दशकमा १० प्रतिशत परिवारमा मात्र पत्नीले पतिको तुलनामा धेरै आम्दानी गर्ने गरेका थिए तर अहिलेको अमेरिकी परिदृश्यमा भने तीन मध्ये एउटा घरमा महिलाले पुरुष बराबर कमाइरहेका हुन्छन्। सिड्राका अनुसार घरको मूल आर्थिक श्रोत हुनुले पुरुषहरुको मानसिकतामा कसरी असर पारिरहेको छ भन्ने पत्ता लगाउन यसअगाडि कुनै अनुसन्धान गरिएको थिएन।

यस्तोमा अध्ययनको लैङ्गिक असमानताले महिलाहरुको करिअर मात्र नभएर पुरुषको मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने निष्कर्ष निकालेको छ।
 

कमेन्ट लोड गर्नुस