धनगढीमा प्रहरी सक्रियता घटेपछि श्रृङखलाबद्ध चोरी बढ्यो
गत माघ २५ गते राती धनगढी उप–महानगरपालिका वडा नम्बर २ का श्यामराज भट्टको घरमा चोरी भयो। उनले घरमा लगाएका तीन ताला काटेर झण्डै ५० तोलाका २५ वटा चाँदीका सिक्का, काँसको एउटा लोटा, पानी तान्ने मोटर र तीन प्रयोगमा नरहेका मोटर सहित नगद दुई हजार पाँच सय रुपैया चोरी भएको थियो।
सोही दिन छिमेकी भावना जोशीको पानी तान्ने मोटर पनि चोरी भयो। जोशीले केही महिना अघि मात्र ९ हजार पाँच सयमा उक्त मोटर खरिद गरेकी थिईन्। चोरी भएको थाहा पाएपछि जोशीले वडा प्रहरी कार्यालय धनगढीलाई खबर गरिन्। वडाबाट तत्कालन प्रहरी नआएपछि जिल्ला प्रहरी कार्यालयमा घटना बारे जानकारी गराईएको थियो।
जिल्ला प्रहरी कार्यालयले उजुरी दिन भनेपछि मात्र प्रहरी टोली घटना स्थल पुगेको थियो। प्रहरीले चोरीको विवरण संकलन गरेपनि दुई हप्ता सम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन्। जोशीले भनिन्, ‘रातीको समयमा टोलमा चोरी हुदै आएको छ। मेरो मोटर चोरी भएको जानकारी वडा प्रहरीलाई गराए तर उनीहरु आएनन्। जिल्ला प्रहरीमा खबर गरेपछि उहाँहरु आउनु भयो। तर चोरलाई पक्राउ गरिएको छैन्।’
वडा नम्बर २ कै कालिका टोलका कमला पाण्डेको घरमा पनि गत ७ गते चोरी भएको थियो। उनको घर भित्र राखिएको ईन्भटर, ब्याट्री र साईकल चोरी भएको हो। नजिकैको विद्युतको पोलको तार काटेर चोरहरु घरको पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए। च्यानल गेटको ताला काटेर चारेले सामान चोरी गरेका हुन्।
घरमा चोरी भएको विषयमा भोलीपल्टै प्रहरीको जाहेरी दिएपनि अहिले सम्म चोर पक्राउ परेका छैनन्। पाण्डेले भनिन्, ‘७ गते छोराको जन्म दिन थियो। साढे १२ बजेपछि मात्र सुतेका थियाँै। ताला लगाएका थियाँै। बिहान मात्र घरमा चोरी भएको थाहा भयो।
बिहान लाईट बलेन्। ईन्भटर सहित ब्याट्री चोरले लगेको रहेछ। उनीहरु विद्युतको पोलमा नै विद्युत काटेर आएका रहेछन्। चप्पलको छापहरु थिए। तर बाहिरको गेट पनि बन्द थियो। प्रहरीमा खबर गरेका थियौँ। प्रहरीले कार्यालयमा नै बोलाए। कार्याय गएर निवेदन दिएका छाँै। तर चोरी संलग्न पक्राउ परेका छैनन्।’
यी दुई घटना प्रतिनिधिमुलक उदाहरण मात्र हुन्। धनगढीमा पछिल्लो सयम चोरीका घटना बढेका छन्। उप–महानगरपालिकाको वडा नम्बर २ मा चोरीमा संलग्न गिरोह सबैभन्दा बढि सक्रिय भएको छ। तर प्रहरीको गस्ती स्थानीयले देखेका छैनन्। प्रहरीको सक्रियता घटेपछि चोरीका घटनामा बृद्धि भएको उनीहरु बताउछन्।
‘गत ८ गते रातीको समयमा मोटर चोरी भयो। स्थानीय नन्दा अवस्थीले भनिन्, प्रहरीमा खबर गरेका थियाँै। तर आएनन्। अहिले स–साना सामान मात्र चोरी भएका छन्। विस्तारै ठुलो चोरी पनि होलान्।’ चोरले हैरान बनाएपनि प्रहरी प्रशासनले वास्ता नगरेको आरोप स्थानीयले लगाएका छन्।
स्थानीय पुस्कर शाहीले टोलमा दैनिक चोरी हुदै आएको बताए। ‘पुनारो भन्सार रोडमा दैनिक चोरी हुँदै आएको छ। उनले भने, ‘सीमा क्षेत्र हो। अन्य चोरीका घटनाहरु पनि हुने गरेका छन्। घर बाहिर रहेका सामानहरु रातीको समयमा चोरी हुने गरेका हुन्। प्रहरीले चाहेमा पक्राउ गर्न सक्छ। सडकमा रहेका ब्याट्री पनि फुटालिएका छन्।’
प्रहरीले भने चोरीमा संलग्नहरुको खोजी जारी राखिएको दावी गरेको छ। प्रहरीले वडा नम्बर २ को पुरानो भन्सार क्षेत्रमा चोरीका घटनामा बृद्धि हुदै गएकाले गस्तीमा बढाउने पनि जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले गस्ती गर्न निर्देशन दिएको दावी गरे।