धनगढीमा आयोजना हुने खाना महोत्सवमा बार टेन्डर्स कला देखाइने
धनगढी : होटल व्यवसायी संघ कैलालीको आयोजनामा फागुन १४ गते देखि २० गते सम्म धनगढीमा आयोजना हुन लागेको खाना महोत्सवमा बार टेन्डर्स कला देखाइने भएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन लागेको खाना महोत्सवमा पोखराको चर्चित बार टेन्डर्स कला देखाइने भएको हो।
स्कुल अफ बार टेन्डर्स पोखरासँग होटल व्यवसायी संघ कैलालीले बार टेन्डर्स कला देखाउने विषयमा सम्झौता समेत गरेको छ। होटल व्यवसायी संघकातर्फबाट अध्यक्ष कलम बम र स्कुल अफ बार टेन्डर्स पोखराका संस्थापक शैलेश शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
बार टेन्डर्स कला देखाउनका लागि अन्तराष्ट्रिय स्तरका प्रशिक्षक धनगढी आउने होटल व्यवसायी संघका महासचिव आभेष चन्दले जानकारी दिए। बार टेन्डर्स कला देखाउन धनगढी आउन लागेका प्रशिक्षक गोविन्द थापा एसियास्तरको बार टेन्डर्स कार्यक्रममा रनरअप भएका थिए।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढी स्थित खुला मञ्चमा महोत्सव आयोजना गर्न लागिएको होटल संघ कैलालीका अध्यक्ष कलम बमले बताए। महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने साथै एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत गरिएको बताइएको छ।
सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ। सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए।
सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकारी गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी दिन महोत्सवको आयोजना गर्न लागिएको उनले बताए। महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने जनाइएको छ। साथै महोत्सवमा भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेश लगायतका देशका साहित्यकार आउने बताइएको छ।
विश्वभरका साहित्यकारहरूको जमघट भएको बेला आयोजना हुने खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास गरिएका छ। साथै साहित्य सम्मेलन र खाना महोत्सवले सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सहयोग गर्ने जनाइएको छ।