सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको रिहाइको माग गर्दै धनगढीमा आमरण अनसनसहित प्रदर्शन जारी

२०७६ फाल्गुन ३, ०७:०६ खबर संवाददाता

धनगढी : रेशम चौधरीको रिहाइ सहितका विभिन्न माग राख्दै धनगढीमा फागुन १ गतेदेखि सुरु गरिएको आमरण अनसन जारी छ। थरुहट÷थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बिहीवारदेखि सुरु गरेको आमरण अनसनको जारी रहेको हो भने त्यस्को समर्थनमा धनगढी प्रदर्शन समेत गरिएको छ।

संविधान संशोधन गर, टीकापुर राजबन्दीमाथि लगाइएको झूटा मुद्दा फिर्ता गर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका नाराबाजी गर्दै प्रदर्शन गरिएको हो।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै आमरण अनसन सुरु गरिएको थियो।

मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस