सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुत्पादक बजेट कटौती गरी ८८ पालिकाका ८ सय युवालाई उद्यममा जोड्न मुख्यमन्त्रीलाई सुझाव

२०८३ भदौ २३, ०५:१३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आगामी बजेट निर्माणको पूर्वसन्ध्यामा युवाहरूले प्रदेशका मुख्यमन्त्री खगराज भट्टसमक्ष बजेटलाई उत्पादनमुखी र परिणाममुखी बनाउन  सुझाव प्रतिवेदन पेश गरेका छन्।

मुख्यमन्त्री भट्टकै आग्रहमा कैलाली बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु अध्यक्ष यमराज जोशी र युवा पवन सुनारले विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरी १२ पृष्ठ लामो प्रतिवेदन तयार पारेका हुन्। प्रतिवेदनमा प्रदेशको बजेट निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा ६ वटा मुख्य क्षेत्रमा सुझाव दिइएको छ।

प्रतिवेदनमा विगतमा युवाका नाममा सञ्चालन हुँदै आएका परिणाम नदिने तालिम, गोष्ठी, सेमिनार तथा जनचेतनामूलक कार्यक्रमका साथै कृषि क्षेत्रमा वितरण हुने अनुदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

यस्ता अनुत्पादक बजेट कटौती गरी ‘मुख्यमन्त्री युवा उद्यमी प्रोत्साहन कार्यक्रम’मार्फत प्रदेशका ८८ वटै स्थानीय तहबाट वार्षिक ५ सयदेखि ८ सय युवालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा उद्यमसँग जोड्न सकिने सुझाव दिइएको छ।

त्यस्तै, वडा तहबाटै निर्माण गर्न सकिने साना सडक तथा टुक्रे भवनजस्ता पूर्वाधारमा हुने खर्च कटौती गरी कृषि, उद्यम र पर्यटनको सम्भावना भएका क्षेत्रलाई बजारसँग जोड्ने सडक सञ्जाल निर्माणमा लगानी गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ।

कृषि उत्पादनको बजारीकरण र व्यवस्थापनका लागि उत्पादन बढी हुने जिल्लाको आवश्यकताका आधारमा कोल्ड स्टोर तथा कृषि बजार निर्माण गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

शिक्षातर्फ विद्यालय भवन, शौचालय निर्माण र रंगरोगनमा मात्र सीमित नभई विद्यार्थीलाई प्राविधिक तथा सीपमूलक शिक्षासँग जोड्ने कार्यक्रम ल्याउन सुझाव दिइएको छ। सरकारले सञ्चालन गर्दै आएका छोटो अवधिका सीपमूलक तालिमलाई समेत परिणाममुखी बनाउन आवश्यक योजना अघि सारिएको छ।

पर्यटन क्षेत्रमा मन्दिर, कुटी तथा साना संरचना निर्माणमा हुने अनुत्पादक खर्च घटाएर प्रदेशका सम्भावनायुक्त पर्यटकीय क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने सुझाव दिइएको छ।

प्रतिवेदनमा गोदावरी धाम, खप्तड, चुरेमा रहेको ऐतिहासिक गर्वा दरबारको पुनर्निर्माण तथा प्रचारप्रसार र जोशीपुरको कुट्नी बुढिया धार्मिक क्षेत्रलाई पर्यटकीय तथा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लगानी बढाउनुपर्ने उल्लेख छ।

यसैगरी, स्वर्गीय विपिन जोशी स्मृति अनुसन्धान प्रतिष्ठान स्थापना गरी सुदूरपश्चिमका विभिन्न सम्भावनाका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न विषय विज्ञको टोली निर्माण र परिचालन गर्न बजेट विनियोजन गर्न सुझाव दिइएको छ।

कैलाली बहुमुखी क्याम्पसमा करिब ५ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न प्रविधियुक्त खुला पुस्तकालय अर्थात् ‘ओपन ई–लाइब्रेरी’ स्थापना गर्न पनि सुझाव दिइएको छ। सहज मापदण्ड पूरा गर्ने जोसुकै व्यक्तिले बसेर अध्ययन गर्न सक्ने गरी पुस्तकालय सञ्चालन गर्नुपर्ने प्रस्ताव छ।

प्रतिवेदनमा अत्यावश्यकबाहेक २५ लाख रुपैयाँभन्दा कमका टुक्रे योजना र अनुत्पादक क्षेत्रमा बजेट विनियोजन नगर्न सुझाव दिइएको छ। योजनालाई पहुँचका आधारमा नभई आवश्यकता र प्राथमिकताका आधारमा छनोट गर्नुपर्नेमा समेत जोड दिइएको छ।

त्यस्तै, बजेट कार्यान्वयनमा कडाइ गर्न तथा सुशासनका सवालमा निर्मम भएर हाल देखिएको बेथिति कम्तीमा ५० प्रतिशतसम्म भए पनि घटाउनुपर्ने सुझाव दिइएको छ।

मुख्यमन्त्री भट्टकै आग्रहमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन हुनेमा भने आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको सुझावकर्ताहरूले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस