सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क उपचार हुँदै
धनगढीको सेती प्रादेशिक अस्पतालमा सिकलसेल एनिमिया रोगको निःशुल्क उपचार हुने भएको छ। सेती प्रादेशिक अस्पताल प्रशासनले सूचना जारी गर्दै निःशुल्क उपचार हुने जनाएको छ।
आजदेखि आउँदो असार मसान्त सम्म सिकलसेल एनिमियाको निःशुल्क उपचार गर्ने सेती अस्पतालका सूचना अधिकारी दीलिप बहादुर श्रेष्ठले जानकारी दिए।
कैलाली र कञ्चनपुरका थारु समुदायमा देखिएको सिकलसेल एनिमिया भए शरीरमा रक्त अल्पता भई थकान र कमजोरी महसुस गर्नु, रगतको कमीले सेतोपन देखिनु, रगतको कमीसँगै कमल पित्त जन्डिस देखिनु, बारम्बार रगत चढाइराख्नुपर्ने अवस्था आउनु
बेलाबखतमा खुट्टा र हातका हड्डी, ढाड, छातीका करङहरूमा अत्यधिक पीडा हुनु, कलेजो, फियो, पित्तथैली दुख्नु, प्रायः शिशुहरूमा निमोनियाँ र मस्तिष्क ज्वरो मेनिनजाइटिस हुनु लगायतका लक्षण देखिन्छन्।
पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा देखापर्ने सिकलसेलका बिरामीहरु कैलालीमा वृद्धि हुदै गएका छन्। वर्षेनी दोब्बर बढी संख्याले यो रोगका विरामी वढिरहेका छन्। थारु समुदायमा भयावहका रुपमा रहेको सिकलसेल एनिमियाको उपचार सरकारले एक लाख सम्म निःशुल्क गर्ने घोषणा गरेको छ।
सिकलसेलको उपचारका लागि कैलालीमा सेती प्रादेशिक अस्पतालसँगै सुखडको घोडाघोडी अस्पताल सुचिकृत गरिएकोमा सेतीमा विरामी वढ्दै जाँदा घोडाघोडी अस्पतालमा पनि विरामीहरु वृद्धि हुदै गएका छन्।
सेती अस्पतालमा कैलालीका साथै कञ्चनपुरका विरामीहरु उपचारका लागि आउने गरेका छन्।