सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरा प्रेमिकाहरु

२०७६ माघ २९, ०४:३७

जनक रसिक 

जीवनमा पहिलो प्रेम त आमालाई नै गरेहुँला! तर त्यो अनुभूति सम्झना छैन। म जति जति ठूलो हुँदै गए आमालाई भुल्दै भुल्दै गैरहें। एकै छानामुनि भएर पनि आज आमाको संसार र मेरो संसार नितान्त फरक छन्। र पनि मलाई के थाहा छ भने जीवनमा चरम संघर्ष खपेर आमा हाम्रै लागि बाँचिन्। आमा आफ्ना लागि बाँचेको भन्न सकिने खास प्रमाण केही छैन। बा? आज पनि म यो शव्दसँग डराउँछु। चट्टान जस्तो लाग्छ बाको छाति, लहरापहरा जस्ता लाग्छन बाका हातपाऊ। त्यो संरचना भित्र कोमलता नाप्ने प्रयास कहिल्यै गरिएन। बाको कठोरताले हाम्रो लागि छानोको काम गरेको साँचो हो। तर एक डरलाग्लो दुरी कायम रैरह्यो बा र हाम्रो बीचमा। यो दूरीको अर्थ के होला, थाहा छैन। यो दूरीलाई प्रेम भन्न मिल्छ की मिल्दैन, त्यो पनि थाहा छैन। कसरी भनु की मैले बालाई पनि प्रेम गरेहुँला! मलाई सम्झना भएअनुसार सानोमा मैले सबैभन्दा बढी प्रेम दिदीलाई गरे। ऊ वेला घरमा मेरो मनले सबैभन्दा बढी दिदीलाई नै खोज्थ्यो। म एक कक्षामा पढ्दा दिदीको विहे भयो। दिदी पराई घर गइन्।

निकै दिनसम्म मैले घरमा दिदीको अभाव महसुस गरें। त्यो महसुस आज पनि मलाई हुन्छ। जवजव दिदी माइति आउँछिन मेरो मन फरुङ्ग हुन्छ। गोरुगोठाला जाँनु मलाई औधी मन पथ्र्यो। किनकी त्यहाँ गोरु जुधाउन पाइन्थ्यो। एक समय हाम्रो एक गोरु गाउँका सबैका गौरुलाई जित्थ्यो। म त्यो गोरुलाई औधी मन पराउँथे। हम्रो बसाइसराइ सँगै गोरु पनि बेचियो। जंगल जानुका अरु पनि रहर थिए। कारण त्यहाँ खुलेर गीत सुसेल्न पाइने घना जंगल थियो, क्षितिज हेर्न पाइने अग्ला ढुंगाहरु थिए, मनलाग्दी खेल्न पाइने झर्नाखोला थिए। समय समयमा गुराँस फुल्थे, कोइली गाउँथे, काफल ऐसेलुहरु पाक्थे। यी सबै चीजमा मेरो प्रेम थियो। विद्यालय तह पढ्दा कुनै केटाकेटीको बीचमा लगातार चारपाँच पटक जसो देखादेख भयो भने ‘लभ प¥यो’ भन्ने चलन थियो। बालापनको सौन्दर्य यहि त हो। पढाइमा अरुभन्दा अव्बल, बोलीचालीमा चञ्चल र व्यवहारमा नरम स्वभावको भएर पो हो की मसँग नजिकिन खोज्ने केटीहरु धेरै थिए। अरुका भन्दा बर्ता साथीसँख्या भएकोमा म भित्रभित्रै पुलकित हुन्थे। अरु केटाकेटीका आरोपका भाषा हुन्थे –मेरा प्रेमिकाहरु धेरै छन्।

मेरो मनलाई थाहा थियो – मेरो प्रेमिका कोही थिएन। कलेज पढ्दा पनि धेरथोर यो अवस्था जारी रह्यो। तर यथार्थमा त्यो अवस्थासम्म हृदयमै सजाउने भनेर मैले कसैलाई मन पराएन। आइ.एस्सी पढ्दा मैले दूनिया बिर्से र पुस्तकका ठेली मात्र सम्झे। एक दर्जन पुस्तकका ठेलीले मेरो भोक, प्यास, निद्रा, थकान सब चोरे। आइ.एस्सी पास भएको दिन जीवनमा सबैभन्दा बढी खुशी भएको थिए म। ऊ वेला मेरा प्रेमिका तिनै पुस्तकहरु थिए सायद। उसो त आज पनि मेरो पुस्तक प्रेम घटेको छैन। अनुमान गर्छु –आजका दिनसम्म एक हजार भन्दा बढी पुस्तकसँग संसर्ग गरिसकेहुँला। आई एस्सी पढ्दा बसेको भित्ताको दिवार बि एस्सी पढ्दा चर्किदै जानथाल्यो। मेरा सम्बन्धका जराहरु दिवार चिरेर बाहिर आउन थाले। ‘साथी–सर्कल’का लहरा झाङ्गिदै जान थाले। कलेज भित्र होस या वाहिर मेरो सक्रियता बढ्न थाल्यो। लेखक बन्ने सपनाको उडानमा मञ्च र मिडिया खोज्दै खुव दौडिए त्यो समय। स्थानीय मिडियाहरुमा मेरा कविता गजल, कथा, गितिकथाहरु हप्तैपिच्छे प्रकाशन, प्रशारण हुन थाले। कलेज उमेरका केटाकेटी माझ त त्यै वेला ‘फेमस’ बनिसकेको थिए भन्दा मिल्छ। उसो त म पढाईमा पनि ठीकै भन्न लायकको थिए। कलेजका धेरै केटाकेटीसँग मेरो घनिष्ट समिप्यता थियो।

तर त्यो समय पनि मैले ‘प्रेम’बारे खास सोचेन। केही साथीहरुका आग्रहमा केही श्रृंगारिक गजल कविताहरु लेखे तर त्यो प्रेममा परेर लेखिएको थिएन। समुहमा हुदा देखिने मेरो चञ्चलता एकान्तमा हराउँछ। समुहमा हिड्दा धेरैपटक युवतीहरुलाई जिस्क्याउने काम गरियो। तर जिस्क्याएको मान्छेलाई फर्केर कहिल्यै हेरिएन। खासमा मलाई जिसक्याउन आउँथ्यो कि आउँदैनथ्यो थाहा छैन। तर कलेजका केटी साथीहरु भने खुव जिस्क्याउँथे मलाई। उनीहरु किन जिस्क्यााउँथे होला, कुन्नि! सायद त्यो बि एस्सी तेस्रो वर्ष पढ्दाको कुरा हुनुपर्छ। सँगै पढ्ने एक केटी साथी मसँग अलि बढी नजिक थिइन। मेरा ‘हेण्डराइटिङ्ग’ निकै राम्रा हुन्थे र म ‘नोट’ पनि राम्रो बनाउथे। त्यही नोट माग्ने बहाना बाट सुरु भएको हाम्रो सम्बन्ध घनिष्ट साथीमा परिणत भयो। उनी मेरो कोठामा नियमित जसो आइराख्थिन्। यतिसम्म की कैलेकाहीँ त खाना बनाउने, भाँडा माझ्ने र लुगा धुने काममा समेत सघाइदिन्थिन्। उनको आगमनले मलाई सहजता प्रदान गथ्र्यो। तर मैले त्यसलाई प्रेम सम्झेको थिएन। म भन्ने गर्थे – प्रेमिका केवल प्रेमिकाको भूमिकामा मात्र रहन सक्छे तर असल साथी सुखदुखमा धेरै भूमिकामा रहन सक्छ।

असल साथीलाई म कसरी प्रेमिका मानु? यो मेरो मनको कुरा थियो। तर उनको मनको कुरा के थियो कुन्नि? एक दिन कुरैकुरामा उनले भनिन – म तिमीलाई प्रेम गर्छु। मैले पनि सहजै जवाफ फर्काइदिए – म पनि तिमीलाई प्रेम गर्छु। उनले अर्को गम्भिर सवाल थपिन – मलाई तिम्रो हृदयमा ठाउँ देऊ, म तिमीसँग ‘लाइफ’ बिताउन चाहन्छु। एक असल साथीले प्रेमका गम्भिर कुरा गरेको मलाई पटक्कै चित्त बुझेन। हृदयको ढोका खुल्नु अगावै मेरो कोठाको ढोका बन्द भयो। त्यसपछी उनी कहिल्यै कोठामा आइनन्। आजकल सोच्छु – मैले किन त्यसो गरेहुँला? एमएस्सी पढ्दा म गाउँठाउँको लेखक बनिसकेको थिए। ‘धेरै भाऊवाला’ नभए पनि भाऊ खोज्ने भैसकेको थिए। बेलामौकामा स्थानीय रेडियोका आरजेहरु कार्यक्रममा बोलाउँथे। म बहुत रवाफका साथ जान्थे। आदर्शका गफ छाँटेर फकिन्थे। केही महिना देखि एक युवती आरजेले फलो गरिरहेकी थिइन। उनको ‘फलो प्रोसेस’मा मलाई शंका थियो। नभन्दै उनले एक दिन आफ्नो साहित्यिक कार्यक्रमको लागि आमन्त्रण गरिन। राती सवा नौ बजे कार्यक्रमको समय थियो। म साढे आठ बजे नै स्टुडियो बाहिर पुगिसकेको थिएँ।

त्यो समय गेष्टरुममा बसेर हामीले निकै सौहार्द रुपमा गफ गरेर बितायौं। अनएयर जाने समय दुई मिनेट मात्र बाँकी थियो, युवतीले मनको बाँध खोलिदिइन – “म तपाईलाई असाध्यै मन पराउँछु, त्यै भएर त आज तपाईलाई बोलाको।” मलाई झनक्क रीस उठ्यो। मैले जवाफ दिन नपाउँदै उनी स्टुडियो भित्र छिरिसकेकी थिइन्। कार्यक्रमको धून बजिसकेको थियो। उनले कार्यक्रमको उठान गरेर अतिथिलाई आमन्त्रण गरेको कुरा उद्घोष गरिसकेकी थिइन्। मेरा पैतला भने स्टुडियोको सिँडी ओर्लेर बाहिर आँगनमा अघि बढिसकेका थिए। म सरासर बजारको बाटो अघि बढे। उता स्टुडियोमा निकै बेरसम्म कार्यक्रमको धून बज्यो। पछि केही पुराना विरहका गीत बजेको सुनियो। आजकल सोच्छु – मैले किन त्यसो गरेहुँला? 

.......... 

एक पटकको भ्यालेन्टाइन डेमा म कक्षामा पढाउँदै थिएँ। एक छात्राले प्रश्न गरिन – सर! हजुरले कसैलाई लभ गर्नुहुन्छ की गर्नुहुन्न? मेरो मुखबाट सहजै जवाफ निस्कियो – “गर्छु नि! म तिमीलाई लभ गर्छु।” केटाकेटीमाझ हाँसोको फोहरा छुट्यो। ती छात्राको मुहार लाजले रातोपिरो भयो। मैले कुरा सम्याउन खोजे –“तिमीलाई मात्र हैन, तिमीहरु सबैलाई म लभ गर्छु। ल भन त तिमीहरु मलाई लभ नगर्ने कोही छौ?” जवाफ कसैबाट आएन। मैले हाँस्दै भने – “आई लभ अल अफ यु डियर स्टुडेन्ट्स!” सबै छात्रछात्राको मुखबाट एकै पटक जवाफ आयो – आई लभ यु भेरी मच सर!” मेरो मन ढुक्क भयो। 

.......... 

जनयुद्ध कालको अन्त्यतिर केही दिन अभियानमा हिडियो। जनमुक्ति सेनाको एउटै टोलीको सुरक्षा निगरानीमा हिँड्यौं हामी। बीस वर्ष नपुगेकी जस्ती एक महिला लडाकुको संरचनाले मलाई बहुत आकर्षित ग¥यो। सुन्दर चेहरा, रुपरंग, मिलेको कम्ब्याट ड्रेस, काँधमा राइफल, निधारमा रातो तारा अंकित टोपी। त्यो भन्दा बढी उनको आँट, साहस र सामाजिक रुपान्तरणको सपनाले मलाई बर्ता प्रभावित ग¥यो। केही महिना उनका बारेमा सोचें। या भनौं उनीलाई सम्झिए। तर जव युद्धविराम भयो, शान्ति प्रक्रिया अघि बढ्यो। उनीले अवकाश रोजिन्। जव उनलाई कम्ब्याट र राईफल विहिन अवस्थामा देखें, बहुत फिक्का लाग्यो उनको रुपरंग। त्यसपछि मैले उनीलाई सम्झन छोडिदिएँ। के त्यसरी सम्झनु र बिर्सनु भनेको प्रेम थियो? कुन्नि! यी केही घटनाहरु हुन, जसलाई प्रणय दिवस आसपास म बढी सम्झिने गर्छु। यीबाहेक यस्ता थुप्रै घटनाहरु छन् जो समयका अन्तराहरुसँगै बिर्सिदै गैन्छन्।

झुटो के बोल्नु, कलेजका पछिल्ला वर्षमा धेरथोर मन पराउन थालियो। तर त्यो पूर्ण मन पराई थिएन। कसैका चेहरा मन पर्थे, कसैको अवाज मन पथ्र्यो, कसैको केशराशी मन पथ्र्यो, कसैको जिउडाल मन पथ्र्यो, कसैको लगनशीलता मन पथ्र्यो, कसैको शालिनता मन पथ्र्यो। जजस्मा केही अशल चीज देखिन्थ्यो उसमा केही न केही कमजोरी पनि प्रष्ट देखिन्थ्यो। सबै गुण राम्रा कसैमा भेटिदैनथ्यो। सायद मेरो महत्वाकांक्षा पो बढी थियो की? अरुका असल गुणको खोजी गर्दा आफ्ना असल खराब गुणको हेक्का रत्तिभर राखिएन। त्यसैले पनि होला। कसैसँग प्रेम गर्न सकिएन। कलेजमा मात्र हैन बाहिर बाटोमा हिड्दा, सपिङ्गमा बजार डुल्दा, सभासमारोहमा सहभागी हुदा जहाँ जुन अवस्थामा पनि आकस्मिक रुपमा परिचित अपरिचितका केही गुणले आकर्षित गरे। तर त्यो आकर्षण प्रेममा परिणत भएन। एक समय फेसबुकमा फलो गर्ने युवतीहरु थिए। तर विहेपछि त्यो फलो को फ्लो सुस्त भयो। आजकल पनि बहुत उदारता साथ कुराको सुरुवात गर्ने युवतीहरु मेरो ‘म्यारिड स्टाटस’ थाहा पाउने बित्तिकै कुराको बान्कीमा ‘हाइ एङ्गल’को परिवर्तन देखाउँछन। सम्बन्धमा ‘म्यारिड’ या ‘अनम्यारिडनेश’को के सम्बन्ध हुँदोहो? कैलेकाहीँ ती युवतीहरुलाई सोध्न मन लाग्छ।

तर कसैलाई सोधिहालेको छैन। प्रणय दिवस आसपास कोही न कोही सञ्चारकर्मी मित्रहरु भेट्न आइपुग्छन्। प्रेमको परिभाषा सोध्छन्। मलाई सोझै थाहा छैन भन्नु असोभनीय लाग्छ। मेरो तयारी जवाफ हुन्छ – “संसारमा जुन कुराको परिभाषा दिन मलाई समस्या हुन्छ त्यही हो प्रेम।” हुन पनि हो, मैले एमएस्सी पढ्दासम्म विज्ञानका सयौ परिभाषा र सिद्धान्तहरु घोके। बिएड पढ्दा शिक्षा र मनोविज्ञानका सयौं परिभाषहरु याद गरे। एलएलबी पढ्दा कानुनका सयौं परिभाषहरु पढे। त्यसबाहेक राजनिति, भुगोल, अर्थशास्त्र, धर्म आदिको अनौपचारिक अध्ययन गर्दा सयौं परिभाषाहरु रटें। तर कहीं कतै प्रेमको परिभाषा पढ्ने अवसर जुरेन। न त्यो महसुस गर्ने अवसर नै जु¥यो। मैले पौरख, पसिना र पुस्तकलाई धेरै समय दिए। सायद त्यै भएर प्रेमका लागि समय ‘अनसफिसियन्ट’ भयो होला। जीवनको एक पाटो सुस्त भयोहोला। आजकल मलाई जीवनका उमङ्गहरुले भन्दा गम्भिरताहरुले बढी सताउँछन्। धेरैले मेरो स्वभाव मन पराउँदैनन्।

मलाई थाहा छैन म पूर्ण छु की अपूर्ण? कैलेकाहीं गीता जिस्क्याउँछिन् –“हजुरलाई प्रेम गर्न आउँदैन।” म नाजवाफ हुन्छु। अनि म एक्लै भएको वेला सोच्छु – धन्न, गिता छिन र मलाई प्रेमको बारेमा सोच्न कर लाग्छ। अनि लाग्छ, जीवनका लागि प्रेम पनि आस्यक छ। म बामे सर्दै गरेको आरोहणको मुहारमा हेर्छु। थाहा छैन, उसले मबाट कस्तो प्रेमको अपेक्षा गर्दोहो? 

जीवनमा गिता नआउँदिहुन त मलाई प्रेमको बारेमा कस्ले सम्झाउँदोहो?
 

कमेन्ट लोड गर्नुस