धनगढीको अमित मेडिसिनका दुई जना सञ्चालकलाई ७ बर्षसम्म कैद हुन सक्ने
धनगढी : कर चुक्ता प्रमाणपत्र किर्ते गरेर टेण्डर हत्याएको पुष्टि भएसंगै धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेत र प्रदीप अग्रवाललाई ७ बर्ष सम्म कैद हुन सक्ने देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरु दुवै जनाविरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्धा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उक्त मुद्धामा अभियोग पुष्टि भए ७ बर्ष सम्म कैद र ७० हजार जरिवानाको व्यवस्था रहेको बताए। यद्यपी बस्नेत र अग्रवाल भने अहिले सम्म पक्राउ परेका छैनन्। पक्राउका लागि अदालतले अनुमती दिएको ढाई महिना पुग्नै लाग्दा समेत प्रहरीले दुवै सञ्चालकलाई पक्राउ नगरेको हो।
समाचार स्रोतका अनुसार बस्नेत र अग्रवाल पक्राउ परेपनि उनीहरुलाई छोटो समयमै धरौटीमा छुटाउने चलखेल समेत भईरहेको छ। ‘दुवै जना सञ्चालक पक्राउ परे सुरुमा धरौटीमा छुटाउने र आन्तरिक राजश्व कार्यालयले निर्धारण गरेको कर चुक्ता गरी दुवै जनालाई सफाई दिने चलखेल भईरहेको छ।’ समाचार स्रोतले दिनेश खवरलाई भन्यो।
त्यस्का लागि बस्नेत र अग्रवाल आर्थिक चलखेल गर्दै आफुमाथि लागेको मुद्धालाई कमजोर बनाउन सक्रिय रहेको दावी गरिएको छ। यता आन्तरिक राजश्व कार्यालय कैलालीले भने बस्नेत र अग्रवालले सञ्चालन गरिरहेको व्यवसायमाथि छानविन गरिरहेको छ।
कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठले अमित मेडिसिन डिस्ट्रिब्युटर्समा छापा हानेर आवश्यक कागजात बरामद गरिएको बताए। आर्थिक बर्ष २०७३÷०७४ र २०७४÷०७५ को कारोवारमाथि छानविन भईसकेको बताउँदै उनले गत आर्थिक बर्षको कारोवारमाथि छानविन गर्न बाँकी रहेको बताए।
उनले भने, ‘पुस मसान्त सम्म आय विवरण बुझाउन पर्ने प्रावधान रहेको छ। तर अमित मेडिसिन डिस्ट्रिब्युटर्सले अहिले सम्म आय विवरण नै बुझाएको छैन्। आय विवरण बुझाएपछि तीन आर्थिक बर्षकै कर निर्धारण गरेर असुली गरिनेछ।’ उनका अनुसार निर्धारण गरिएको कर समेत बुझाउन आनाकानी गरे खाता रोक्का र सम्पत्ति लिलाम सम्मको व्यवस्था रहेको बताए।
गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षमा औषधी खरीदको टेण्डरका आह्वान गरेपछि अमित मेडिसिनले बुझाएको कर चुक्ताको प्रमाणपत्र किर्ते रहेको पुष्टि भईसकेको समेत उनले बताए। सो जानकारी सहितको पत्र आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आँखा अस्पताललाई यसअघि नै पठाईसकेको छ।
यो पनि पढ्नुहोस
१) करोडौँ बाडेर उम्किने प्रयासमा धनगढीको अमित मेडिसिनका सञ्चालक बस्नेत
२) धनगढीको अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत अझै फरार
३) अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत सहित दुई जनालाई पक्राउ गर्न अनुमती
४) अमित मेडिसिनको कर चुक्ता प्रमाणपत्रमाथि छानविन गर्न औषधी व्यवस्था विभागको आग्रह
५) टेण्डर पार्न धनगढीको अमित मेडिसिनद्वारा कर चुक्ता प्रमाणपत्र किर्ते