करोडौँ बाडेर उम्किने प्रयासमा धनगढीको अमित मेडिसिनका सञ्चालक बस्नेत
कर चुक्ता प्रमाण पत्र किर्ते गरेर टेण्डर हत्याएको पुष्टि भएपनि धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेत र प्रदीप अग्रवाललाई पक्राउ गर्न प्रहरी उदासिन देखिएको छ। पक्राउका लागि अदालतले अनुमती दिएको ढाई महिना पुग्नै लाग्दा समेत प्रहरीले दुवै सञ्चालकलाई पक्राउ गर्न चाँसो नदेखाएको हो।
प्रहरीले पक्राउका लागि अनुमती पाएपछि बस्नेत र अग्रवाल धनगढीबाट फरार भएका थिए। समाचार स्रोतले भन्यो, ‘सुरुवातको सयममा धनगढीबाट फरार रहेका दुवै जना सञ्चालक मध्ये बस्नेत केही दिन अगाडी धनगढी आएका थिए। तर प्रहरीले पक्राउ गर्न चाँसो नदिदा उनी उम्किन सफल भए।’
समाचार स्रोतले नै बस्नेत आर्थिक चलखेल गरी आफुमाथि लागेको मुद्धालाई कमजोर बनाउन सक्रिय रहेको दावी गरेको छ। धनगढीमा रहेका बस्नेतका आफन्तहरु मार्फत आर्थिक लेनदेन गरी बस्नेत र अग्रवाल उम्किने प्रयासमा लागिरहेका हुन्।
प्रहरी प्रशासन, कर कार्यालयका कर्मचारी र केही पत्रकारलाई समेत प्रभावमा पारेर बस्नेत र अग्रवाल उम्किने प्रयासमा जुटेको दावी समाचार स्रोतको छ। त्यस्का लागि उनी तीन करोड सम्म खर्च गर्न तयार रहेको बुझिएको छ।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने सरकारी छाप दस्तखत मुद्धा लागेका अग्रवाल र बस्नेतलाई कानुनी दायरामा ल्याउन ठूलै समस्या नहुने जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दुई बर्ष हद म्याद नै हुने भएकाले उनी लामो समय सम्म भागेर बस्न नसक्ने प्रतिक्रीया दिए। दुई बर्ष सम्म पनि पक्राउ नपरे अदालतमा प्रमाण पेश गरिने उनले बताए।
उनले भने, ‘बस्नेत धनगढीमा आएको खवर ढिलो गरी प्राप्त भयो। खवर पाउनासाथ प्रहरी परिचालन गरिएको थियो तर उनी फेरी धनगढीबाट फरार भईसकेका थिए।’ उनका अनुसार मेडिसिनका सञ्चालक बस्नेत र अग्रवालको खोजी अहिले पनि जारी राखिएको छ।
यसअघि टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन गरेको थियो। छानविनपछि गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको पुष्टि भएको थियो।
अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा धनगढीबाट पहिले नै सरुवा भइसकेका कर अधिकृतको हस्ताक्षर रहेको फेला परेको थियो।