डडेल्धुरामा नेकपाका अध्यक्ष कुटपिटको जिम्मा विप्लवले लियो
डडेल्धुरा: नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले लिएको छ।
जोशीलाई शुक्रबार आलिताल भन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डोधारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको थियो।
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो। इन्चार्ज दौलत सिँह विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ ‘जोशीले मडेला खोला तटबन्धन र खेलकुद मैदान निमार्णका साथै थुप्रै योजनामा भ्रष्टाचार तथा अनियमितता गरेको, योजनाको अन्तिम भुक्तानीहुँदा समेत मजदुरको पारिश्रमिक नदिएको, समाजमा भ्रष्टाचार गरी विकृती मच्चाएको र हाम्रो पार्टी विरुद्ध सुराकी गरेकाले निज ज्ञानेन्द्र जोशीलाई हाम्रो पार्टीले चेतावनी स्वरुप सांकेतिक कार्वाही गरेको अवगत गराउँदछौ।’
साथै पार्टीले आगामी दिनहरुमा जोसुकैले पनि त्यस्ता कार्य गरे नछाडिने चेतावनी समेत दिएको छ।
उक्त घटनामा जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भने भागेर अपहरण र कुटपिटबाट जोगिएकी थिइन।