'देश टुक्राउन खोज्नेलाई रातो कार्पेट बिछ्याएको सरकारले विप्लवले उठाएका मुद्धा सम्बोधन गर्न सकेन'
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांगे्रस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले देश टुक्राउन खोज्नेलाई रातो कार्पेट बिछ्याएको सरकारले विप्लवले उठाएका मुद्धा सम्बोधन गर्न नसकेको बतनएका छन। शनिबार डडेल्धुराको परशुराम नगरसमितीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।
नगरसमितिका कार्यवाहक सभापति शेरसिँह धामीको अध्यक्षमा सम्पन्न भएको उक्त भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अहिलेको केपी ओली नेतृत्वको सरकारले हाम्रो प्रयासलाई पुरा गर्ने नाममा अन्याय, भ्रष्टाचार र कार्यकर्ता पाल्ने काम गर्दैछ।’ ‘अलग देश हुनुपर्छ भनेर रक्तपात गरेको सिके रावतलाई रातो कार्पेट बिछ्याउने सरकारले आफुबाट छुट्टिएर गएको विप्लव समुहले उठाएको मुद्धालाई किन सम्बोधन गर्न सकिरहेको छैन।’
‘सीमामा सैनिक बस्दा चुप लागेको सरकारलाई अब जनताले यो प्रश्न गर्नुपर्छ’ उनले भने ‘पुनः यो देश अशान्तीतर्फ गइरहेको बेला किन सरकारले केही प्रयास गरिरहेको छैन ? यो प्रश्न केपी ओली र प्रचण्डलाई सोध्नुस।’
उनले अहिलेको सरकारले गरेका अनियमितता र लुटको अध्ययन गरेर जनतालाई बुझाउन अनुरोध गरे। सांसद मल्ले सम्पुर्ण कार्यकर्तालाई कांगे्रस बलियो बनाउन अनुरोध गरे।
‘कांगे्रसले गरेका विकास तथा त्यसका लागी गरेका प्रयासका बारेका जनतालाई बुझाउनुहोस’ सभापति मल्ल्ले भने ‘हामीले अहिले गरेका प्रयास बारे पनि जनताका माझमा निर्धक्क भन्नुहोस र कम्युनिष्ट सरकारले देशलाई लुटेको कुरालाई तुलना गर्न लगाउनुहोस, कांगे्रस आफै बलियो बन्छ।’
नेपाली कांग्रेस कसरी बलियो बनाउने भनेर कांगे्रसका समर्थको चिन्ता रहेको बताउँदै उनले गाउँगाउँमा गएर २०४७ सालभन्दा अगाडि र पछिको विकासको अवस्थाको व्याख्या गर्न अनुरोध गरे। ‘त्यो विकास कसले ल्याएको भन्दै जनतालाई बताउनुस र अहिलेके कम्युनिष्ट सरकारले के गर्यो भनेर प्रश्न गर्नुस’ उनले भने।
‘तपाईभित्र रहेको कांग्रेस कसरी बलियो बनाउने भन्ने चिन्ताको म उच्च सम्मान गर्छु, त्यहि चिन्तालाई आफ्नो ताकत बनाउनुहोस’ मल्लले भने ‘अब गुटको राजनितिलाई त्यागेर कांगे्रस बलियो बनाउने चिन्ता लिएर जनताका माझमा जानुस।’