कैलालीमा युवक मृत्यु प्रकरणः अवरुद्ध सडक खुलाउन खोज्दा डिएसपीसहित १० प्रहरी घाइते
धनगढी: शनिबार मोटरसाइकल दुर्घटना भएर युवकको मृत्यु भएको विषयमा कैलालीको लम्कीचुहा नगरपालिका तनावग्रस्त बनेको छ।
शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए। स्थानीयबासीले दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको लम्कीमा यातायात सेवा ठप्प पारेका छन्।
प्रहरीले सडक खुलाउन खोज्दा स्थानीयले ढुङगामुढा गरेपछि इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रु ग्याँस प्रहार गरिएको छ। अहिले सडक अवरुद्ध भएपनि अन्य अवस्था प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ। प्रहरीका अनुसार अहिले त्यसै घटनालाई लिएर इलाका प्रहरी कार्यालय लम्कीमा सर्वदलिय बैठक बस्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिएको आशंकामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ। तर घटना अनुसन्धानकै क्रममा रहेकाले पूर्ण विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ। युवकले चलाएको मोटरसाईकललाई एम्बुलेन्सले ठक्कर दिएको आशंका गरिएको छ।