सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पले टोकेपछि २१ दिन उपचाररत संगीताको मृत्यु, दुई दिनदेखि उठेन शव

२०८३ भदौ २८, ०१:४० खबर संवाददाता

कञ्चनपुर : सर्पले टोकेपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएकी कञ्चनपुरकी ३३ वर्षीया संगीता बडूको उपचारका क्रममा मृत्यु भएको दुई दिन बितिसक्दा पनि शव उठाइएको छैन। परिवारले अस्पतालको उपचारमा लापरबाही भएको आरोप लगाउँदै छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

भीमदत्त नगरपालिका–१० सुकासालकी बडूलाई भदौ ५ गते सर्पले हातमा टोकेपछि महाकाली प्रादेशिक अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा भर्ना गरिएकी उनको अवस्था गम्भीर बनेपछि आईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

तर, २१ दिनसम्म उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन। शुक्रबार राति उनको मृत्यु भएको परिवारले जनाएको छ।

संगीताको मृत्यु भएपछि परिवारले उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि गम्भीर प्रश्न उठाएको छ। मृतककी आमा मञ्जुदेवी बडूले आकस्मिक कक्षमा उपचार सुरु भएदेखि नै लापरबाही भएको आरोप लगाएकी छन्।

उनका अनुसार बिरामीको उपचारमा ढिलाइ गरिएको, अवस्था गम्भीर भएपछि मात्रै आवश्यक उपचार सुरु गरिएको र समयमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध नगराइएको थियो। अन्य अस्पतालमा रेफर गर्नसमेत आनाकानी गरिएको परिवारको आरोप छ।

‘छोरीलाई उपचारका लागि आकस्मिक कक्षमा ल्याएका थियौँ। सुरुदेखि नै लापरबाही गरियो,’ मञ्जुदेवीले भनिन्, ‘अनकलमा रहेका विशेषज्ञ चिकित्सकलाई समेत समयमै बोलाइएन।’

परिवारले चिकित्सकीय लापरबाहीकै कारण संगीताको मृत्यु भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

यता, अस्पतालले भने उपचारमा लापरबाही भएको आरोपबारे छानबिन गर्ने बताएको छ। पीडित परिवारसँग भएको छलफलमा अस्पताल व्यवस्थापन समितिका सदस्य प्रशान्त भट्टले उपचारका क्रममा बिरामीको मृत्यु हुनु दुःखद भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्ने बताए।

‘उपचारकै क्रममा बिरामीको ज्यान जानु आफैँमा दुःखद विषय हो,’ भट्टले भने, ‘घटनाको निष्पक्ष छानबिन हुन्छ। दोषी देखिए कारबाहीका लागि आवश्यक पहल गरिनेछ।’

उपचारमा संलग्न मेडिकल अधिकृत सन्तोष चौधरीले भने आफूले निर्धारित विधिअनुसार नै उपचार र रेफर प्रक्रिया अघि बढाएको दाबी गरेका छन्। आकस्मिक कक्षमा आउने बिरामीको अवस्था हेरेर तोकिएको उपचार प्रक्रिया अपनाइने भन्दै उनले आफूले पनि सोहीअनुसार काम गरेको बताए।

चौधरीले आफूभन्दा सिनियर चिकित्सक टेकनारायण श्रेष्ठलाई बिरामीको अवस्थाबारे पटक–पटक जानकारी गराएको दाबी गरेका छन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले पीडित परिवारबाट लिखित निवेदन आए घटनाको छानबिनका लागि समिति गठन गर्न अस्पताल प्रशासनलाई अनुरोध गर्ने बताए।

‘घटनाको सत्यतथ्य छानबिन हुन्छ। उपचारमा चिकित्सक वा स्वास्थ्यकर्मीबाट लापरबाही भएको पाइए कारबाही हुन्छ,’ पन्तले भने, ‘पीडितले न्याय पाउनुपर्छ। अस्पताल बिरामी निको पार्ने थलो हो। बिरामीको स्वास्थ्यसँग खेलवाड गर्न कसैलाई छुट छैन।’

परिवारले भने छानबिनको निष्पक्षतामाथि विश्वास दिलाउनुपर्ने र घटनाको टुंगो नलागेसम्म शव नबुझ्ने अडान राखेको छ।

अब घटनाको मुख्य प्रश्न उपचारका क्रममा के–कस्तो प्रक्रिया अपनाइयो, विशेषज्ञ चिकित्सकको परामर्श समयमै लिइयो कि लिइएन र रेफर गर्न ढिलाइ भयो कि भएन भन्नेमा केन्द्रित भएको छ।

कमेन्ट लोड गर्नुस