कैलालीमा लम्कीमा फेरी राजमार्ग अवरोध गर्ने प्रयास
कैलालीमा लम्कीमा फेरी राजमार्ग अवरोध गर्ने प्रयास गरिएको छ। शनिबार राती गाडीको ठक्करबाट युवकको मृत्यु भएको भन्दै हिजो विहानैदेखि राजमार्ग अवरुद्ध पारेको समूहले फेरी अवरोध सिर्जना गर्न खोजिरहेको प्रहरीले जनाएको छ।
लम्कीचुहा नगरपालिका वडा नम्बर छ को गुलारा बजारमा राजमार्ग अवरुद्ध गर्न एक समूह बिहानैदेखि सडकमा जम्मा भएपनि अवरोध सिर्जना गर्न नदिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका अनुसार राजमार्ग अवरोध गर्ने समूहलाई सडकबाट हटाउने प्रयास भईरहेको छ तर अहिले सवारी साधन भने सुचारु नै छन्।
शनिबार राती से२प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएकोमा स्थानीयले गाडीले ठक्कर दिएर उनको मृत्यु भएको भन्दै हिजोपनि राजमार्ग अवरुद्ध पारेका थिए।
हिजो प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएपछि राजमार्ग सुचारु गरिएको थियो। प्रहरीले हिजो राजमार्ग अवरुद्ध पार्ने ५ जनालाई नियन्त्रणमा समेत लिएको थियो।