डडेल्धुरामा अपहरण गरी नेकपा गाउँपालिका कमिटि अध्यक्षमाथि कुटपिट
डडेल्धुरामा नेकपा गाउँपालिका कमिटि अध्यक्ष कुटपिटमा परेका छन्। जिल्लाको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो। आज दिउँसो आलिताल गाउँपालिका वडा नंम्बर ३ को बैठकमा सहभागी गईरहेका बेला आलितालकै चौर बण्डमा निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ।
जोशीलाई मुकुण्डो लगाएर आएको समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए। जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ। जोशीलाई उपचारका लागि धनगढी ल्याईएको छ।
उनको से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोड गरिएको छ। जोशीसंगै रहेका नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भाग्न सफल भएको प्रहरीले जनाएको छ। आक्रमण र कुटपिटमा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ। यता नेकपा डडेल्धुराले गाउँपालिका कमिटि अध्यक्ष जोशीमाथि भएको कुटपिटको घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले अहरण र कुटपिट गरी घाईते बनाएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नेकपा डडेल्धुराका सचिव बिरेन्द्र कुमार बस्नेतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा ‘पार्टीले निर्धारण गरेको कार्यक्रममा जानेक्रममा भएको यस्तो कायरतापूर्ण घटनाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० घोर भत्र्सना गर्दछ।’
अगाडी भनिएको छ,‘गैर राजनैतिक तरिकाले आतंककारी शैलीमा गरिएको यस्तो घटनाले हाम्रो पार्टी र पार्टी कार्यकर्ताको मनोवलमा कुनै प्रकारको बिचलन आउने छैन र यस्ता प्रकारका घृणित क्रियाकलाप जो कसैले गरेको भएपनि आफैं जनता र समाजको अगाडि नाङ्गीने छन्।’ अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारवाहीको माग पनि नेकपाले गरेको छ।