हिउँदे बर्षाले धनगढीका सडक हिलाम्य भएपछि आवतजावतमा सास्ती
हिउँदे बर्षाले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकासं सडक हिलाम्य भएका छन्। मंगलवार र बुधवार भएको बर्षाले धनगढी उप–महानगर क्षेत्रका अधिकांश सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको छ।
विभिन्न सडकमा ठूला सवारी साधनहरु फसेका छन् भने हिलाम्या सडकमा दुर्घटनाको जोखिम समेत बढेको छ। निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडक, राजपुर–तारानगर सडक, धनगढी–खुटिया सडक, सहिदगेट–शिवनगर सडक, भन्साररोड–सन्तोषीटोल लगायतका सडकहरुमा आवतजावत निकै कष्टटपूर्ण रहेको राजधानीवासीले बताएका छन्।
धनगढीका प्रेम चौधरीले धनगढीका विभिन्न वडाबाट मुख्य सडकमा जोडिन सबै सडक हिलाम्य भएपछि आवजावतमा सास्ती भएको बताए। उनले भने, ‘एसियाली विकास बैंकको ऋण लगानीमा कार्यन्वयन हुने सडक र सघन सहरी विकास कार्यक्रम, धनगढी उप–महानगरपालिका लगायतका विकासे अड्डाहरुले कालोपत्रेका लागि तयारी अवस्थामा राखेका सडकहरु पनि हिलाम्य भएपछि प्रदेश राजधानीमै आवतजावत गर्न निकै सास्ती भईरहेको हो।’
प्रदेशवासीले अस्थायी राजधानीका अस्तव्यस्त सडकले प्रदेशका ९ वटै जिल्लाको विकासको अवस्था चित्रण गरिरहेको आरोप प्रदेशवासीको छ।