सुदूरपश्चिम प्रदेशसभाः व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयकमाथि छलफल
धनगढी: सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको छ।
छलफलमा भाग लिने सदस्यले सरोकारवाला एवं विज्ञसँग थप छलफल गरेर प्रस्तुत विधेयकका कतिपय बुँदा परिमार्जन गर्न जरुरी देखिएको बताए। उनीहरुले कुनै पनि व्यवसाय गर्न चाहनेको व्यवसाय दर्ताको काम निःशुल्क र सहज ढङ्गको बनाई दर्ता गर्ने बाटो सहज बनाइदिने खालका ऐन कानून बनाउनुपर्ने बताए।
कतिपय सदस्यले कार्यान्वयनमा जान नसक्ने खालका विधेयक ल्याउन नहुने बताए। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका तर्फबाट छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विधेयकमा भएका कमीकमजोरीलाई परिस्कृत गर्न सकिने बताए।
यसअघि उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गरियोस् भनी छुट्टाछुट्टै रुपमा पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो।
विधेयकमाथि भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव रेग्मी, अमरबहादुर साउद, महेशदत्त जोशी र शान्ति नेपाली र प्रतिपक्षी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, कुमारीनन्दा बम र टेकबहादुर रैकाले भाग लिनुभएको थियो। अर्को बैठक यही माघ १७ गते दिउँसो १ बजे बस्ने छ। –रासस