सुदूरपश्चिमका विद्युत प्रमुख कर्णले व्यक्तिगत काममा प्रयोग गरेको गाडी ठोक्कियो
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सतिश कर्णले व्यक्तिगत काममा प्रयोग गरेको गाडी दुर्घटनामा परेको छ। कर्णले प्रयोग गर्दै आएको कार्यालयको बा १ ञ १८०९ नम्बरको सरकारी गाडी विराटनगर घरबाट फर्किदै गर्दा सिन्धुलीमा अर्को प्राईभेट गाडीसंग गत पुषमा ठोक्किएको हो।
व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्न नपाईने भएपनि विद्युत प्राधिकरण अत्तरियाका प्रमुख कर्णले भने घर विदामा गएका बेला समेत प्रयोग गर्दै आएको भेटिएको हो। तर उनले ठोक्किएको गाडीको मर्मत सम्भार खर्च भने कार्यालयबाट लिईरहेको आरोप लागेको छ।
कामको सिलसिलामा गएका बेला गाडी ठोक्किएको देखाउँदै कर्णले मर्मत सम्भारमा अर्को पक्षबाट यसअघि नै लिईसकेको दुई लाख ६२ हजार फेरी कार्यालयबाट लिईरहेको आरोप लागेको हो। तर उनको गाडी विदामा गएका बेला फर्किदै गर्दा ठोक्किएको स्रोतको दावी छ।
कर्ण र उनका सवारी चालककै भनाई बाझियो
विद्युत प्राधिकरण सुदूरपश्चिमका प्रमुखको गाडी व्यक्तिगत काममा गएका बेला ठोक्किएर दुर्घटना भएको भन्ने विषयमा चालक र उनको भनाई बाझिएको छ। दुर्घटनाका विषयमा बुझ्न गाडी चालक भानसिंह कठायतलाई सम्पर्क गर्दा उनले रोकि राखेको अवस्थामा अर्को गाडीले ठोकेको दावी गरे।
कठायतले भने, ‘दुर्घटना होईन् रोकेको गाडीलाई ठोकेको हो।, रोकेको गाडीलाई अर्को गाडी आएर ठोक्यो भने दुर्घटना भन्न मिल्छ र ?’ विद्युत प्राधिकरण प्रमुख कर्णका अनुसार गाडी ठोक्किएको कुरा साँचो हो तर रोकेका बेला नभई चल्दै गर्दा हो।
‘हामी गईरहेका थियौँ उताबाट आएको अर्को गाडीले एक्कासी ठोक्यो।’ कर्णले दिनेश खबरलाई भने। ‘थोरै क्षती पुगेको थियो, ठोक्नेले बनाईदियो अरु क्षती भएको छैन्।’ व्यक्तिगत काम प्रयोजनमा सरकारी गाडी प्रयोग गर्न मिल्छ भन्ने प्रश्नमा कर्णले आफू वितरण केन्द्र नभई प्रादेशिक कार्यालयको हाकिम भएको बताए।
उनले भने, ‘म सातौँ तहको होईन नी प्रादेशिक कार्यालयको प्रमुख हुँ, ठुलो मान्छे हो नी, कार्यालयको काम परिरहेको हुन्छ यताउता जानुपर्छ।’ त्यो दिन पनि कार्यालयकै काममा आफू हिडेको दावी कर्णको थियो।
के काम भन्ने प्रश्नमा कर्णको प्रतिक्रिया थियो, जनकपुर प्रादेशिक कार्यालयका काम थियो, ‘के काम भनेर तपाईलाई भनिरहनुपर्छ र ? ढल्केबर पावर सप्लाईको विषयमा बुझ्न गएको हुँ। ’