डडेल्धुराको अमरगढी नगरपालिकाले तयार पार्यो आफ्नै ‘नगर लोगो’
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले आफ्नै ‘नगर लोगो’ सार्वजनिक गरेको छ। सोमबार अमरगढी नगरपालिकाले आफ्नो २४औँ स्थापना दिवशको अवसरमा ‘नगर लोगो’ सार्वजनिक गरेको हो।
नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएर सार्वजनिक गरेको हो। नगरबासीलाई अपनत्वको भाव जगाएर नगरको समग्र समृद्धिमा लाग्न उत्प्रेरणा जगाउने हिसाबले स्थानीय सरकारलाई संविधानले दिएको अधिकारमा रहेर ‘नगर लोगो’ बनाएको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।
‘नगरपालिकाको समग्र विकास र विशिष्ट पहिचानलाई सुदृढ एवं मजबुत बनाउनका लागि ‘नगर लोगो’ तयार गरेको छ।’ नगरप्रमुख ओझाले भने, ‘नगरपालिकाको समग्र पक्षलाई समेट्ने गरि विशिष्ट पहिचान झल्काउने प्रतिक चिन्ह स्वरूप एउटा नगर लोगो तयार गरेका हौँ।’
लोगोमा नगरपालिका भित्रका ११ वटै वडाहरुलाई देखाउनका लागि ११ वटा लालि गुँरास राखिएको छ। अमरगढी भित्रका धार्मीक तथा पर्यटकीय स्थलहरुलाई चिनाउनका लागि अमरगढी किल्ला, उग्रतारा मन्दिर र घटाल थानलाई पनि राखिएको छ। यस्तै अमरगढी नगरपालिकाको नक्सा र अमरगढी भित्र रहेको महाभारत लेकलाई पनि समेटीएको छ भने सुदूरपश्चिममा पर्ने अपि र सैपाल हिमाललाई पनि समेटिएको छ।
नगर कार्यपालिकाकोे निर्णयअनुसार नगरपालिकाको समग्र विकास र विशिष्ट पहिचानलाई सुदृढ एवं मजबुत बनाउनका लागि ‘नगर लोगो’ तयार पार्न प्रस्ताव पेश गर्न सार्वजनिक आव्हान गरेको थियो। जसमा पत्रकार बरुण पनेरुले बनाएको लोगो उत्कृष्ट भएको थियो। ‘नगर लोगो’ उत्कृष्ट भएपछि पत्रकार पनेरुलाई दोसल्ला र नगद १५ हजार रुपैँया सहित सम्मान गरिएको छ।