सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पताल भवन निर्माणको काम फेरी अलपत्र

२०७६ माघ १२, ०७:३३ जनक विष्ट

सम्झौताको डेढ वर्ष ढिलो गरी सुरु भएको सेती प्रादेशिक अस्पतालको भवन निर्माणको काम फेरी अलपत्र परेको छ। संघिय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाईको उदासिनताका कारण निर्माणको काम फेरी अलपत्र परेको हो।

दुई वर्ष छ महिना भित्र काम सक्नेगरी १८ करोड ७४ लाखमा रबिना एण्ड थेगिम जेभीसंग ठेक्का सम्झौता भएको सेती प्रादेशिक अस्पताल भवनको काम फेरी अलपत्र परेको हो। ठेक्का सम्झौताको डेढ वर्षपछि मात्रै निर्माण सुरु गरेको रबिना एण्ड थेष्मि जेभीले फेरी गत पुषको मध्यबाट भवनको काम अलपत्र पारेको हो।

२०७७ बैशाख सम्ममा निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरिसक्नुपर्ने भवनको काम सम्झौता अवधी सकिन चार महिना बाँकी रहेका बेला ४० प्रतिशतको हाराहारीमा मात्रै भएका छ। निर्माण व्यवसायीसंग सम्झौता गरेको सहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन ईकाई धनगढीको उदासिनताले निर्माणमा ढिलाई भएको हो।

तर आयोजनाका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले भने निर्माण व्यवसायीका कामदार माघी मनाउन विदामा गएकाले काम रोकिएपनि लामो समयदेखि अलपत्र नपरेको दावी गरे। उनका  अनुसार निर्माण अवधी सकिन चार महिना मात्र बाँकी रहेका बेला भवनको ३० देखि ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।

भौतिक संरचना अभावमा सेवा प्रवाहमा समस्या खेपिरहेको सेती प्रादेशिक अस्पतालले शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरिरहेको उक्त भवन समयमै बनेमा सहज हुने अपेक्षा गरेको थियो। तर सुरुदेखि नै निर्माण हुदै आएको ढिलाईका कारण निर्धारित समयमै काम सम्पन्न नहुने देखिएपछि थप समस्या हुने देखिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निर्माणाधिन भवन सम्पन्न भई हस्तान्तरण भए सेवा प्रवाहमा सहज हुने बताए। पाण्डेले नयाँ भवनका सबै ब्लक बनेमा गाईनो वार्ड, नवजात शिशु वार्ड सारेर थप सेवा विस्तार गर्ने योजना रहेको सुनाए।

तर निर्माणमा ढिलाई भए विरामीको चापका कारण व्यवस्थापनमा समस्या हुने उनी बताउँछन्। तर नियमनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणको कामलाई तिव्रता दिन सकेको छैन्। सुरुवाती चरणदेखि नै काममा ढिलासुस्ती र लापरवाही गर्दै आएको निर्माण व्यवसयाी सामू शहरी विकास तथा भवन निर्माण विभाग निरिह बनेको हो।

भवन निर्माणको कामलाई तिव्रता दिनुको सट्टा निर्धारित समयमै सम्पन्न नहुने देखिएपछि तीनै निर्माण व्यवसायीका लागि समय थप गर्ने मनस्थितीमा रहेको छ। विभागका इन्जिनीयर बुढाथोकीले बैशाखभित्र काम सम्पन्न नहुने देखिएकाले अवधी बढाउनुपर्ने देखिएको बताए।

सुरुदेखि नै ढिलाई गर्दै आएका निर्माण व्यवसायीलाई ताकेता गर्दा पनि वेवास्ता गरिएको दावी गरिएको छ। सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अस्पतालमा प्रदेशभरीबाट विराम उपचारका लागि आउने गरेका छन्। ५० शैया सरकारबाट र ७५ शैया आन्तरिक स्रोतबाट सञ्चालनमा रहेको अस्पतालमा ठाँउ अभाव भएपनि अहिले २ सय ४० शैया राखेर सेवा दिईरहेको छ।

तरपनि एउटै शैयामा दुई दुई जना विरामी राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको छ । तर निर्माण व्यवसायीले भने भवन निर्माणमा ढिलाई गरिरहेका हुन्। काममा ढिलाई भईरहेको विषयमा प्रतिक्रिया लिन रविना एण्ड थेगिम जेभीका इन्जिनीयर सुनिल थापालाई सम्पर्क गरिएपनि उनको फोन उठेन।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस