सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन कैलाली आउँदै

२०७६ माघ ११, ०१:४९ खबर संवाददाता

गत कात्र्तिकमा काठमाडौँमा स्थापना गरिएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुन कैलाली आउने भएका छन्। आविष्कार केन्द्रको महाअभियान बारे जानकारी दिन एवंम विभिन्न संस्थाले संकलन गरेको सहयोग राशि बुझ्न पुन आउँदो माघ १६ गते कैलाली आउने भएका हुन्।

पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू नेपालगञ्ज हुँदै कैलालीको चिसापानी सम्म आउन लागेको जानकारी दिएका छन्। उनले नेपालगञ्ज सहित कैलालीको चिसापानीमा राष्ट्रिय आविष्कार केन्द्रको महाअभियानको बारेमा अनौपचारिक अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी दिदै छलफल गर्ने कार्यतालिका रहेको जनाएका छन्।

यस्तै चिसापानीमा हुने कार्यक्रममा लम्कीको खप्तड इन्टरनेशल कलेज फर होटल म्यानेजमेनले सञ्चालन गरेको चिसापानी एडभेन्चर रिर्सोटले आष्किार केन्द्रको सहयोगार्थ विभिन्न क्षेत्रबाट संकलन गरेको रकम हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ।

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा गत कार्तिकमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरिएको छ।  जनस्तर र विदेशीको सहयोगमा करिव आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो।

नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको हो। नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको पुनले बताउँदै आएका छन्।

केन्द्रमा अहिले२० वटा प्रोजेक्ट संचालनमा आएका छन। ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको केन्द्रले जनाएको छ। केन्द्रले चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ।

त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका सहरमा काम सुरु गरिएको छ। केन्द्रले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सिर्जना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीको सहायता गर्दै आएको छ। नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका युवा वैज्ञानिक पुनले सो राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको नेतृत्व गरेका हुन्। 

 

कमेन्ट लोड गर्नुस