लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती
बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो। सुरुमा सामान्य परम्परागत खेती गर्दै आउनुभएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उहाँको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ।
सदरमुकाम मार्तडी नजिकै गडखेतका लालबहादुर हरेक दिन बिहानदेखि साँझसम्म तरकारी बारीमै व्यस्त छन्। उनले हाल करिब १२ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आएका छन्।
“सुरुमा तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ भन्ने विश्वास कम थियो । गाउँघरमा परम्परागत रूपमा अन्नबाली लगाउने चलन रहेकाले व्यावसायिक खेतीतर्फ किसानको खासै आकर्षण थिएन,” उनले भने, “अहिले भने आफूले उत्पादन गरेको तरकारीबाट आम्दानी हुन थालेपछि अन्य किसान पनि यसतर्फ आकर्षित भएका छन्।”
सहरबाट फर्किएर गाउँमै उद्यम
लालबहादुर विसं २०७५ मा बाजुराबाट सङ्घीय राजधानी काठमाडौँ गए। नेपाली सेनामा कार्यरत उहाँकी साली पुनम रावलले तरकारी खेती गर्न काठमाडौँ आउन आग्रह गरेपछि लालबहादुरले पाँच वर्ष त्यतै व्यावसायिक तरकारी खेती गरे।
“तीन रोपनी क्षेत्रफलमा १५ वटा टनेलमा तरकारी खेती गरिरहेको थिए। त्यहाँ बजारको कुनै समस्या थिएन, बारीमै बिक्री हुन्थ्यो। त्यो बेचेर वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन्थ्यो। दुईवटा गाई थिए, दिनमा ३५ लिटर दूध बेच्थेँ, राम्रो थियो,” ऐडीले भने।
काठमाडौँमा सेवासुविधा र बजारको सहजता भए पनि आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले उहाँ पुनः गाउँ फर्किए। गाउँ फर्किएपछि व्यावसायिक खेती गर्ने सोचका साथ उनले हिमाल बहुउद्देश्यीय कृषि फार्म दर्ता गरे। केही आफ्नै जग्गा र केही भाडामा लिएर उहाँले गोलभेँडा, लौका, काँक्रो, प्याज, काउली, बोडीलगायत विभिन्न किसिमका तरकारी लगाएका छन्।
वार्षिक १५ लाखको तरकारी बिक्री
व्यावसायिक खेतीमा जमेका लालबहादुरको बारीबाट वार्षिक रु १५ लाख बराबरको तरकारी बिक्री हुने गरेको छ। उत्पादित तरकारी सदरमुकाम मार्तडी, बाम्का लगायतका बजारमा बिक्री गर्ने गरेको उनले बताए। उत्पादन भएको तरकारी घरमै आएर खरिद गर्ने व्यापारीदेखि स्थानीय बजारसम्म पुग्ने गरेको उनको भनाइ छ।
उनको बारीमा सबैभन्दा बढी गोलभेँडा छ। दैनिक ५० किलोसम्म बिक्री हुने गरेको उनले बताए। सबै तरकारी बिक्रीबाट वार्षिक रूपमा रु आठ लाख बचत हुने गरेको उनले सुनाए।
परम्परागत रूपमा अन्नबाली उत्पादन गर्दै आउनुभएका ऐडीले त्यसबाट हुने आम्दानीको तुलनामा तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताए। थोरै क्षेत्रफलमा मेहनत र लगानी गर्न सके तरकारीबाट छोटो समयमै आम्दानी लिन सकिनेमा उनी ढुक्क देखिन्छन्।
मेहनतअनुसार आम्दानी हुने भएकाले आफूलाई यो काममा सन्तुष्टि मिलेको उनको भनाइ छ। “यसमा काम धेरै छ, तर मेहनत गरेअनुसार आम्दानी पनि हुन्छ,” उनले भने, “आफ्नै जमिनमा परिवारका सदस्य मिलेर काम गर्न सकिने भएकाले बाहिर गएर रोजगारी खोज्नुपर्ने वाध्यता हुँदैन।”
गाउँभरि फैलियो तरकारी खेती
गडखेतमा ३५ परिवार बसोबास गर्दै आएका छन्। तीमध्ये हाल २५ परिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन्। उनीहरूको मुख्य आम्दानीको स्रोत नै तरकारी बन्न थालेको छ।
ऐडीले सुरु गरेको व्यावसायिक खेती अहिले उहाँको व्यक्तिगत व्यवसायमा मात्रै सीमित छैन। उनको सफलताबाट प्रभावित भएर गाउँका अन्य किसानले पनि त्यसलाई अनुसरण गरेका छन्। यसले गाउँमा तरकारी उत्पादनको क्षेत्र विस्तार हुनाका साथै किसानको आयआर्जनको स्रोत बढाएको छ।
लालबहादुर काठमाडौँबाट गाउँ फर्किएर व्यावसायिक तरकारी खेती गर्ने गाउँकै पहिलो व्यक्ति थिए। निर्वाहमुखी रूपमा सबैले उत्पादन गरे पनि व्यावसायिक रूपमा खेती गर्ने कोही थिएनन्। जब लालबहादुरले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थाले, त्यसपछि गाउँका धेरैजसो बारीमा टनेल देखिन थालेका छन्। “सुरुमा मैले मात्रै तरकारी खेती गरेको थिएँ,” ऐडीले भने, “तरकारी बिक्री गरेर राम्रो आम्दानी हुन थालेपछि गाउँका अरू किसानले पनि यसबाट राम्रो आम्दानी हुने रहेछ भन्ने ठानेर सुरु गरे। यो मेरा लागि गौरवको विषय हो।”
एक जनाबाट सुरु भएको व्यावसायिक खेती विस्तार हुँदै गएपछि अहिले गाउँको पहिचान नै बदलिएको छ। खेतबारीमा देखिने टनेल, दैनिक बजार जाने तरकारीका भारी र त्यसबाट भइरहेको आम्दानीले गडखेतलाई तरकारीको पकेट क्षेत्रका रूपमा चिनाउँदै लगेको छ।
“मेरो दैनिक तीन भारीसम्म हुन्छ, अरूले एक–दुई भारी बजार पठाएकै हुन्छन्,” लालबहादुरले भने, “गाउँका सबै खुसी छन्। सीप सिकेर खान पायौँ, बिक्री गर्न पायौँ भनेर धन्यवाद दिइरहेका छन्।” गाउँका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न ऐडीले आफ्नो अनुभव पनि बाँड्दै आएका छन्। कुन समयमा कुन तरकारी लगाउने, कसरी खेत तयार गर्ने, उत्पादन बढाउन के कुरामा ध्यान दिने लगायतका विषयमा आफूले जानेका कुरा अरू किसानलाई बताउने गरेको उनले सुनाए।
रोजगारी र आम्दानीको आधार
तरकारी खेती लालबहादुरका लागि केवल आम्दानीको माध्यम मात्रै बनेको छैन, परिवारको रोजगारीको आधार बनेको छ। वर्षभरि खेतबारीमा काम गर्नुपर्ने भएकाले परिवारका सदस्यलाई कामको अवसर मिलेको छ।
विदेश वा सहरमा रोजगारी खोज्नुभन्दा आफ्नै गाउँमा व्यावसायिक कृषि गर्न सके आम्दानीको राम्रो स्रोत बनाउन सकिने उनको बुझाइ छ। तरकारी खेतीबाट नियमित आम्दानी हुन थालेपछि कृषि पेसाप्रति उहाँको विश्वास बढेको छ। “आफ्नै गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मेरो अनुभव हो,” उनले भने, “तरकारी खेतीलाई व्यावसायिक रूपमा गर्न सक्ने हो भने परिवार पाल्न र आम्दानी गर्न समस्या हुँदैन।”
आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहेको उनले सुनाए। बजारको मागअनुसार उत्पादन विस्तार गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्ने उनको सोच छ। उनलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साथ मिलेको छ। कृषि ज्ञान केन्द्र, बडीमालिकाले अनुदानमा वार्षिक टनेल तथा बीउ उपलब्ध गराउँदै आएको छ।
‘तरकारीमा आत्मनिर्भर बन्ने बाटोमा छ बाजुरा’
कृषि ज्ञान केन्द्रका अनुसार बाजुरा अझै तरकारीमा आत्मनिर्भर हुन सकेको छैन। अन्य समयको तुलनामा बेमौसमी ‘सिजन’मा बाहिरबाट जिल्लामा आयात हुने गरेको छ। मौसमी सिजनमा भने निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताए।
“मुख्य गरी पुस–माघ चिसो महिनामा बाहिरबाट तरकारी भित्रिने गरेको छ,” उनले भने, “अन्य समयमा भने निर्यात हुने गरेको छ। अब बिस्तारै बाजुरा तरकारीमा आत्मनिर्भर बन्दैछ ।” जिल्लाका नौवटै स्थानीय तहका विभिन्न स्थानमा व्यावसायिक खेती भएकाले विगतको तुलनामा आयात क्रमशः घट्दै गएको न्यौपानेले बताए।
उनका अनुसार आर्थिक वर्ष २०८१-८२ मा जिल्लामा ५० लाख ७२ हजार २६७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो। गत आर्थिक वर्षको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै उनले उत्पादन बढ्ने अनुमान गरिएको बताए।