सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ५ करोड अनुदानमा खरिद गरिएका कृषि औजार हराए, सञ्चालक सम्पर्क बिहिन

२०७६ माघ ९, ०६:४७ कमल सावद

कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत निर्माण गरिएका करोडौँका संरचना बर्षाैदेखि प्रयोग बिहिन भएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा लागु भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत झण्डै ५ करोड बजेटमा निर्माण गरिएका सबै संरचना बर्षाैदेखि प्रयोग बिहिन भएका हुन्।

जिल्लाको उदासिपुरमा झण्डै एक हजार हेक्टर क्षेत्रफलमा सुरु भएको गहुँ सुपरजोन परियोजना अन्तरगत कृषि औजार तथा विभिन्न उपकरण खरिदका लागि अनुदान दिईएको थियो। परियोनना अन्तरगत जिल्लाको मसुरीया र आसपासको क्षेत्रमा स्थापना भएका दुई वटा कष्टम हायरिङ सेन्टर, एउटा पोष्ट हार्भेष्ट सेन्टर, एउटा प्राङगारिक तथा जैविक मल कारखाना र एउटा माटो परिक्षण प्रयोगशाला (मिनि ल्याब) अहिले सञ्चालनमा छैनन्।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वय इकाई गहुँ सुपरजोन कैलालीका प्रमुख टीकाराम थापाले पनि हायरिङ सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, प्राङगारिक तथा जैविक मल कारखाना र मिनि ल्याब स्थापना भएपनि सञ्चालनमा नरहेको स्विकार गरे।

‘कष्टम हायरिङ सेन्टरमा चार ट्रयाक्टर, थ्रेसर, धान रोप्ने मेसिन, रिपर मेसिन, पावर टीलर लगायतका कृषि औजार तथा उपकरण खरिदमा अनुदान दिएका थियौँ,’ उनले भने, ‘तर अहिले ती कृषि औजार उपकरण हायरिङ सेन्टरमा छैनन्। सञ्चालकलाई पटक–पटक हायरिङ सेन्टरमै कृषि औजार राख्न अनुरोध गरेपनि उनीहरुले फिल्डमा औजार रहेको भन्दै पन्छिने गरेका छन्।’

उनका अनुसार हार्भेष्ट सेन्टरका लागि एक करोड ८२ लाख अनुदान पाएको स्वर्गद्धवारी मल्टी एग्रो प्रालीले ट्रयाक्टर, मीन ट्रक, पिस्ने मेसिन खरिद गरेको भनिएपनि सञ्चालनमा छैन्। प्राङगारिक तथा जैविक मल कारखाना स्थापनाका लागि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसायी प्रालीलाई १९ लाख ५५ हजार अनुदान दिइएको थियो।

विद्युतको समस्याको कारण देखाउदै कारखाना सञ्चालन नगरिएको परियोजनाले जनाएको छ। माटो परिक्षण प्रयोगशालाका लागि अँखुवा कृषि तथा सहकारी संस्था लिमिटेडले २१ लख अनुदामा पाएको थियो। तर प्रयोगशाला  अहिले सम्म सञ्चालनमा आएको छैन्। 

एक करोड चार लाखमा स्थापना गरिएको एउटा कष्टम हायरिङ सेन्टर कोमल रोकाया सञ्चालक रहेको रोशनी एग्रो प्रालीलाई स्थापना गर्न अनुदान दिईएको थियो भने एउटा दिपेन्द्र गिरी सञ्चालक रहेको बिराज एग्रो प्रालीलाई स्थापनाको जिम्मा दिईएको थियो।

पोष्ट हार्भेट सेन्टर भने धनवहादुर चौधरी सञ्चालक रहेको स्वर्गद्वारी मल्टी एग्रो प्रालीले स्थापना गर्ने जिम्मेवारी पाएको थियो। यस्तै मल कारखना रामबहादुर रावत सञ्चालक रहेको सुदूरपश्चिम महोन्याल कृषि तथा पशुपालन व्यवसाय प्राली र मिनी ल्याव नरसिंह सार्की सञ्चालक रहेको अँखुवा कृषि सहकारी सस्थाले स्थापना गर्ने जिम्मा पाएको थियो।

अहिले अधिकासं सञ्चालक सम्पर्क विहिन छन् भने केहीले सञ्चालनमा रहेको दावी गरेका छन्। विराज एग्रो प्रालीका सञ्चालक दिपेन्द्र गिरीले सबै औजार उपकरण हायरिङ सेन्टरमा भएको दावी गरे। उनले भने, ‘मैले सञ्चालन गरेको हायरिङ सेन्टरमा औजारहरु छन्। अर्को हायरिङ सेन्टरमा औजार हराएको मैले पनि सुनेको छु।’

माटो परिक्षण प्रयोगशाला सञ्चालन गर्दै आएका नरसिंह सार्कीले पनि सिजन अनुसार प्रयोगशाला सञ्चालनमै रहेको दावी गरे। तर चार संरचना निर्माण गर्न र सो भित्र कृषि औजार र उपकरण राख्नका लागि ५ करोड सरकारी अनुदान दिईएपनि अहिले उक्त अनुदान बालुवामा पानी जस्तै भएको छ। ति औजार र उपकरणबाट किसानहरुले लाभ लिन नसकेको गुनासो गरेका छन्। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस