सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर समेत फर्किन नपाएर अस्ताएका धनगढीका हर्क सर

२०७६ माघ ७, ०२:४६ नवराज पनेरु

डोटी र कैलालीका विभिन्न विद्यालयमा अध्यापन गरेरै ३५ बर्ष बितिसकेको थियो। तीन दशक त धनगढीको फुलवारीमा रहेको ईन्द्रोदय आधारभुत विद्यालयमा प्रधानाध्यापक भएरै बित्यो। दुई छोरा पढाई सकेर जागिरे भईसकेका थिए।

डेढ बर्ष अगाडी सम्म धनगढी फुलवारीका हर्कवहादुर घर्तीको दैनिकी हासीखुसी नै चलिरहेको थियो। तर एकाएक सबै फेरियो, न छोराहरुको जागिर रह्यो न तीन दशक सम्म कमाएको सम्पत्ति नै। जब डेढ बर्ष अगाडी हर्कवहादुरलाई आफ्नो रोग बारे जानकारी भयो। 

स्वास्थ्यमा समस्या रहेको अनुभुती भएपछि ३/४ बर्ष अगाडि सम्म हर्कबहादुरले धनगढीमै पटक–पटक चेकजाँच गराउँदा बाथरोगको आशंका गरियो। डाक्टरको आशंकापछि हर्कबहादुर बाथरोगकै औषधी खान्थे।

हर्कबहादुरका जेठो छोरा मनोजलाई अहिले पनि सम्झना छ, जब डेढ बर्ष अगाडि मात्रै हर्कबहादुरको दाँतबाट पहिलो पटक ब्लीडिङ भएको थियो। चेकजाँचका लागि उनलाई नेपालगञ्ज लगियो र त्यहाँ डाक्टरले मृगौलामा समस्या रहेको आशंका जनाए।

थप उपचारका लागि नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँ लगिएपछि हर्कबहादुर मात्रै होईन परिवारका सदस्य र आफन्तलाई पनि अचम्मित पार्दै डाक्टरले हर्कबहादुरका दुबै मृगौला फेल भईसकेको सुनाए। 

दुबै मृगौला फेल भएको थाहा पाएपछि हर्कबहादुर एक पटक पनि घर फर्किन पाएनन्। संघीय राजधानीमै रहेका विभिन्न अस्पतालमा डायलासिस गराउँदा गराउँदै उनको दैनिकी बित्न थाल्यो। जेठो छोरा मनोज पढाई सकेर जागिर गरिरहेका थिए भने कान्छो छोरा दिलिप पनि स्वास्थ्य सहायक पढेर जागिरे भईसकेका थिए।

तर बुवाको उपचारका लागि पनि समय दिनपर्ने भएपछि कान्छो छोराले जागिर छोडे। अस्पतालरमा हेमोडायलासिसको व्यवस्था थियो। हेमोडायलासिस मेसिनको सहयोगमा मृर्गौला रोगीको रगत शुद्ध गर्ने पद्धति हो।

यो पद्धतीमा शरीरबाट रगत निकालेर मेसिनमा पठाइन्छ भने मेसिनले रगतको शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउँछ। केही समय काठमाडौँमै भाडाको कोठामा पेरिटोनियल डायलासिस (पिडी) पनि गर्न थालियो। पिडी डायलासिस त हर्कबहादुरका कान्छा छोरा दिलिपले समेत गर्न सिकिसकेका थिए।

यो पद्दतिअनुसार डायलासिस गर्दा मृर्गौला रोगीको पेटमा पाइप राखिन्छ, पेटभित्र गएको पाइपमा पानी हालिन्छ। त्यो पानी परिवर्तन भएर शरीरबाट फोहोर निकालिदिन्छ। तर दुबै मृगौला फेल भईसकेका विरामीको लागि डायलासिस नै पर्याप्त थिएन्।

हर्कबहादुरको जिउने चाहना र परिवारको जिवीतै राख्ने अठोटका कारण मृगौला प्रत्यारोपणका लागि पहल थालियो। हर्कबहादुरकै भाई नाता पर्ने एक जनाले मृगौला दिने ईच्छा पनि व्यक्त गरे। उनले ईच्छापछि प्रत्यारोपणका लागि चेकजाँच पनि गरियो।

तर केही समय पछि उनले मृगौला दिन अस्विकार गरिदिए। हर्कबहादुरका छोरा मनोजले भने, ‘सुरुमा मृगौला दिने ईच्छा व्यक्त गरे। तर पछि उनको मन फेरीयो। डाक्टरले पनि अन्तिम समयमा मृगौला दिन नमानेपछि झन समस्या हुन्छ भने। तर पनि हाम्रो आश जिवितै थियो।’

त्यसपछि मृगौला प्रत्यारोपण केन्द्रमा समेत नाम दर्ता गरियो तर पालो भने ६ सयौँ स्थानमा आउने भयो। यस्ले हर्कबहादुरलाई मात्रै होईन उनका परिवारका सदस्यलाई पनि मृगौला प्रत्यारोपण हुनेमा आशंका पैदा गरिसकेको थियो। कान्छो छोरा दिलिपले भने, ‘यो सबै गर्दा बुवाको उपचारमै झण्डै १५ लाख बढि खर्च भईसकेको थियो। डायलासिस सेवा त निशुल्क थियो तर काठमाडौँमा बसेर अस्पतालमा धाउँदा कम समस्या भएन।’

त्यो समय सम्म सायद हर्कबहादुरलाई धेरै बाचिन्न जस्तो लागिसकेको थियो। त्यसैले उनले केही समय अगाडि मात्रै तीन दशक सम्म पढाएको विद्यालयमा आउने चाहना राखेका थिए। विद्यार्थीहरुसंग अन्तिम पटकका लागि भएपनि भेट्ने मन बनाएका थिए। आफुलाई सन्चो नभएपनि गाउँलेलाई सन्चो बेसन्चो सोध्ने सोचेका थिए।

तर शरिरले साथ दिएन र उनी पुस २६ मा सधैका लागि भगवानको प्यारो भए। तर उनको योगदान भने फुलवारीवासीले सधै सम्झिरहनेछन्। धनगढी फुलवारी स्थित आफ्नै घरमा बुबाको किरियामा बसेका हर्कबहादुरका छोराहरु भन्दै थिए, ‘यस्तो रोग त दुष्मनलाई पनि नलागोस।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस