सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटियो

२०७६ माघ ६, ०९:०५

चीनको वुहान सहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’ को सङ्क्रमण दक्षिण कोरियामा पनि पहिलो पटक भेटिएको छ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोनाभाइरस’ पुष्टि भएको हो। अस्पतालमा अन्य विरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ। 

उक्त रोगको सङ्क्रमण जनवरीको सुरूमा वुहानबाट पत्ता लागेको थियो। यो जिबाणु सङ्क्रमित विरामी निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएजस्तै देखिने गर्छ।

यसैबीच चीनमा ‘कोरोनोभाइरस’का कारण सोमबारसम्म तीनको मृत्यु भएको छ । चीनले करिब १४० जनामा यो रहस्यमयी रोग लागेको पुष्टि गरेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीले उक्त रोगको सङ्क्रमण बेइजिङमा सोमबार दुई जनामा फेला परेको र क्वाङडोङमा पनि एक विरामीमा सो समस्या पाइएको बताए। यसले ‘कोरोनोभाइरस’को सङ्क्रमण वुहानबाट अन्य सहरमा पनि फैलिएको पुष्टि भएको छ।

यो रोगको सङ्क्रमण जापानमा एक र थाइल्याण्डका एक व्यक्तिमा भएको ती मुलुकका अधिकारीले यस पहिले नै जनाएका थिए। -रासस

कमेन्ट लोड गर्नुस