सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तान र अफगानिस्तानमा हिमवर्षा: कम्तीमा १३० जनाको मृत्यु

२०७६ पुष २९, १०:३५

पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन्।

पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा अधिकांशको हिम पहिरोमा परी मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले विपत् व्यवस्थापन अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेका छन्। 

“पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा मात्रै हिमपातका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन,” प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीले एक विज्ञप्ति जारी गरी बताएका छन्।  “हिमपातका कारण नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ। यहाँ कैयौँ मानिस हिमपातका कारण फसेका छन् भने बलोचिस्तानमा ३१ जनाको ज्यान गएको बताइएको छ।” 

दक्षिण एशियाली मुलुक अफगानिस्तानमा पनि हिमपात र हिमपहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले पुष्टि गरेको छ। हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ। 

दुबै देशमा हिमपातपछि हिमाली तथा पहाडी त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन्। उक्त क्षेत्रमा उद्धार टोलीहरू पुगिरहेका छन्। हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या अझ निकै बढ्नसक्ने बताइएको छ। -रासस
 

कमेन्ट लोड गर्नुस