सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्तित्व बचाउन पृथ्वीनारायण शाहको दर्शनलाई फलो गरौँ

२०७६ पुष २७, १२:५३ खबर संवाददाता

भुवन कठायत – पौष २७ गते नेपालको इतिहासमा त्यो स्वर्णिम दिन हो। जुन दिन आजको ऐतिहासिक एकीकृत नेपाल र स्वाभिमानी नेपाली हुनुको आशिर्वाद एक महापुरुषको रुपमा ल्याएर आएको दिन हो। जतिवेला झण्डै आठ सय पाँच विश्व बेलायत साम्राज्यवादद्वारा शासित थियो र बाँकी रहेको भुगोल पनि उनीहरूकै दास बन्ने क्रममा थियो।

त्यस बेला विश्वको एउटा सानो, गरिब र गन्तीमा नै नरहेको देशको एउटा सानो गणराज्यको राजकुलमा पहिलो एक मात्रै त्यस्तो चेतना भएका व्यक्तिको जन्म भयो। जसले ती तानाशाही, दमानकारी र शक्तिभोगी विस्तार वादीका विरुद्ध एउटा सफल दर्शन दिए।

जुन दर्शनको कुशल कार्यान्वयन गरी आफ्नो मातृभुमी, राज्य र जनताको सिर इतिहासमै कहिल्यै र कसै सामु नझुक्ने गरि ठाडो पारिदिए। ती महापुरुष हुन गोरखाका राजा श्री ५ वडा महाराज धिराज पृथ्वीनारायण शाह। पृथ्वीनारायण शाह र उहाँकै रणनीति र ज्ञानको परिणाम स्वरूप आजको नेपाललाई विश्वले गोर्खेको देश र नेपालीलाई वीर गोरखाली भनेर चिन्दछ।

त्यसैले आज हरेक नेपालीले विश्वमा आफु वीर गोर्खाली भनेर कहलिन पाउनुको सौभाग्य प्राप्त भएको छ। जति बेला आजको नेपाल अस्तित्वमा थिएन र आजको काठमाडौं अज्ञात थियो, त्यस बेला एउटा सानो पहाडी राज्य गोरखाका राजा थिए उनी।

पृथ्वीनारायण शाहले तत्कालीन छिमेकी विशाल देश भारत र अन्य देशमाथिको ब्रिटिस साम्राज्यवादीको कब्जा र दमन राम्रोसंग बुझेका थिए। त्यसैले उनले आफु त्यसबाट बाच्न र उनीहरु विरुद्ध संघर्ष गर्न आफुसँग सैन्य बल र हातहतियार पर्याप्त नरहेको कुरा बुझि शक्ति एकिकरणको अभियानमा अगाडी बढे।

त्यसका लागि उनले पुर्वदेखि पश्चिम कर्णाली सम्म फैलिएर रहेका स–साना बाइसेचौबिसे गण राज्य एकिकरण गरेर एउटा विशाल राज्य र ठुलो सैन्य बल निर्माण गरे। यसरी उनले सबै स–साना राज्य एकिकरण गरेर सेना र शक्ति केन्द्रिकरण गरे। पुर्व उपत्यकादेखि पश्चिम महाकाली सम्मका सबै राज्य समावेश गरी एउटा विशाल नेपालको निर्माण गरे।

फलस्वरूप नेपालको इतिहासमा उहाँलाई राष्ट्र निर्माता भनेर चिनिन्छ। अनि एकतामा बल हुन्छ भन्ने मान्यता अनुरुप साधारण र घरेलु हातहतियार र अपर्याप्त सैन्य संयन्त्रका बाबजुद पनि पटक–पटकको अंग्रेजको आफ्नो राष्ट्रियता माथिको हमलालाई परास्त गरे। र आफ्नो भुमिलाई कसैको पनि उपनिवेश हुनबाट सधैं रक्षा गरिरहे।

तर आजको अवस्थामा आइपुग्दा देशमा कुपुत नै कुपुत जन्मे। पुर्खाको योगदान र विरता सबै बिर्से। देश र राज्य सत्ता अराष्ट्रिय र राष्ट्र विरोधी तत्वहरुका हातमा गयो। आज चरम लोकतान्त्रिक र गणतान्त्रिक युगमा आइपुग्दा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई एउटा खलनायकको रुपमा प्रस्तुत गर्ने दुस्प्रयास गरिदैछ।  

जसले सदैव देशको सिर र देशको झण्डा सधैं उचो राख्न सिकाए, जसले आफ्नो स्वाभिमान, सार्वभौमिकता, राष्ट्रिय अखण्डता  र स्व–अस्तित्वको रक्षा गरिरहनुपर्छ। कसैको पनि दासता कदापी स्वीकार्न हुँदैन भन्ने ज्ञान र दर्शन दिएर जानुभयो आज उहाँमाथि नै पटक–पटक राष्ट्र स्तरबाटै अपमान जनक हमला गरिदैछ।

उहाँले नै निर्माण गरेर जानुभएको देशमा उहाँको नै जन्म जयन्तीमा दिइने विदा नै कटौती गर्ने दुस्साहस गरियो। प्रजातान्त्रिक राजा पृथ्वीनारायण शाहका तस्बिरमा थुकियो, मुर्ति फुटाइए, उहाँका सालिक ढालिए। एक प्रजातान्त्रिक राजालाई शोषक, सामन्ती र पुर्वाग्राही अनि विस्तारवादी राजाको नाम दिइयो।

यो कुन हद सम्मको वदनियतता होर अन्याय हो ? यो नेपाली इतिहास माथिको हदैसम्मको हमला हो। नेपालमा बसेर विदेशी शक्तिहरुको चम्चागिरि गर्ने, उनीहरूको हड्डी घिचेर आफ्नो राष्ट्र र राष्ट्रियताको अपमान गर्ने जुनसुकै व्यक्ति पनि नेपाली हुँदै होइनन् र ? हुनै सक्दैनन।

विदेशीको भाडामा बसेर आफ्नो देशको अपमान गर्ने, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा थुक्ने,  सालिक भत्काउने र राष्ट्रिय विभुतिहरुको अपमान गर्ने जुनसुकै व्यक्ति पनि नेपाल र नेपालीका शत्रु हुन। तिनिहरुलाई उहाँले आर्जेको भुमिमा बस्ने नैतिक र भौतिक कुनै अधिकार छैन।

अन्तमा 
नेपाली इतिहासका महानायक श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाह प्रति कोटि कोटि नमन साथै उहाँको जन्म जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपालीमा एकताको कडिमा बाधिएर उहाँले जोगाएर गएको स्व–अस्तित्व, सार्वभौमिकता र राष्ट्रिय अखण्डतालाई कायम राख्ने प्रेरणा मिलोस भनी कामना गर्दछु।
 

कमेन्ट लोड गर्नुस