छोरीको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई सहयोग
धनगढी: छोरीको जन्मदिनको अवसरमा धनगढीको एक दम्पतीले दृष्टि फाउण्डेसनलाई सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका– १ का सुरेश हमाल र सपना हमालले आफ्नी छोरी सभ्यता हमालको जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई खाद्यान्न र जाडोका कपडाहरु वितरण गरेका हुन्।
छोरीको २०औं जन्मदिनको अवसरमा हमाल दम्पतीले दृष्टि फाउण्डेसनमा बस्दै आएका मानसिक सन्तुलन गुमाएका महिलाहरुका लागि ३५ थान कम्मल, एक कट्टा चामल र एक पेटी तेल सहयोग गरिएको हो। हमाल सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष हुन। उनकी छोरी सभ्यता हाल वङलादेशमा एमवीवीएस अध्ययनरत रहेकी छिन्।
वेसहाराको सहारा बनिरहेको दृष्टि फाउण्डेसनको बारेमा जानकारी पाएपछि मानसिक अवस्था ठीक नभएका महिलाहरुलाई राहत होस भनेर छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको सभ्यताका बुबा सुरेश हमालले बताए। उनले हरेक महिनाको २३ गते मासिक रुपमा एक कट्टा चामल र एक पेटी तेल दिने प्रतिबद्धता जनाए।
पार्टी गरेर पैसा सक्काउनुभन्दा सानो भएपनि सहयोग गर्नु पर्छ भन्ने संदेश दिनका लागि छोरीको जन्मदिनको अवसरमा सहयोग गरेको सभ्यताकी आमा सपना हमालले जानकारी दिईन्। जन्मदिन, वैवाहिक बर्षगाठ र पुण्यतिथिका अवसरमा दिईने सहयोगको भरमा फाउण्डेसन सञ्चालन भईरहेको सञ्चालक कल्पना भट्टले बताईन।
उनले सरकारी क्षेत्रबाट सहयोग नभईरहेको अवस्थामा सवैलाई सक्दो सहयोगका लागि अपिल समेत गरिन्। दृष्टि फाउण्डेसनमा मानसिक अवस्था ठीक नभएका महिला र वालवालिका गरी ३५ जना बस्दै आएका छन्।