धनगढीमा घुस सहित पक्राउ परेका वनका अध्यक्ष र कोषाध्यक्षको रिहाईको माग
एक लाख ६० हजार घुस सहित पक्राउ परेका धनगढीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षको रिहाईको माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २१ पुषमा घुस सहित पक्राउ गरेका उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई रिहाई गर्न सामुदायिक वनले माग गरेको हो।
वन उपभोक्ता समूहका उपाध्यक्ष अमर बहादुर सिंहले प्रेस विज्ञप्ती जारी गर्दै अवैध रुपमा माटो खनेर लैजाने व्यक्तिलाई जरिवाना गर्दा घुस लिएको भन्दै पक्राउ गरिएकाले रिहाई गर्न माग गरेका छन्। विज्ञप्तीमा उपभोक्ता समितिको आम भेलाले एक लाख ६० हजार जरिवाना तिराएको रकमलाई गाडी धनी दयाराम चौधरीले घुस लिएको भनी सत्यतथ्य बताउँदा पनि पक्राउ गरिएको उल्लेख गरिएको छ।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने आवश्यक प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ। अख्तियार महेन्द्रनगरका प्रवक्ता टोपबहादुर विष्टले वनका अध्यक्ष र कोषाध्यक्षले बार्गेनिङ गरी घुस मागेको प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए।
विष्टले सामुदायिक वन उपभोक्ता समितिलाई कारवाही गर्ने अधिकार समेत नभएकाले बाँकी कुरा अनुसन्धान पछि मात्रै खुल्ने बताए। घुस सहित पक्राउ परेका दुवैजनालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँ पठाईएको विष्टले बताए।
अख्तियारले अध्यक्ष थापाले उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र ट्याक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जेसिभी र ट्याक्टर छोड्नका लागि सेवाग्राहीबाट घुस लिएको भन्दै पक्राउ गरेको थियो।