सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाः सुदूरपश्चिमबाट नेकपा र काङ्ग्रेसको मात्रै उम्मेद्वारी दर्ता

२०७६ पुष २०, ०५:३२

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा र काङ्ग्रेसका उम्मेदवारले मात्रै उम्मेद्वारी दर्ता गराएका छन्। आज गरिएको उम्मेद्वारी दर्तामा नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र  कैलालीकी शारदा भट्ट तथा काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले बताए। जिल्लामा रहेका अन्य दलले भने उम्मेदवारी दर्ता गराएनन्। 

राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये सुदूरपश्चिम प्रदेशमा दुई सदस्यका लागि  निर्वाचन हुन लागेको हो। सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी कुल २२९  मतदाता रहेको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक  महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाएको छ। निर्वाचन जिल्लाको पद्मपब्लिक मुक्तिनारायण माविमा हुने भएको छ।

दुई  मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिका अनुसार आज पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले डोटीले जनाएको छ। –रासस
 

कमेन्ट लोड गर्नुस