सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा मौका छोप्दै भारत

तस्बिर सौजन्य कान्तिपुर दैनिक
तस्बिर सौजन्य कान्तिपुर दैनिक
२०७६ पुष १४, ०७:२३

चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ। पश्चिम नेपालको कालापानी,लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो।

व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ। ०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो।

चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन्। जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीय जीवनसिंह बुढाथोकीले बताए।

दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो। अहिले पनि स्थानीय तल झरेको र हिमपात भएको मौका छोपेर उनीहरूले काठेपुल बनाएका हुन्। अहिले त्यहाँ नेपालको सुरक्षा उपस्थिति पनि छैन।

व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको एक महिना पनि पुगेको छैन। प्रहरी मंसिर तेस्रो साता दुम्लिङसम्म गएको थियो। त्यसपछि माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए।

चार÷पाँच दिनअघि व्यास क्षेत्र जाने बाटो निर्माणको सर्भे गर्न गएको टोलीका प्रतिनिधिहरू भारतीय पक्षले निर्माण गरेको पुल भएरै नेपाल–भारत आवतजावत गरेका हुन्। टोलीमा रहेका एक प्रतिनिधिले भने, ‘पेल्सितीभन्दा करिब ५ सय मिटर तल नेपाल–भारततर्फ आवतजावत गर्न भारतीय पक्षबाट काठेपुल निर्माण गरिएको छ।

नदीको वारिपारि ठूल्ठूला ढुंगाहरूले पानी नै देखिँदैन । भारतीय सडककै कारण महाकालीको सतह खुम्चिँदै गएको छ, नेपालतर्फ कटान भएको छ।’ धेरै ठाउँमा नदीले कटान गरेपछि व्यास जोड्ने घोडेटो बाटो भत्किएको उनले बताए। त्यस ठाउँमा पुल बनाइएको बारे नेपाली पक्षलाई कुनै जानकारी छैन।

भारतले सन् २०२० भित्र लिपुपास ९लिपुलेकबाट तिब्बत० सम्म पुर्‍याउन आफ्नो सीमातर्फ ठाउँठाउँमा सडक निर्माण गरिरहेको छ। भीर भएको क्षेत्रमा दुवैतिर कटान गरेर सडक निर्माण तीव्र गतिमा बढाइरहेको व्यासका स्थानीय बताउँछन्।

ठूला चट्टान कटान गर्दा ढुंगा खसेर महाकाली नदी प्रभावित भएको छ। नेपालतर्फको भागमा नदीको कटान बढेको छ। यसअघि पनि नेपालको अनुमतिबेगर अन्तर्राष्ट्रिय सीमा नदीमा पुल निर्माण गर्न एक्स्काभेटरले बाटो खनेपछि विवाद भएको थियो।

भारतले नदीमा पुल राख्नका लागि कैलाश मानसरोवर जाने यात्रु, दुवै देशका स्थानीयको आवतजावतलाई आधार बनाएर औपचारिक प्रक्रियाबाट पुल निर्माण गरेको थियो । तर पुलहरूले उसको सडक निर्माण परियोजनालाई बढी फाइदा पुगेको थियो।

यो पल्ट भने नेपाललाई थाहै नदिई सुटुक्ककाठेपुल बनाएको हो। लिपुलेकसम्म पुग्ने दुई लेनको सडक निर्माण भारतले दशकअघि सुरु गरेको हो। त्यही सडक क्षेत्रमा भारततिर चट्टानी भाग भएकाले आवतजावत गर्न काठेपुल बनाएको कामदारहरूले बताएका छन्।

‘यस क्षेत्रमा भारततिर निकास छैन,’ एक कामदारले भने, ‘दुवैतिर सडक निर्माण भइरहेकाले वारपार गर्न नेपालको बाटो प्रयोग गर्ने उद्देश्यले पुल बनाइएको हो ।’ त्यहाँबाट नेपाल पसेर त्यसको करिब ६ सय मिटरमाथि भारत जानलाई अर्को पुल राख्ने योजनामा भारतीय रहेको ती कामदारले बताए।

यसअघिका वर्षमा भारतीय पक्षले महाकाली नदीमा काठेपुल बनाएर कामदारमार्फत निर्माण सामग्री ढुवानीलगायतकाम गर्दै आएको थियो। महाकालीमा काठेपुल बनाएको बारे कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

‘हाम्रो कुनै निकायबाट औपचारिक रूपमा काठेपुल राखेको जानकारी आएको छैन,’ उनले भने, ‘भारतले माथिल्लो क्षेत्रमा के गरिरहेको छ भन्नेबारे व्यास गाउँपालिकाका प्रतिनिधिसित फोनबाट बुझ्दा गाउँपालिकालाई पनि कुनै जानकारी नभएको पाएँ।’– यो समाचार दार्चुलाबाट मनोज बडूले कान्तिपुर दैनिकमा लेखेका छन्। 

कमेन्ट लोड गर्नुस